प्रदेशसभामा दुई पटक निर्वाचित वसन्त मानन्धर अब संघीय सांसद्को उम्मेदवार


काठमाडौं।

वाग्मती प्रदेशसभामा दुई पटक निर्वाचित वसन्त मानन्धर यसपटक प्रतिनिधि सभामा काठमाडौं क्षेत्र नं. ७ का लागि चुनावी मैदानमा उत्रिएका छन्। जनताको सेवामा सधैं समर्पित रहेर कार्य गर्दै आएका मानन्धर, प्रदेश सांसदका रूपमा जनतासँग गरेको प्रत्यक्ष संवाद र कामको आधारमा संघीय सांसदका लागि जनताको विश्वास जित्नमा ढुक्क छन्।

प्रदेश सांसद् रहँदा जनतामा भिजेर गरेको काम र क्षमताले संघीय सांसद्का लागि जनताले निर्वाचित गराउनेमा उम्मेदवार मानन्धर ढुक्क छन्। यसबीचमा उनी १४ महिना वाग्मती प्रदेश सरकार खानेपानी उर्जा, सञ्चार मन्त्री पनि भएका थिए । ‘ संस्कृति, सम्पदा, भौतिक निर्माण र जनता सामु गरेका काम नै मेरो परिचय हुन् । यही क्षमताले आगामी राजनीतिको भविष्य कोरिनेमा म विश्वस्त छु ।’ उनले भने ।

उनले सांसद् छँदा नै सहकारी पीडितको बचत फिर्ताको अभियानमा पनि लागेका थिए।खोला मापदण्ड आन्दोलनप्रति उनको बलियो ऐक्यबद्धता थियो।गुठी जग्गा, स्वबासी जग्गाको समस्या समाधानमा उनी लगातार प्रयत्नशील थिए ।अहिले मानन्धर घरदैलामा व्यस्त छन् । ‘त्यसका जनतामा राष्ट्रिय राजनीतिक र नेताप्रति तीब्र असन्तुष्टि रहेको पाएँ । यस्तो अवस्थामा पपुलिष्ट नभई कर्मशील रोजौं भनेर मतदाता सामु आहवान गर्दै आएको छु।’ उम्मेदवार मानन्धरले भने। अहिलेको आवश्यकता भनेको जनताको भावना बुझेर सन्तुलित रुपमा नेतृत्व गर्ने । त्यो आवश्यकता आफूले पुरा गरेर नै छाड्ने उनको प्रतिबद्धता रहेको छ ।

राज्यसंग जवाफदेहिता माग्ने नवपुस्ताको विद्रोहप्रति समर्थन गर्दै आएका मानन्धरले आफ्नो क्षेत्रको विकाससंग सम्बन्धित २० बुँदे प्रतिबद्धता तयार गरेका छन् । त्यही प्रतिबद्धता बोक्दै उनी अहिले जनतासंग अन्तरक्रिया गर्दै छन् । निर्णय प्रक्रियामा नवयुवाको साथै सबै समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै उनीहरूसँगै अघि बढ्ने मानन्धरको संकल्प रहेको छ। प्रतिबद्धतापत्रमा सहकारीको सम्पत्ति जफतका साथै सरकारी तहमा पर्याप्त कोषको व्यवस्था गर्ने, ऐतिहासिक इचंगुनारायण मन्दिरलाई विश्व सम्पदामा सूचीकृत गर्न पहल गर्ने र जामाचो – नागर्जुन पदमार्गको विस्तार गर्दे पर्यटन हबका रूपमा लाग्ने उनको प्रतिबद्धतामा समेटिएको छ ।

ऐतिहासिक परम्परागत वस्ती, बहाः – बही – ननि, मठ–मन्दिर, स्थानीय जात्रा – पर्व, कला कृति, पुराना पेशा र हस्तकलाको प्रवद्र्धन गर्दै उद्यमसँग जोड्न विशेष बजेट व्यवस्थाका लागि समन्वय गर्ने मानन्धरको प्रतिबद्धतापत्रमा भनिएको छ ।

त्यसैगरी ट्राफिक जाम, अव्यवस्थित सवारी, सडक अतिक्रमण, सार्वजनिक यातायातको कमजोर अवस्था तथा पैदलयात्रीको असुरक्षा जस्ता समस्याहरू समाधान गर्न संसदमा आवाज उठाउने र संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय गरी समग्र ट्राफिक व्यवस्थापनको एकीकृत योजना निर्माणका लागि लाग्ने उनको संकल्प रहेको छ।

उनको प्रतिबद्धतामा गुठी जग्गाको समस्यालाई पनि प्राथमिकताका साथ उठाइएको छ । ‘विभिन्न गुठीअधीनस्थ जग्गाको भोगचलन गर्दै आएका नागरिकहरूले भोग्नुपरेका कानुनी तथा प्रशासनिक जटिलताहरूको समाधानका लागि समयसापेक्ष व्यवहारिक र न्यायोचित कानुन तर्जुमा गर्न सशक्त रूपमा लाग्नेछु । साथै, स्ववासी तथा लामो समयदेखि बसोबास गर्दै आएका नागरिकहरूको समस्या समाधान गर्न जग्गा दर्ता तथा स्वामित्व सुनिश्चित गर्ने प्रक्रिया सरल, पारदर्शी र नागरिकमैत्री बनाउन लाग्नेछु । सार्वजनिक जग्गा संरक्षण गर्दै खुला क्षेत्र तथा सामुदायिक प्रयोजनमा ल्याउन नेतृत्वकारी भूमिका निर्वाह गर्नेछु ।’ प्रतिबद्धतापत्रमा भनिएको छ।