तीन दिन सार्वजनिक बिदा


काठमाडौं ।

निर्वाचनमा मतदाताको अधिकतम सहभागिता सुनिश्चित गर्न सरकारले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगले गरेको सिफारिसलाई स्वीकृत गर्दै तीन दिन बिदा दिने निर्णय गरेको छ ।

निर्वाचन आयोगले मतदान स्थल टाढा रहेका मतदातालाई सहज रूपमा घर जान र फर्कन सकून् भन्ने उद्देश्यले तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको हो ।

बैठकले सबै राजनीतिक दल, उम्मेदवार र समर्थकहरूलाई शान्तिपूर्ण रूपमा प्रचार–प्रसार गर्न, आचारसंहिता पालना गर्न तथा मतदातालाई स्वतन्त्र निर्णय गर्न दिन आग्रह गरेको छ ।

सुरक्षा निकायले निर्वाचन अवधिभर नियमित अनुगमन, गस्ती र सूचना संकलनलाई तीव्र बनाउने निर्णय गरेको छ । आवश्यक परे आकस्मिक सुरक्षा बैठक बस्ने सहमतिसमेत भएको जनाइएको छ ।