भौतिक विकासमा नयाँ प्रयोग: भत्केको पक्की पुलमाथि झोलुङ्गे पुल 

846
Shares

उदयपुर। 

उदयपुरको चौदण्डीगढी नगरपालिका–५ शिवाई र बेल्हा जोड्ने त्रियुगा नदीमाथि बनेको मोटरेवल पक्की पुलको भाँचिएको भागमाथि झोलुङ्गे पुल निर्माण गरिएको छ । स्थानीय बासिन्दाले लामो समयदेखिको सास्तीबाट आंशिक रुपमा भए पनि राहत पाएका छन् । ‘पक्की पुलमाथि झोलुङ्गे पुल’ को रूपमा देखिएको यो संरचना अनौठो भए पनि स्थानीयका लागि अत्यन्तै उपयोगी साबित भएको छ ।

झन्डै डेढ दशकअघि २०६७ सालमा महालक्ष्मी–लोकप्रिय जेभी, कलङ्कीले ९ करोड ७६ लाख रुपैयाँको लागतमा तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित उक्त पुल निर्माण सुरु गरेको थियो । तर पुल निर्माणको लागत निर्माण कार्य समयमै सम्पन्न हुन नसक्दा लागत बढ्दै ११ करोड २७ लाख रुपैयाँ पुगेको थियो । लामो प्रतीक्षापछि २०७८ सालमा पुल निर्माण सम्पन्न भए पनि सोही वर्ष असारमा आएको बाढीले पुलको दक्षिणी भागमा ठूलो क्षति पु¥यायो । बाढीले पुलका २ पिलर र ३ स्ल्याबमा असर पु¥याउँदा करिब ८० मिटर भाग पूर्ण रूपमा प्रयोग विहीन बन्न पुगेको थियो ।

oplus_8388608

यसरी निर्माण सम्पन्न भएको पुल सञ्चालनमा नआउँदै क्षतिग्रस्त बनेपछि स्थानीयवासीले वर्षौँसम्म सास्ती खेप्नु परेको थियो । पुल अलपत्र अवस्थामा रहँदा चौदण्डीगढी नगरपालिका–५, ९ र १० का झन्डै २० हजार स्थानीय प्रत्यक्ष रूपमा प्रभावित भएका थिए ।

स्थानीयका अनुसार पुल नहुँदा शिवाई, सुन्दरपुर र हडिया क्षेत्रका नागरिकलाई बेल्टार बजार तथा पालिका केन्द्रसम्म पुग्न निकै कठिन हुने गरेको थियो । विशेषगरी वर्षायाममा नदी पार गर्न जोखिम मोलेर डुंगाको प्रयोग गर्नुपर्ने बाध्यता थियो वा मधेश प्रदेशको सप्तरी फत्तेपुर हुँदै लामो घुमाउरो बाटो प्रयोग गर्नुपथ्र्यो।

लामो समयसम्म स्थायी समाधान नआएपछि कोशी प्रदेश सरकारले तत्कालका लागि वैकल्पिक उपाय अपनाएको छ । प्रदेश सरकारले ६० लाख रुपैयाँ विनियोजन गरी क्षतिग्रस्त करिब ८० मिटर भागमाथि झोलुङ्गे पुल निर्माण गरेको हो । उक्त झोलुङ्गे पुलबाट हाल मोटरसाइकल र पैदलयात्रीलाई सुरक्षित आवतजावत गर्न मिल्ने व्यवस्था गरिएको छ ।

२ सय ८० मिटर लम्बाइ र साढे ५ मिटर चौडाइ रहेको मूल मोटरेवल पुलमा १२ पिलर र ११ वटा स्ल्याब रहेका थिए । तिमध्ये क्षति पुगेको भागलाई लक्षित गर्दै झोलुङ्गे पुल निर्माण गरिएको हो ।

oplus_8388608

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मकुमार कार्कीले संघीय सरकारले निर्माण गरेको पुल भएकाले सोही संरचनामा प्रत्यक्ष बजेट विनियोजन गर्न कानुनी जटिलता रहेको बताउनु भयो । उहाँले स्थायी मर्मत वा पुनर्निर्माण नहुँदासम्म नागरिकलाई आवतजावतमा सहजता प्रदान गर्न अस्थायी समाधान स्वरूप झोलुङ्गे पुल निर्माण गरिएको जानकारी दिनु भयो । स्थानीय सरकार, प्रदेशका जनप्रतिनिधि र नागरिकको माग अनुसार उक्त कार्य अघि बढाइएको पनि उहाँले स्पष्ट पार्नु भयो ।

स्थानीय चौदण्डीगढी–६ का माधव खड्काका अनुसार पुल नहुँदा दैनिक जनजीवन प्रभावित हुने गरेको थियो । “नदी वारपार गर्न निकै जोखिम लिनुपर्थ्यो। अहिले झोलुङ्गे पुल बनेपछि कम्तीमा सहज रूपमा आवतजावत गर्न पाइएको छ,” उहाँले भन्नु भयो।

स्थानीयवासीहरूले ‘पुलमाथि पुल’ निर्माणलाई अनौठो भए पनि व्यावहारिक समाधानको रूपमा लिएका छन् । उनीहरूका अनुसार पूर्ण रूपमा मोटरेवल पुल सञ्चालनमा नआएसम्मका लागि यो व्यवस्था निकै उपयोगी बनेको छ ।

यद्यपि, दीर्घकालीन समाधानका लागि भने क्षतिग्रस्त मोटरेवल पुलको मर्मत तथा पुनर्निर्माण अपरिहार्य देखिएको छ । हालका लागि भने झोलुङ्गे पुलले जोखिमपूर्ण यात्रा घटाउँदै स्थानीयको दैनिकी सहज बनाउने काम गरेको छ ।