नेपाली फुटबलकी ‘गोल मेसिन’ सावित्रा भण्डारी (साम्बा) ले घुँडाको गम्भीर चोटको उपचारका लागि आम समर्थक र शुभचिन्तकसँग आर्थिक अपिल गर्नुपर्ने अवस्था सिर्जना हुनुले नेपाली खेलकुद क्षेत्रको कुरुप ऐना देखाएको छ । देशको नाम विश्वस्तरमा चम्काउने खेलाडीले जब उपचार खर्च नपाएर सामाजिक सञ्जालमार्फत ‘याचना’ गर्नुपर्छ, तब राज्यको ओहोदामा बसेकाहरूको नैतिकता र जिम्मेवारीमाथि गम्भीर प्रश्न उठ्छ । साम्बाले पर्याप्त सहयोग जुटेको भन्दै अब सहयोग रोक्न अपिल गरेकी छिन् र सबैप्रति कृतज्ञता पनि व्यक्त गरेकी छिन् । तर यो घटनाले खेलाडीको आत्मसम्मानमा पुगेको चोट र राज्यको गैरजिम्मेवारीपनको घाउ भने झनै बल्झिएको छ ।
नेपालमा खेलाडीलाई ‘देशको गहना’ भन्ने गरिन्छ तर ती गहनालाई सुरक्षा दिने र टिकाउने बेलामा राज्य सधैँ उदासीन देखिन्छ । साम्बाको हकमा पनि अखिल नेपाल फुटबल संघ (एन्फा) र सरकारी निकायको मौनताले खेलाडीहरूमा ठूलो निराशा पैदा गरेको छ । एकातिर सरकारका उच्च पदस्थ व्यक्ति र राजनीतिक नेताहरू सामान्य स्वास्थ्य समस्या पर्दा पनि राज्यको ढुकुटीबाट करोडौँ खर्चिएर एयर एम्बुलेन्समार्फत विदेशका महँगा अस्पतालमा उपचार गर्न पुग्छन् । अर्कोतिर देशको इज्जतका लागि मैदानमा रगत–पसिना बगाउने खेलाडी भने अस्पतालको शय्याबाट उपचार खर्च नपाएर तड्पिनुपर्ने ? यो कस्तो न्याय हो ? के राज्यको ढुकुटी केवल शक्तिमा हुनेहरूको विलासी उपचारका लागि मात्रै हो ?
खेलाडीको खेलजीवन अनिश्चित हुन्छ । एउटै चोटले उनीहरूको वर्षौंको मिहिनेत र करियर समाप्त पार्न सक्छ । यस्तो अवस्थामा अभिभावक बन्नुपर्ने खेलकुद मन्त्रालय र खेल संघहरू ‘बजेट अभाव’ को बहाना बनाएर पन्छिनु खेदजनक छ । साम्बाको व्यक्तिगत साहस र समर्थकहरूको निःस्वार्थ मायाले उनलाई शारीरिक र मानसिक रूपमा पुनः मैदान फर्कने आशा त दिलाएको छ तर सबै खेलाडी साम्बा जत्तिकै चर्चित नहुन सक्छन् । ती गुमनाम खेलाडीहरू जसले देशका लागि खेल्दाखेल्दै चोट बोकेका छन्, तिनीहरूको अवस्था झनै कति भयावह होला ?
यो साम्बाको मात्र समस्या होइन, यो समग्र नेपाली खेलकुद प्रणालीको असफलता हो । राज्यले खेलाडीहरूको स्वास्थ्य बिमा र चोटपटकको समयमा तत्काल उपचार गर्ने एउटा ठोस र स्थायी कोषको व्यवस्था गर्न ढिला भइसकेको छ । नेताका लागि जस्तै खेलाडीका लागि पनि राज्यको ढुकुटीको ढोका खुल्नुपर्छ । विदेशी मैदानमा राष्ट्रिय गान गुन्जाउँदा गर्वले छाती फुलाउने नेताहरूले तिनै खेलाडी घाइते हुँदा टाउको लुकाउन मिल्दैन ।
अबको दिनमा कुनै पनि खेलाडीले आफ्नो उपचारका लागि जनतासँग सहयोगको अपिल गर्न नपरोस् । सरकारले यो घटनालाई गम्भीर पाठका रूपमा लिँदै खेलाडीहरूको स्वास्थ्य र भविष्यको ग्यारेन्टी गरोस् । राज्यले खेलाडीलाई उपभोग्य वस्तुका रूपमा मात्र होइन, राष्ट्रको धरोहरका रूपमा सम्मान र संरक्षण गर्न सिक्नुपर्छ । यदि सरकार समयमै गम्भीर नहुने हो भने, भविष्यमा आफ्ना सन्तानलाई खेलाडी बनाउन कुनै पनि अभिभावक तयार हुने छैनन् र खेलकुद केवल राजनीतिक भाषणमा मात्र सीमित हुनेछ ।











प्रतिक्रिया