डिजिटल साक्षरता र चुनाव

282
Shares

मोबाइल, कम्प्युटर, इन्टरनेट, सफ्टवेयर तथा डिजिटल प्लेटफर्मको प्रयोग गरी सूचना खोज्ने, मूल्याङ्कन गर्ने, सिर्जना गर्ने, सञ्चार गर्ने र सुरक्षित रूपमा प्रयोग गर्न सक्ने ज्ञान, सीप र व्यवहारको समष्टिगत रुप नै डिजिटल साक्षरता हो । कम्प्युटर चलाउन जान्नु मात्र डिजिटल साक्षरता नभई यसभित्र सूचना प्रविधिको सही समझदारी, डिजिटल नैतिकता, साइबर सुरक्षा, गोपनीयताको संरक्षण, गलत सूचना र दुष्प्रचारको पहिचान तथा डिजिटल माध्यममा जिम्मेवार आचरण गर्ने क्षमताजस्ता विविध पक्ष समावेश हुन्छन् ।

आजको बदलिँदो एक्काइसौँ शताब्दी सूचना तथा प्रविधिको नवीन र सुनौलो युग हो । आजको संसार डिजिटल प्रविधिको तीव्र विकाससँगै अभूतपूर्व रूपमा रूपान्तरित हुँदै गइरहेको छ । मोबाइल फोन, कम्प्युटर, इन्टरनेट, कृत्रिम बौद्धिकता, क्लाउड प्रविधि र सामाजिक सञ्जालले मानवजीवनका हरेक आयामलाई प्रत्यक्ष रुपमा प्रभाव पारिरहेका छन् । शिक्षा, स्वास्थ्य, कृषि, व्यापार, बैंकिङ, सञ्चार, शासन व्यवस्था र मनोरञ्जनजस्ता क्षेत्रहरू डिजिटल प्रणालीमा रूपान्तरण हुँदै गइरहेका छन् ।

यस्तो परिवेशमा डिजिटल प्रविधिको केवल प्रयोगकर्ता मात्र होइन, सचेत, जिम्मेवार र सक्षम प्रयोगकर्ता बन्न सक्ने क्षमता अर्थात् डिजिटल साक्षरता आजको अनिवार्य आवश्यकता हो । नेपालजस्तो विकासोन्मुख देशका लागि डिजिटल साक्षरता केवल प्रविधि सिकाइको विषय मात्र नभई समावेशी विकास, सुशासन र दिगो समृद्धिको आधार पनि हो । नेपालमा पछिल्ला दिनहरुमा सूचना तथा सञ्चार प्रविधिको पहुँच उल्लेखनीय रूपमा विस्तार हुँदै गइरहेको छ ।

मोबाइल फोन प्रयोगकर्ताको संख्या तीव्र गतिमा बढेको छ भने इन्टरनेट सेवा शहरी क्षेत्रबाट ग्रामीण क्षेत्रमा विस्तार भैरहेको छ । सामाजिक सञ्जाल, अनलाइन समाचार, डिजिटल भुक्तानी प्रणाली, अनलाइन शिक्षा र सरकारी ई–सेवाहरूको प्रयोग दिन–प्रतिदिन बढ्दै गइरहेको छ ।

सरकारले डिजिटल नेपाल फ्रेमवर्कजस्ता नीति तथा कार्यक्रममार्फत डिजिटल पूर्वाधार विकास, ई–गभर्नेन्स, सूचना प्रविधिमा आधारित सेवा प्रवाह र डिजिटल अर्थतन्त्रमा विशेष जोड दिँदै गइरहेको छ । यसअघि कोभिड महामारीका बेला अनलाइन कक्षा, डिजिटल भुक्तानी र दूरसञ्चार सेवाको प्रयोगले डिजिटल प्रविधिको महत्व कति छ भन्ने स्पष्ट गराएको व्यहोरा सबैमा जगजाहेर नै छ । तर यति हुँदाहुँदै पनि नेपालमा डिजिटल साक्षरताको अवस्था सन्तोषजनक मान्न सकिने अवस्था भने छैन । शहरी र ग्रामीण क्षेत्रबीच डिजिटल पहुँच र सीपमा व्यापक अन्तर छ ।

दुर्गम क्षेत्रमा इन्टरनेट र विद्युत् सुविधा सीमित छ । ज्येष्ठ नागरिक, अशिक्षित समुदाय डिजिटल पहुँचबाट अझै धेरै टाढा छन् । नेपालको मोबाइल र इन्टरनेट प्रयोगकर्ताको संख्या र पहुँच बढे पनि डिजिटल साक्षरताको स्तर अपेक्षाकृत रुपमा कम छ । एक तथ्याङ्क अनुसार सन् २०२५ को अन्त्यसम्ममा नेपालमा करिब १ करोड ६६ लाख इन्टरनेट प्रयोगकर्ता छन्, जुन नेपालको जनसंख्याको करिब ५५ प्रतिशत हुन आउँछ ।

