मुस्ताङ ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–५ अन्तर्गत पर्ने साङ्ता मतदान केन्द्रमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गराउन मुस्ताङ–डोल्पा सडकको हिउँ पन्छ्याउन थालिएको छ। गत कात्तिक १० गतेदेखि हिमपातका कारण पूर्णरूपमा अवरुद्ध सडक मंगलबारदेखि सञ्चालन योग्य बनाउन सफाइ सुरु गरिएको वडाध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए।
समुन्द्री सतहबाट करिब ४,५०० मिटर उचाइमा रहेको साङ्ता गाउँ मुस्ताङ सदरमुकाम जोमसोमबाट करिब ४० किलोमिटर उत्तर–पश्चिममा पर्दछ। १३ घरधुरी र ३९ मतदाता रहेको यस गाउँका अधिकांश बासिन्दा जाडो छल्न जोमसोम आसपास, पोखरा र काठमाडौं झरेका छन्। हाल गाउँमा केही गोठाला बाहेक घरहरू बन्द अवस्थामा छन्।
फागुन २१ गते हुने निर्वाचनमा मतदान गर्न गाउँ फर्कनुपर्ने भएकाले सडक खुलाउन प्राथमिकता दिइएको हो। यसअघि जिल्ला सुरक्षा समितिको टोलीले सडक अवरुद्ध भएकै कारण साङ्ता पुग्न नसकी आधा बाटोबाटै फर्किएको थियो।











प्रतिक्रिया