गाउँघरमा हराउँदै छन् हलगोरु

188
Shares

दोलखा । सहजता र समय बचतको नाममा खेतबारी जोत्न ट्याक्टरको प्रयोग बढेपछि गोरुको प्रयोग गरी खेतबारी जोत्ने परम्परागत प्रविधि हलगोरुको लोप हुँदै गएको छ । हलो लोप हुँदै जानु अग्र्यानिक र स्वादिष्ट कृषि उत्पादनको लागि चुनौती बनेको कृषकहरु बताउँछन् ।

दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ६, चाइथलीका कृषक ताराबहादुर कार्की खेतबारी जोत्ने कुरामा ट्याक्टरको प्रयोगले क्षणिक फाइदा देखिए पनि दीर्घकालीन रुपमा आर्थिक तथा अग्र्यानिक कृषि उत्पादनमा समस्या ल्याउने बताउँछन् । आफूले विगत ३० वर्षदेखि नियमित रुपमा खेतबारी जोत्न हलोकै प्रयोग गरेको बताउने कार्की ट्याक्टरको प्रयोग उत्पादन, उत्पादित वस्तुको गुणस्तर र आर्थिक सबै हिसाबले ठीक नभएको जिकिर गर्छन् ।

‘ट्याक्टरको प्रयोग गर्नु जोखिम पनि छ’, चाइथलीका कृषक कार्की भन्छन्– ‘यसको प्रयोगमा सावधानी अपनाउन सकिएन भने ठुलै दुर्घटना हुन सक्छ ।’ ट्याक्टरले हलोको प्रयोगमा जस्तो गहिरो बनाएर जोत्न नसकिने भएकोले कृषि उत्पादनमा पनि ह्रास आउने र अन्न बालीको स्वाद पनि मीठो नहुने समस्या देखिएको कार्कीको भनाइ छ ।

कृषकहरु क्षणिक फाइदाको लागि ट्याक्टरतिर आकर्षित हुँदा गाउँघरमा परम्परागत प्रविधि हलो लोप हुँदै गएको कार्की बताउँछन् । केही वर्षअघिसम्म कालिञ्चोक गाउँपालिका वडा नम्बर ६ को चाइथली, दोर्पा, थाङ्बारु, गुजर्पालगायतका गाउँका प्रत्येक घरमा एकहल गोरु हुने गरेकोमा अहिले मुस्किलले सबै गाउँमा गरेर ६ हल गोरु मात्र रहेको कार्कीले बताए ।

अहिलेको मूल्यअनुसार एकहल गोरुको ७० हजार रुपियाँसम्म पर्ने र एकहल गोरुले तीन पुस्तासम्म जोत्न सकिने कार्कीको अनुभव छ । ट्याक्टरको मूल्य ४०–४५ हजार पर्ने र स्थानीय पालिकाले अनुदान दिँदा २० हजार जतिमा ट्याक्टर आउने भएकाले क्षणिक फाइदा देखिएको उनको भनाइ छ । तर ट्याक्टर चाँडै बिग्रने भएकोले आर्थिक रुपमा समेत हलो नै उपयुक्त हुने कार्की बताउँछन् ।