बीबीसीको रिपोर्ट हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र


काठमाडौँ।

निर्वाचन आयोगले बीबीसीले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई लिएर बनाएको डकुमेन्ट्री रिपोर्ट हटाउन प्रेस काउन्सिल नेपाललाई पत्राचार गरेको छ।

आयोगले बिहीबार काउन्सिललाई पत्र लेखेर बीबीसीको उक्त डकुमेन्ट्री रिपोर्ट हटाउन काउन्सिललाई पत्र लेखेको हो ।

आयोग कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीले बीबीसीको उक्त भिडियो सामग्री रोक्न आग्रहसहितको पत्र काउन्सिललाई लेखिएको जानकारी दिए ।

‘हो, यसबारेमा प्रेस काउन्सिललाई पत्र गएको छ’, उनले भने, ‘उक्त सामग्री हटाउने गरी कारबाही अघि बढाउन भनेका छौँ।’

बीबीसी वर्ल्ड सर्भिस र नेपाली सेवाले अंग्रेजी र नेपाली भाषामा तयार पारेको दुई भिडियो रिपोर्ट बिहीबार सार्वजनिक भएपछि तरंग पैदा भएको थियो । उक्त रिपोर्टमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा विद्यार्थीमाथि तत्कालीन प्रहरी महानिरीक्षक (आइजीपी) चन्द्रकुवेर खापुङले गोली चलाउन आदेश दिएको उल्लेख छ ।

४१ मिनेट लामो भिडियो रिपोर्टमा गोली चलाउन आदेश दिने पिटर १ कलसाइन तत्कालीन आइजीपी खापुङ भएको उल्लेख छ । तर, बीबीसीको रिपोर्टको विषयमा नेपाल प्रहरीले भने असहमति जनाउँदै प्रहरी कलसाइन संवाद आधिकारिक नभएको जनाएको छ । तैपनि प्रहरीले आधिकारीक रुपमा आफ्नो धारणा बाहिर सार्वजनिक गरेको छैन ।