यसले इन्टरनेट पहुँचमा उल्लेखनीय वृद्धिलाई त देखाएको छ । तर डिजिटल साक्षरताको दर भने नेपालमा करिब ३१ प्रतिशत मात्र रहेको विश्लेषण गरिएको छ । त्यसै गरी, धेरै प्रयोगकर्तामा साइबर अपराध, अनलाइन ठगी, डेटा चोरी, गोपनीयता उल्लङ्घन र गलत सूचनाबारे पर्याप्त चेतना र जानकारीको पनि कमी छ । सामाजिक सञ्जालको दुरुपयोग, अफवाह र घृणात्मक अभिव्यक्तिले समाजमा नकारात्मक प्रभाव पारिरहेको कुरा आजको तीतो सत्य हो ।

अहिलेको बदलिँदो युगमा डिजिटल साक्षरताविना व्यक्तिगत र सामाजिक विकास असम्भवजस्तै बन्न थालेको छ । यसको आवश्यकता हरेक क्षेत्रमा स्पष्ट रूपमा देखिएको छ । शिक्षा क्षेत्रमा डिजिटल साक्षरताले विद्यार्थी र शिक्षकलाई अनलाइन स्रोत, डिजिटल सामग्री र ई–लर्निङ प्लेटफर्मको प्रभावकारी उपयोग गर्न सक्षम बनाउँछ ।

आधुनिक शिक्षामा डिजिटल सीप अनिवार्य भइसकेको छ । रोजगारी र उद्यमशीलतामा डिजिटल साक्षरताले नयाँ सीप विकास, फ्रीलान्सिङ, डिजिटल व्यवसाय र नवप्रवर्तनका अवसर सिर्जना गर्छ । सुशासनका लागि, डिजिटल साक्षरताले नागरिकलाई अनलाइन सरकारी सेवा, सूचना अधिकार र ई–गभर्नेन्सको लाभ लिन सक्षम बनाउँछ । जसले पारदर्शिता र जवाफदेहिता बढाउनमा मद्दत गर्दछ ।

आर्थिक समावेशीकरणका लागि, डिजिटल बैंकिङ, मोबाइल वालेट र अनलाइन कारोबारको सुरक्षित प्रयोग गर्न डिजिटल ज्ञान आवश्यक हुन्छ । सामाजिक र सांस्कृतिक क्षेत्रमा, डिजिटल साक्षरताले जिम्मेवार डिजिटल नागरिक उत्पादन गर्छ । यसले सामाजिक सद्भाव, सूचनाको सत्यता र डिजिटल नैतिकताको संरक्षण गर्दछ ।

डिजिटल साक्षरताले व्यक्ति, समाज र राष्ट्रलाई सशक्त बनाउने महत्वपूर्ण भूमिका खेल्छ । यसले ज्ञान र सूचनामा समान पहुँच सुनिश्चित गर्न, सीपयुक्त मानव संसाधन विकास गरी आर्थिक वृद्धिमा योगदान दिन, समय, श्रम र स्रोतको बचत गर्दै कार्यक्षमता बढाउन, साइबर जोखिमबाट जोगिन र सुरक्षित डिजिटल व्यवहार अपनाउन गहन भूमिका निर्वाह गर्दछ ।

यसै बीच नेपालमा यही फागुन २१ गते प्रतिनिधिसभाको चुनाव हुन गइरहेको छ । लोकतान्त्रिक अभ्यासको सबैभन्दा महत्वपूर्ण औजारका रूपमा चुनावलाई लिइन्छ । प्रतिनिनिधिसभाको चुनावले देशको राजनीतिक दिशा निर्धारण गर्ने भएकाले यसको निष्पक्षता, पारदर्शिता र विश्वसनीयता हुन अत्यन्त आवश्यक छ । तर चुनावको मिति नजिकिएसँगै सामाजिक सञ्जालको तीव्र विस्तारले चुनावी प्रक्रियामा यसको दुरुपयोग बढ्दै जाँदा गम्भीर चुनौती देखा पर्दै छन् ।

