रौतहट ।
आम जनता पार्टीका तर्फबाट रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार ऋषि धमलाले आफ्नो निर्वाचन क्षेत्रका लागि विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ । रौतहट ४ धमलाका वार हरघर मिले रोजगार भन्ने नारा सहित उनले आफ्नो सार्वजनिक प्रतिबद्धता सार्वजनिक गरेका हुन्।
तीन दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय धमलाले “रौतहट ४ को उन्नति र प्रगति नै मेरो सपना” भन्ने नारासहित शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पर्यटन र खेलकुदलाई प्राथमिकतामा राख्दै विभिन्न योजनाहरू अघि सारेका हुन्। धमलाले गरिबीका कारण कुनै पनि विद्यार्थीले विद्यालय छोड्नुपर्ने अवस्था अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन्।
उनले मुस्लिम विश्वविद्यालय स्थापनाको पहल गर्ने तथा जेहेन्दार र विपन्न विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने योजना सार्वजनिक गरे। उनले महिला स्वरोजगार कार्यक्रम र सीपमूलक तालिम सञ्चालन गर्ने बताए। साथै, जिल्लाका चिनी उद्योगहरूसँग समन्वय गरी उखु किसानलाई उचित मूल्य सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे।
रौतहटमै स्तरीय अस्पताल स्थापना गर्ने तथा ‘एक घर, एक धारा’ कार्यक्रममार्फत प्रत्येक घरमा स्वच्छ खानेपानी पुर्याउने उनको योजना छ। सुनकोशी–मरिन डाइभर्सन तथा बागमती सिँचाइ आयोजनालाई पूर्णता दिने र किसानलाई सहुलियत दरमा ऋण उपलब्ध गराउने कार्यक्रम अघि सारिएको छ।
धार्मिक तथा ऐतिहासिक स्थलहरूको संरक्षण र विकास गर्दै आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने तथा महिला फुटबलका लागि परिचित रौतहटमा आधुनिक खेलकुद पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
उम्मेदवार धमलाले आफ्नो प्रतिबद्धता पत्रमार्फत समग्र विकासको खाका प्रस्तुत गर्दै मतदातासँग समर्थनको अपिल गरेका छन्।











प्रतिक्रिया