नेपाल समाचारपत्रकर्मी ढकाललाई लोकेन्द्रबहादुर चन्द अवार्ड


काठमाडौं ।

नेपाल समाचारपत्रकर्मी ईश्वरराज ढकाललाई पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द अवार्ड प्रदान गरिएको छ । एलआरआई स्कुलको ३८औं स्थापना दिवसको अवसरमा ढकालसहित दुई पत्रकारलाई जनही २५ हजार राशिको अवार्ड प्रदान गरिएको छ ।

सो अवार्डबाट पत्रकार जितेन्द्र घिमिरे पुरस्कृत हुनुभएको छ । पुरस्कृत पत्रकारद्वय ढकाल र घिमिरेलाई कार्यक्रमका प्रमुख अतिथि काठमाडौं विश्व विद्यालयका उपकुलपति अच्युत वाग्ले, विद्यालयका संस्थापक अध्यक्ष एवंं बोर्ड अफ ट्रस्टी शिवराज पन्त, निर्देशक यशोधरा पन्त, यसरेखा पन्त र बादल प्रधानले संयुक्त रूपमा नगदसहित पुरस्कृत गर्नुभएको थियो ।

कार्यक्रममा चन्दकै नामबाट स्थापित सो अवार्ड कक्षा १० की उत्कृष्ट विद्यार्थी आस्ना भुर्तेलले पाउनुभएको छ । भुर्तेललाई ११ हजार १ सय ११ रुपियाँ र कदरपत्रसहित पुरस्कृत गरिएको थियो । कार्यक्रममा ३ लाख राशिको यशोधरा पन्त अवार्ड गोकर्णेश्वरस्थित ग्रिनतारा चाइल्ड हेवन स्कुलले पाएको छ ।

त्यस्तै, कक्षा १२ को विद्यालय टपर सन्जोग कार्कीलाई ५० हजार राशिको एलआरआई ट्रस्ट अवार्ड, दोस्रो टपर आशरिका खतिवडालाई एसरेखा पन्त अवार्ड प्रदान गरिएको थियो ।

त्यस्तै, २५ हजार राशिको लक्ष्मण राजवंशी अवार्डबाट पञ्चोदय स्कुल धनगढीका पूर्व प्रअ पदमसिंह कुँवर, चैतन्य स्कुलका प्रिन्सिपल प्रेमनिधि ओझा, वागमती सामुदायिक विद्यालयका अनुमोदन केसी, कुलेश्वरस्थित जनमैत्री क्याम्पस प्रमुख भोलानाथ ओझा, पोखरास्थित प्रतिभा सेकेन्डरी स्कुलका प्रिन्सिपल किरण सापकोटा, न्यु डाइमन्ड क्लबका कुमार राई, वनविज्ञ एवं संस्कृत शिक्षक उदनम पन्त पुरस्कृत भएका छन् ।

देवकान्त जोशी अवार्ड कक्षा १२ को तेस्रो टपर संस्कृति केसी, बादल प्रधान अवार्डबाट अन्यया दुवाडी, सुप्रिम कोइरालालाई भूमिनन्दन ढकाल, विद्यालयका संगम सिजाललाई दावा ग्याल्जेन शेर्पा, दीपिका भुसाललाई धनबहादुर गुरुङ, मिङगसाङ ओमो लामा (योल्मो) लाई डा. हरिश्चन्द्र साहा, श्रीयाना श्रेष्ठलाई डा. सुरेशराज शर्मा, विद्यानविक्रम थापालाई उमेश श्रेष्ठ, दिव्या रेग्मीलाई उद्धवदेव भट्ट, अमृत ओलीलाई तोयामा सान, कृताङ्ग खनाललाई प्रमिला सिंह, सम्पदा पौडेललाई खिलराज रेग्मी, अविसास तामाङलाई डा. तिलक रावल अवार्ड प्रदान गरिएको छ । सम्मानित हुनेमा सोही विद्यालयका विद्यार्थी हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वाग्लेले पछिल्लो समयमा सूचना प्रविधिले गर्दा मानसिक र शारीरिक स्वास्थ्य नष्ट भएको बताउनुभयो । आमाबाबुले छोराछोरीलाई मोबाइल नचलाउ भन्ने अनि आफैंले चलाउने संस्कार बढेको बताउँदै पछिल्लो समयमा मानसिक स्वास्थ्य भयावह बन्दै गएको दाबी गर्नुभयो । उहाँले अब नेपालमा पूर्वीय चिन्तन आधारित शिक्षा दिनुपर्ने बताउनुभयो । उहाँले आफ्नो छोराछोरीलाई नेपालमै उत्कृष्ठ शिक्षा दिनुपर्ने बताउनुभयो ।

एलआरआईले शिक्षाक्षेत्रमा गरेको योगदानको चर्चा गर्दै उहाँले ३८ वर्षे इतिहासमा विद्यालयलाई यो स्थानमा ल्याउन शिवराज पन्तलगायत विद्यालय परिवारको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । विद्यालयका प्रिन्सिपल बादल प्रधानले, विद्यालयका संस्थापक, अभिभावक सबैको निरन्तर पहलले गर्दा विद्यालयले ३८ वसन्त पार गर्न सफल भएको बताउनुभयो । यस अवसरमा सम्मान गर्न पाएकोमा विद्यालय परिवार हर्षित भएको उहाँको भनाइ थियो । कार्यक्रममा विद्यार्थीले विभिन्न सांस्कृतिका कार्यक्रम प्रस्तुत गरेका थिए ।

विद्यालयले उत्कृष्ट शिक्षक, कर्मचारी विद्यालयका विभिन्न क्लब, काउन्सिल र उत्कृट नतिजा ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान गरेको थियो ।