काठमाडौं ।
निर्वाचन आयोगले देशभरका सबै निर्वाचन क्षेत्रमा मतपत्रसहित अन्य निर्वाचन सामग्री ढुवानी सकेको छ भने आज बिहीबारबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)को प्रश्नपत्र छपाइ सुरु भएको छ ।
हिजो बिहान काठमाडौं र भक्तपुरको मतपत्र पु¥याएसँगै सबै जिल्लाको मतदान केन्द्रमा मतपत्र ढुवानी सकिएपछि प्रश्नपत्र छपाइ सुरु भएको हो । प्रश्नपत्र छपाइ गर्न एसईईका परीक्षा नियन्त्रक टुकराज अधिकारीसहित ४ जनाको टोली जनक शिक्षा सामग्रीको सुरक्षण मुद्रणालयमा प्रवेश गरेका छन् ।
उक्त टोली प्रश्नपत्र छपाइ र ढुवानी नसकिन्जेल करिब १ महिना केन्द्रको आवासमा बस्नेछन् । केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले हिजो बुधबारबाट परीक्षा नियन्त्रकसहित तीनवटै सुरक्षा निकाय केन्द्र प्रवेश गरेको जानकारी दिनुभयो । मतपत्र छपाइ सकिएको छ । त्यही सुरक्षा टोली प्रश्नपत्र छाप्न खटिनेछन् । केन्द्रका अनुसार २६ कर्मचारी, २७ जना नेपाली सेना, २३ सशस्त्र र १५ जना नेपाल प्रहरीसहित ८१ सुरक्षाकर्मी परिचालन भएका छन् ।
‘यो वर्ष ५ लाख २० हजार हजार विद्यार्थीका लागि प्रश्नपत्र छाप्नेछौं’ –प्रबन्ध सञ्चालक पौडेलले भन्नुभयो । २६ दिनमा प्रश्नपत्र छपाइ गरी त्यहीँबाट ढुवानी गर्ने व्यवस्था मिलाएको छ । परीक्षा नियन्त्रक अधिकारीले मंगलवार नेपाल समाचारपत्रसँग कुरा गर्दै भन्नुभयो– ‘१३ गतेबाट जनक शिक्षा प्रवेश गर्नेछ ।
छपाइ र ढुवानी सम्पन्न नभएसम्म करिब १ महिना केन्द्रमै रहनेछौं ।’८१ जना सुरक्षाकर्मीका टोलीले तीन तहको सुरक्षा घेराभित्र प्रश्नपत्र छपाइ हुनेछ । त्यसमा नेपाली सेना, नेपाल प्रहरीको र सशस्त्र प्रहरी बलको टोली परिचालन हुनेछ । भित्री घेरामा नेपाली सेना, त्यसपछि सशस्त्र र सबैभन्दा बाहिरी घेरामा नेपाल प्रहरीको टोली परिचालित छन् । मतपत्र छपाइ गर्न परिचालन भएको सुरक्षा टोली नै प्रश्नपत्र छाप्ने र सुरक्षा गर्न परिचालित भएका छन् । प्रश्नपत्र छाप्न केन्द्रको सुरक्षण मुद्रणालयमा प्रवेश गरेको टोली प्रश्नपत्र छपाइ र ढुवानी नभएसम्म केन्द्रमै बस्ने व्यवस्था मिलाएको छ ।
पनिकाले सातवटै प्रदेशमा फरकफरक सेटमा प्रश्नपत्र छपाइ हुने जनाएको छ । बोर्डले फागुन मसान्तभित्र प्रश्नपत्र ढुवानी सुरु गर्नेछ । बोर्डले विद्यार्थी संख्याभन्दा करिब १० प्रतिशत बढी प्रश्नपत्र छाप्ने योजना छ । हरेक विषयका फरकफरक सेट प्रश्नपत्र हुनेछन् । साधारण र प्राविधिक धारतर्फ गरी दुई प्रकारको परीक्षा हुनेछ । परीक्षामा साधारणतर्फ ६ र प्राविधिक धारतर्फ ६ अनिवार्यसहित १२८ विषय छन् । सबै विषयका प्रश्नपत्र छपाइ गर्नुपर्नेछ ।
बोर्डले सबै विषयमा दुई सेट प्रश्नपत्र छाप्ने तयारी गरेको छ । प्रश्नपत्र छपाइसँगै केन्द्रबाटै ढुवानी गर्ने व्यवस्था मिलाइएको छ । ‘सुरुमा कर्णाली र सुदूरपश्चिम प्रदेशमा ढुवानी गर्नेछौं । अन्तिममा सुगम जिल्लामा पु¥याउनेछौं’ –प्रबन्ध सञ्चालक पौडेलले भन्नुभयो । यस वर्षको परीक्षा चैत १९ गतेबाट सुरु हुनेछ ।
परीक्षा सुरु हुनु करिब २४ दिनअघि प्रश्नपत्र छपाइ सुरु भएको हो ।यसैबीच हिजो बुधबार काठमाडौं र भक्तपुरका मतदान केन्द्रमा मतपत्रलगायत सामग्री ढुवानी गरेसँगै सबै केन्द्रमा मतपत्र ढुवानी सकिएको केन्द्रले जनाएको छ । केन्द्रले ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका लागि २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ गरेको थियो भने समानुपातिकतर्फ २ करोड ८ लाख ३० हजार मतपत्र छापेको थियो ।
पुस २२ गतेबाट मतदाता शिक्षाका लागि नमुना मतपत्र छापेको थियो । आयोगले हालसम्म मतदाता शिक्षा कार्यक्रम सुरु गरिरहेको छ भने केन्द्रमा खटिने कर्मचारीलाई तालिम जारी राखेको छ ।











प्रतिक्रिया