हेभिवेट जिल्लामा ‘विशेष कमाण्ड’ : प्रतिनिधिसभा निर्वाचन सुरक्षामा एसएसपी परिचालन


काठमाडौं ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै प्रहरी प्रधान कार्यालयले अतिसंवेदनशील र ‘हेभिवेट’ प्रतिस्पर्धा हुने जिल्लाहरूमा उच्च तहका अधिकृत परिचालन गरेको छ। निर्वाचन सुरक्षालाई प्रभावकारी र विश्वसनीय बनाउन ती जिल्लामा ‘विशेष कमाण्ड’ संरचना बनाएर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को नेतृत्वमा सुरक्षा व्यवस्था मिलाइएको हो।

प्रहरी स्रोतका अनुसार राजनीतिक रूपमा प्रतिस्पर्धा तीव्र हुने, विगतमा सुरक्षा चुनौती देखिएका तथा रणनीतिक दृष्टिले संवेदनशील मानिएका जिल्लाहरूमा अनुभवी अधिकृत खटाइएको छ।

झापा र इलाम जिल्लाको संयुक्त सुरक्षा कमाण्डका लागि एसएसपी गोविन्द अधिकारीलाई जिम्मेवारी दिइएको छ। त्यस्तै सर्लाही र रौतहट क्षेत्रमा एसएसपी सुरेश काफ्ले परिचालित भएका छन्।

दोलखा जिल्लाको सुरक्षा कमाण्ड एसएसपी नान्तिराज गुरुङले सम्हाल्नेछन् भने काभ्रे र सिन्धुपाल्चोकमा एसएसपी विनोद सिलवाल खटिएका छन्। त्यसैगरी रुपन्देही र कपिलवस्तुमा एसएसपी ऋषिराम कँडेल, कास्की र स्याङ्जामा एसएसपी जनार्दन जिसी तथा डोटी र अछाम क्षेत्रमा एसएसपी राजेन्द्र प्रसाद धमलालाई जिम्मेवारी दिइएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार मतदान पूर्व, मतदानको दिन र मतगणनासम्म सुरक्षा संयन्त्र सक्रिय रहनेछ। सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण, संवेदनशील केन्द्रमा अतिरिक्त जनशक्ति परिचालन, मोबाइल गस्ती तथा आकस्मिक प्रतिकार्य टोली तयारी अवस्थामा राखिएको जनाइएको छ।

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने लक्ष्यसहित सुरक्षाकर्मीहरू तीन तहमा परिचालित गरिएको प्रहरीको भनाइ छ। निर्वाचन नजिकिँदै जाँदा सुरक्षा निगरानी थप कडाइ गरिने पनि जनाइएको छ।