काठमाडौँ ।
निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा निर्वाचन आयोगले दुई जना उम्मेदवार र एक राजनीतिक दललाई जनही २५ हजार रुपैयाँ जरिबाना गर्ने निर्णय गरेको छ भने दुई उम्मेदवारलाई सचेत गराएको छ।
आयोगका कानुन अधिकृत मोहन जोशीका अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जाजरकोट–१ का उम्मेदवार शक्ति बस्नेतलाई २५ हजार रुपैयाँ जरिबाना गरिएको हो। पूर्वमन्त्रीसमेत रहेका बस्नेतमाथि निर्वाचन क्षेत्रमा मतदाता प्रभावित पार्ने उद्देश्यले नगद वितरण गरेको आरोप लागेको थियो। आयोगले सो विषयमा स्पष्टीकरण मागेपछि प्राप्त जवाफ र प्रमाणका आधारमा जरिबाना गर्ने निर्णय गरेको जनाएको छ।
यस्तै, रुपन्देही–२ का उम्मेदवार डा. कमल भुसाललाई पनि २५ हजार रुपैयाँ जरिबाना तोकिएको छ। उनी नेपाल जनसेवा पार्टीका तर्फबाट चुनावी मैदानमा छन्। निर्वाचन आचारसंहिताविपरीत गतिविधि गरेको ठहर गर्दै आयोगले आर्थिक दण्डको निर्णय गरेको हो।
यसैगरी, श्रम संस्कृति पार्टी लाई पनि २५ हजार रुपैयाँ जरिबाना गरिएको छ। उक्त पार्टीका संयोजक हर्क साम्पाङ हुन्। पार्टीले आचारसंहिताविपरीत प्रचार सामग्री प्रयोग गरेको उजुरीका आधारमा कारबाही गरिएको आयोगले जनाएको छ।
त्यस्तै, भक्तपुर–२ का उम्मेदवार जानुका पाठक (नेपाल जनसेवा पार्टी) र बाँके–३ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खगेन्द्र सुनुवारलाई भने आयोगले लिखित रूपमा सचेत गराउने निर्णय गरेको छ।
निर्वाचनको मिति नजिकिँदै जाँदा आयोगले आचारसंहिता कार्यान्वयनमा कडाइ गर्दै अनुगमनलाई तीव्र बनाएको जनाएको छ। आयोगले सबै दल र उम्मेदवारलाई स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचन सुनिश्चित गर्न आचारसंहिताको पूर्ण पालना गर्न पुनः आग्रह गरेको छ।











प्रतिक्रिया