सात दिनभन्दा कम समयमा विश्वका सात आश्चर्यको कीर्तिमानी यात्रा

470
Shares

मानवीय साहस, अठोट र स्पष्ट लक्ष्यका अगाडि ‘असम्भव’ भन्ने शब्द कति कमजोर हुन्छ भन्ने कुरा इजिप्टका माग्दी ईसा र बेलायतका जेमी म्याकडोनाल्डले विश्वसामु जीवित उदाहरणका रूपमा प्रस्तुत गरेका छन् । २,२०० वर्षभन्दा पुरानो ऐतिहासिक संरचना ‘ग्रेट वाल अफ चाइना’ बाट सुरु भएको त्यो असाधारण यात्रा सामान्य पर्यटकीय भ्रमण मात्रै थिएन, समयसँगको कठोर प्रतिस्पर्धा पनि थियो । “एडभेन्चरम्यान” का रूपमा परिचित बेलायती साहसी जेमी म्याकडोनाल्डले सन् २०२३ को मे महिनामा ६ दिन १६ घण्टा १४ मिनेटमा विश्वका सात आश्चर्यको भ्रमण गर्दै गिनिज वल्र्ड रेकर्डसमा आफ्नो नाम लेखाएका थिए । तर, त्यसको एक वर्षपछि नै इजिप्टका ४५ वर्षीय माग्दी ईसाले ६ दिन ११ घण्टा ५२ मिनेटमा उक्त यात्रा पूरा गर्दै उनको कीर्तिमान साढे चार घण्टाले उछिने । २२ हजार माइलभन्दा बढी दूरीको त्यो यात्रा केवल भौगोलिक फन्को मात्र नभई सूक्ष्म योजना, शारीरिक सहनशीलता र मानसिक दृढताको अनुपम नमुना समेत बनेको छ ।

चीनको विशाल पर्खालपछि यात्रा भारतको आगरास्थित ताज महलको शान्त सौन्दर्यतर्फ मोडिएको थियो । त्यहाँबाट जोर्डनको शिलानिर्मित ऐतिहासिक सहर पेत्रा हुँदै रोमको गौरवशाली कोलोससेउम सम्म पुग्दा समय उनीहरूका लागि सबैभन्दा ठूलो प्रतिस्पर्धी बनिसकेको थियो । एट्लान्टिक महासागर पार गर्दै ब्राजिलको क्राइस्ट डी रिडीमर र त्यसपछि पेरुको हिमाली काखमा अवस्थित माचू पिचूसम्मको यात्रा अझ चुनौतीपूर्ण रह्यो । अन्ततः मेक्सिकोको प्राचीन माया सभ्यताको प्रतीक चिचेन इत्जामा पुगेर यो कीर्तिमानी अध्याय टुंगियो । दर्जनौँ उडान, रेल, बस, सबवे र लामो पैदल यात्राको संयोजनले बनेको यो यात्रामा निजी सवारी साधन वा चार्टर्ड विमान प्रयोग गर्न नपाइने कडा नियमले सार्वजनिक यातायातको तालमेल मिलाउनु नै सबैभन्दा कठिन पक्ष बन्यो । जहाँ प्रत्येक पाइलाको प्रमाण जीपीएसमार्फत सुरक्षित गरिएको थियो ।

त्यसअघि अमेरिकाभरि दौडिएर र थाइल्याण्डदेखि बेलायतसम्म साइकल चलाएर आफ्नो शारीरिक सहनशीलता प्रमाणित गरिसकेका म्याकडोनाल्डका लागि उक्त भ्रमण अहिलेसम्मकै सबैभन्दा जटिल प्राविधिक चुनौती बन्यो । म्याकडोनाल्डका लागि त्यो यात्रा केवल कीर्तिमान तोड्ने महत्वाकांक्षा मात्रै थिएन । बाल्यकालमा मेरुदण्डको दुर्लभ रोग ‘सिरिङ्गोमाइलिया’ सँग जुधेका उनले आफ्नो ‘सुपरहिरो फाउन्डेसन’ मार्फत बिरामी बालबालिकाका लागि कोष जुटाउने उद्देश्यले यो चुनौती स्वीकारेका थिए । त्यसैले उनको यात्रामा प्रत्येक माइल परोपकारसँग गाँसिएको थियो, जसले उनको संघर्षलाई मानवीय संवेदनाले भरिएको बनायो । उनको त्यो निस्वार्थ भावनालाई कदर गर्दै ट्राभलपोर्टले यात्राको प्रत्येक माइल बराबर एक डलरका दरले कुल २२,८५६ डलर सहयोग प्रदान गरेको थियो । साथै, यात्राका क्रममा उत्सर्जन भएको २,५२३ किलोग्राम कार्बनडाईअक्साइडलाई पनि सन्तुलनमा ल्याउन कार्बन हटाउने आधुनिक प्रविधिको प्रयोगमार्फत वातावरणीय दायित्वसमेत पूरा गरिएको थियो । सीमित समय, थकान र जटिल ट्रान्जिटका बीच उनले देखाएको धैर्य केवल साहसिकता मात्र नभई सेवा भावनाको प्रेरक उदाहरण बन्यो ।

अर्कोतर्फ, माग्दी ईसाको सफलता ‘प्रिसिजन प्लानिङ’ को उत्कृष्ट नमुना हो । करिब डेढ वर्ष लगाएर उडान तालिका, ट्रान्जिट समय, अध्यागमन प्रक्रिया र स्थल–यातायातको सूक्ष्म अध्ययन गर्दै उनले आफ्नो मार्ग तय गरेका थिए । एक क्षणको ढिलाइले सम्पूर्ण योजना भत्किन सक्ने अवस्थाबीच उनले देखाएको संयम र व्यवस्थापन कौशल उल्लेखनीय छ । यात्राका क्रममा उडान र बस छुट्ने डर र तनाव, भाषा अवरोधका चुनौती भए पनि उनले आफ्नो लक्ष्यबाट ध्यान हट्न दिएनन् । उनका लागि यो आफ्नो बाल्यकालको सपना पूरा गर्नुका साथै दैनिक जीवनका तनावबाट मुक्ति पाउने माध्यम पनि बन्यो । वास्तवमा उद्देश्य स्पष्ट र इच्छाशक्ति अटुट भए समय र भूगोलका सीमाहरू पनि साँघुरा हुन्छन् भनेर यी दुई साहसी यात्रुले प्रमाणित गरेका छन् । परोपकारको भावनाले प्रेरित यात्रा होस् वा व्यक्तिगत सपनाको खोजी, साहस र योजना मिल्दा मानिसले असम्भवजस्तै देखिने लक्ष्यहरू पनि हासिल गर्न सक्छ ।