लाल बहादुरको चिन्ता: डा. सन्दुक रुइतसँग भेट कसरी हुन्छ ?

564
Shares

उदयपुर ।

 उदयपुरको चौदण्डीगढी नगरपालिका ३ का लाल बहादुर विश्वकर्मा यतिबेला छोराको उपचारकालागि विभिन्न अस्पतालमा धाइरहेका छन् । उनको मुख्य चिन्ता भनेको जन्मै आँखाको रोग लिएर आएको ८ वर्षको छोरो आभास विकको उपचारमा ध्यान गएको छ । आँखाका विशेषज्ञ डाक्टर सन्दुक रुइतलाई तिलगंगामा गएर पटक पटक नै भेट्ने प्रयास गरेको तर त्यहाँका कर्मचारीहरुले भेट गर्न नदिएको गुनासो गरे । 

लाल बहादुरले केही महिना अघि उदयपुरको चौदण्डीगढी नगरपालिकाले आयोजना गरेको १० दिने आँखा उपचार शिविरमा पनि डा. रुइत आउनु भएको जानकारी पाएर भेट्न गएको तर भेट हुन नसकेको हुँदा छोराको आँखाको उपचारकालागि पुनः काठमाडौँ  गएर तिलगंगामा भेट्ने इच्छा रहेको बताए ।

गत वर्ष र यस वर्ष भएको आँखा शिविरमा पनि छोराको आँखाको उपचारकोलागि लगेको तर चिकित्सकहरुले शिविरमा बच्चाको आँखाको उपचार नहुने जानकारी दिँदै काठमाडौँको  तिलगंगा आँखा अस्पतालमा लिएर आउन भनेको तर मुख्य डाक्टर सन्दुक रुइतलाई भेट्न नदिइएको उनले बताए ।

उनले सात महिनाको आमाका गर्भबाट जन्मिएको छोरोको आँखा जन्मैदेखि नदेख्ने भएको र उपचारकालागि बिराटनगर, पोखरा, काठमाण्डौको तिलगंगामा चारपटकसम्म लगेको र लाहान लगायतका ठाउँहरुमा लगेको तर चिकित्सकहरुले आँखाभित्रको नानीको नसा सुकेका कारण उपचारमा समस्या भएको जानकारी दिएको बताए ।

छोराको उमेर ५ महिनाको हुँदादेखि उपचारकालागि अहिलेसम्म पनि प्रयास गरिरहेको जानकारी दिँदै उनले घरको आर्थिक अवस्था अत्यन्त कमजोर रहेको बताए । लालपुर्जा विनाको जग्गा करिब १० कट्ठा छ । तर राम्रो उत्पादन नहुने भएकोले खान पनि पुग्दैन । दैनिक ज्याला मजदुरी गरेर जहान परिवार पाल्ने गरेको र छोराको उपचारमा पनि खर्च गर्ने गरेको उनले बताए ।

छोरोको आँखाको उपचारकालागि आफूले भ्याएसम्म गर्ने र झै तिलगंगाका मुख्य डाक्टर रुइत सरलाई भेटेर छोराको  आँखा देखाएर सल्लाह सुझाव लिने सोचमा आफू रहेको भए पनि पटक पटक प्रयास गर्दा समेत डा. रुइत सरसँग तिलगंगाका कर्मचारीहरुले अनेक बहाना बनाएर भेट गर्न नदिएको बताए ।

अहिले फेरी अर्को समस्याले पिरालेको छ उनलाई । आँखा नदेख्ने छोरो पिसाब नआउने समस्याले गर्दा पीडामा रहेको छ । उदयपुर जिल्ला अस्पतालमा राम्रो उपचार हुन्छ भन्ने जानकारी पाएर उपचारकालागि अस्पपताल ल्याएको तर जिल्ला अस्पतालबाट अझ राम्रो उपचार हुने ठाउँ बिराटनगर भएकोले त्यही लगेर उपचार गर्न चिकित्सकहरुले सुझाव दिएको हुँदा छोारको उपचारकालागि बिराटनगर जाने तयारीमा आफू रहेको उनले बताए ।

अहिले कक्षा ५ मा चौदण्डीगढी नपा ५ को सिवाईस्थित आधारभूत विद्यालयमा कान नसुन्ने, आँखा नदेख्ने लगायतका अन्य अशक्त अध्ययन गर्ने विद्यालयमा पढाउँदै गरेको जानकारी दिँदै लाल बहादुरले छोराको उपचारकालागि आवश्यक खर्च जुटाउन समस्या भएकोले वैदेशिक रोजगारीमा जाने तयारीमा रहेको बताए।

उनले आफूलाई डा.सन्दुक रुइतसँग भेटेर छोराको आँखाको उपचार सफल हुन्छ वा हुँदैन डाक्टरसँग बुझ्ने । यदि हुन्छ भने कहाँ कसरी हुन्छ डाक्टरले भने अनुसार गर्न आफू तयार रहेको बताउँदै अब विदेश जानुभन्दा अगाडि एक पटक छोरालाई तिलगंगामा लगेर डा. रुइतलाई देखाउने बताए ।