जेसिकाले त्यागिन् मिसग्रयान्ड नेपालको ताज


मिस ग्राण्ड नेपाल तथा मिस विभा २०२५ जेसिका सिंह ठकुरीले आयोजकबाट निरन्तर मानसिक यातना र दुव्र्यवहार खेप्नुपरेको आरोप लगाउँदै आफ्नो ताज त्यागेको जनाएकी छन्।

उनले सामाजिक सञ्जालमार्फत एक भिडियो सार्वजनिक गर्दै लामो समयदेखि आयोजकले आफूलाई धम्की र मानसिक तनाव दिएकाले ताज त्यागेको घोषणा गरेकी हुन्। ‘म मेरो टाइटल मिस ग्राण्ड नेपाल मिस विभा २०२५ बाट राजीनामा दि“दैछु।

यो निर्णय सजिलो नभए पनि आत्मसम्मान र अन्य महिलाको सुरक्षाका लागि आवाज उठाएकी हु“’ उनले भनेकी छिन्। भिडियोमार्फत जेसिकाले जनाएअनुसार उनलाई प्रतियोगिताका क्रममा टिकट बेच्न र किन्न दबाब दिइएको तथा टिकट व्यवस्थापन गर्न नसके टप टेनभित्र समेत नराख्ने चेतावनी आयोजकले दिएका थिए।

आयोजकले थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि कपडा, स्टाइलिङ र अन्य व्यवस्थापन गरिदिने आश्वासन दिए पनि सबै कुरा आफैं मिलाउन भनिएको उनले बताएकी छन्। ‘म थाइल्यान्डमा भावनात्मक रूपमा थकित भएर गएकी थिएँ, बिस्तारै मानिसहरूलाई मेरो अवस्थाबारे थाहा पाएँ। थाई डिजाइनर, स्टाइलिस्ट र दयालु व्यक्तिहरू आफैं मेरो नजिक आए। उनीहरूको सहयोगबिना मलाई थाहा छैन, म त्यो अन्तर्राष्ट्रिय मञ्चमा कसरी आत्मविश्वासका साथ उभिन सक्थेँ’ उनले भिडियोमा भनेकी छन्। प्रतियोगिताको प्रारम्भिक चरणअघि नै नेपाल फर्काइदिने धम्की दिइएको दाबी गर्दै उनले त्यो समय जीवनकै सबैभन्दा कठिन क्षण भएको उल्लेख गरेकी छिन्।

मिस ग्राण्ड नेपाल उमंग क्रियसनद्वारा आयोजना गरिने सौन्दर्य प्रतियोगिता हो। सन् २०२३ सम्म यसका विजेतालाई मिस युनिभर्समा सहभागी हुन पठाउने गरिए पनि त्यसयता भने मिस ग्राण्ड इन्टरनेशनलमा पठाउने गरिएको छ।