अहिले फेसबुक, टिकटक, एक्स (ट्विटर), युट्युबजस्ता सामाजिक सञ्जालहरू राजनीतिक प्रचार–प्रसारका मुख्य साधन बनेका छन् । यी माध्यमहरू सूचना छिटो फैलाउने प्रभावकारी प्लेटफर्म भए पनि गलत सूचना, भ्रामक प्रचार, अफवाह र घृणात्मक अभिव्यक्तिको माध्यम बन्ने जोखिम पनि उत्तीकै छ । चुनाव नजिकिँदै जाँदा कुनै दल वा उम्मेदवारलाई लक्षित गरी झुटा समाचार फैलाउने, फोटो–भिडियो सम्पादन गरी गलत सन्देश प्रवाह गर्ने तथा चरित्र हत्या गर्ने प्रवृत्ति पनि बढ्दो छ । सामाजिक सञ्जालको अर्को गम्भीर दुरुपयोग ‘फेक अकाउन्ट’ प्रयोगमार्फत जनमत प्रभावित पार्नुसमेत हो ।

सीमित व्यक्तिहरूले सञ्चालन गरेका सयौँ नक्कली खाताहरूबाट एउटै विचारलाई व्यापक समर्थनजस्तो देखाएर मतदातालाई भ्रममा पार्ने प्रयास भएको सर्वत्र आम गुनासो सुन्न पाइन्छ । यसले स्वतन्त्र रूपमा निर्णय गर्ने मतदाताको अधिकारलाई प्रत्यक्ष असर पार्न सक्ने डर छ ।

यसै गरी चुनावको मिति नजिकिएसँगै चुनावको प्रचार–प्रसारमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग तीव्र रूपमा बढिरहेको छ । एआईको माध्यमबाट राजनीतिक दल तथा उम्मेदवारहरूले मतदाताको रुचि बुझ्ने, लक्षित सन्देश प्रवाह गर्ने र प्रचार सामग्री छिटो तथा प्रभावकारी रूपमा तयार गर्ने काम गरिरहेका छन् । यसले प्रचारलाई आधुनिक, सस्तो र पहुँचयोग्य त बनाएको छ, तर एआईको प्रयोगसँगै यसको दुरुपयोगको जोखिम पनि गम्भीर बन्दै गएको छ ।

डीपफेक भिडियो, झुटा समाचार, भ्रामक अडियो र सामाजिक सञ्जालमा स्वचालित बोटमार्फत गलत सूचना फैलाउने कार्यले मतदातालाई भ्रमित पार्न सक्छन् । यसले लोकतान्त्रिक प्रक्रियालाई नकारात्मक असर पार्नुका साथै चुनावको विश्वसनीयतामै प्रश्न उठाउन सक्छ । त्यसैले निर्वाचनमा एआईको प्रयोगलाई पारदर्शी, जिम्मेवार र कानुनी दायराभित्र सीमित गर्नु आवश्यक छ । प्रविधिको फाइदा उठाउँदै दुरुपयोग रोक्न स्पष्ट नीति, जनचेतना र प्रभावकारी नियमन अपरिहार्यता त छ नै, हरेक नागरिकमा डिजिटल सारक्षता हुनु पनि उत्तिकै जरुरी छ ।

चुनावी राजनीति र लोकतान्त्रिक प्रक्रियामा जनताको सक्रिय र जानकारीमूलक सहभागितालाई मात्र पर्याप्त मान्न सकिँदैन । सही सूचनासहित त्यसलाई विश्लेषण गर्ने र निर्णय लिन सक्षम क्षमता हुनु पनि अति आवश्यक हुन्छ । यही क्षमताको आधार हो डिजिटल साक्षरता । लोकतान्त्रिक प्रक्रियामा सचेत र स्वतन्त्र निर्णय लिन तथा सामाजिक असमानता र विभाजनलाई कम गर्दै समावेशी विकासलाई अघि बढाउन डिजिटल साक्षरताको भूमिका महत्वपूर्ण हुन्छ ।

सचेत नागरिक, जिम्मेवार राजनीतिक नेतृत्व र प्रभावकारी नियमनबाट मात्र स्वस्थ लोकतन्त्रको निर्माण सम्भव हुने भएकोले स्वच्छ र पारदर्शी निर्वाचनका लागि डिजिटल सारक्षता आजको अनिवार्य आवश्यकता हो । यसमा सरोकारवाला सबै पक्ष गम्भीर बन्नुुपर्छ । डिजिटल साक्षरताले नागरिकलाई सचेत, आलोचनात्मक र जिम्मेवार बनाई निष्पक्ष र स्वच्छ चुनावलाई सुनिश्चित गर्न सहयोग पु¥याउँछ । यही भएर सरोकारवाला सबै पक्ष आपसमा हातेमालो गर्दै अघि बढ्नुपर्छ । डिजिटल साक्षरतामा लगानी अभिवृद्धि गरी नेपाललाई आधुनिक विश्वसँगै समृद्धिको यात्रामा अगाडि बढाउन सबैले सकारात्मक भूमिका निर्वाह गर्नुपर्छ । यो नै डिजिटल साक्षरताको प्रमुख ध्येय हो ।