नेसन्स लिग ड्र २०२६: युरो २०२४ को फाइनलको झल्को दिने ‘ग्रुप अफ डेथ’

0
Shares

युरोपेली फुटबलको प्रतिष्ठित मानिने नेसन्स लिगको नयाँ संस्करणले खेल प्रेमीहरूको ढुकढुकी बढाएको छ । सन् २०२६–२७ को युइएफए नेसन्स लिगको ड्र सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय फुटबलमा प्रतिद्वन्द्विताको एक रोमाञ्चक अध्याय सुरु भएको छ, जसमा सबैभन्दा बढी चर्चाको विषय गत संस्करणको विजेता स्पेन र उपविजेता इङ्गल्याण्ड एउटै ‘ग्रुप ए ३’ मा पर्नुले भएको छ । गत फेब्रुअरी १२ मा ब्रसेल्समा आयोजित एक भव्य समारोहका बीच ५४ सदस्य राष्ट्रहरूलाई उनीहरूको पछिल्लो वरियताका आधारमा चारवटा लिगहरूमा विभाजन गरिएको छ । ‘थ्री लायन्स’ का लागि यो नतिजा निकै चुनौतीपूर्ण ‘ग्रुप अफ डेथ’ का रूपमा आएको छ, जहाँ उनीहरूले वर्तमान युरोपेली च्याम्पियन स्पेन, जुझारु टोली क्रोएसिया र रणनीतिक रूपमा बलियो चेक गणतन्त्रको सामना गर्नुपर्नेछ ।
यो समूहले युरो २०२४ को फाइनलको झझल्को दिने निश्चित छ, जसले इङ्गल्याण्डलाई बर्लिनमा आफ्नो सपना अधुरो बनाउने टोलीसँग बदला लिने सुनौलो मौकासमेत प्रदान गरेको छ ।

अहिले यो प्रतियोगिता आफ्नो पाँचौं संस्करणमा पुगेको छ र उच्च स्तरका खेलहरूका साथै आगामी युरोपेली च्याम्पियनसिपका लागि महत्वपूर्ण मार्ग प्रशस्त गर्दै यसको प्रतिष्ठा लगातार चुलिँदो छ । भर्खरै सन् २०२८ सम्मका लागि आफ्नो सम्झौता नवीकरण गरेका प्रशिक्षक थोमस टुचेलको नेतृत्वमा इङ्गल्याण्डले लिग ‘ए’ मा आफ्नो पुनरागमनलाई मजबुत बनाउने लक्ष्य राखेको छ । ड्र को कठिन नतिजाप्रति प्रतिक्रिया दिँदै टुचेलले विश्वकपको थकाइ मेटाउन नपाउँदै स्पेन र क्रोएसिया जस्ता दिग्गज टोलीहरूसँग खेल्नु चुनौतीपूर्ण हुने स्वीकारेका छन् । सेप्टेम्बर २६, २०२६ मा स्पेनविरुद्ध घरेलु मैदानमा हुने पहिलो खेलसँगै जर्मन रणनीतिकार टुचेलका लागि यो समूहमा प्रत्येक अंक जोड्नु अस्तित्वको लडाइँ जस्तै हुनेछ ।

लिग ‘ए’ का अन्य समूहहरूमा पनि फुटबलका हस्तीहरूबीचको भिडन्तले सन् २०२६ को शरद् ऋतुलाई रोमाञ्चक बनाउने पक्का छ । समूह ‘ए१’ मा पूर्व विश्वविजेताहरू फ्रान्स र इटालीबीच ‘टाइटानिक’ भिडन्त हुनेछ भने समूह ‘ए२’ मा जर्मनी र नेदरल्याण्ड्सले फुटबल इतिहासकै सबैभन्दा चर्चित प्रतिद्वन्द्वितालाई पुनः ब्युँताउनेछन् । सन् २०२५ मा स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै नेसन्स लिगको उपाधि जितेको साविक विजेता पोर्चुगल समूह ‘ए ४’ मा सुरक्षित देखिए पनि उनीहरूले डेनमार्क, नर्वे र बढुवा भएर आएको वेल्सको कडा चुनौती सामना गर्नुपर्नेछ, जसले अन्तर्राष्ट्रिय मञ्चमा सधैं आफूलाई ‘अन्डरडग’ का रूपमा प्रमाणित गर्दै आएका छन् ।

यो संस्करणको ढाँचाले आगामी वसन्त ऋतुसम्म खेलको उत्साहलाई मर्न दिने छैन । लिग ‘ए’ का प्रत्येक समूहबाट शीर्ष दुई टोलीहरू मार्च २०२७ मा हुने क्वार्टरफाइनलमा प्रवेश गर्नेछन्, जुन ‘होम एण्ड अवे’ पद्धतिमा खेलिनेछ । यो नकआउट चरणले जुन २०२७ मा ट्रफीका लागि भिड्ने अन्तिम चार टोलीहरूको टुंगो लगाउनेछ । अर्कोतर्फ, तल्लो लिगहरूमा पनि उत्तिकै रोमान्च देखिनेछ; स्कटल्याण्डले स्विट्जरल्याण्डसँग कठिन समूह ‘बी १’ मा प्रतिस्पर्धा गर्नेछ भने रिपब्लिक अफ आयरल्याण्डले इजरायल र अस्ट्रिया सम्मिलित समूह ‘बी ३’ मा संघर्ष गर्नेछ । बढुवा, घटुवा र युरो २०२८ को प्ले–अफ स्थानहरू दाउमा रहेकाले २०२७ को फाइनलसम्मको यो यात्रा विश्व फुटबलकै लागि निकै महत्वाकांक्षी र गौरवपूर्ण रहने देखिन्छ ।

युइएफए नेसन्स लिग २०२६–२७ समूह विभाजन

समूह ए १ः फ्रान्स, इटाली, बेल्जियम, टर्किए

समूह ए २ः जर्मनी, नेदरल्याण्ड्स, सर्बिया, ग्रीस

समूह ए ३ः स्पेन, क्रोएसिया, इङ्गल्याण्ड, चेक गणतन्त्र

समूह ए ४ः पोर्चुगल, डेनमार्क, नर्वे, वेल्स

समूह बी १ः स्कटल्याण्ड, स्विट्जरल्याण्ड, स्लोभेनिया, उत्तर म्यासेडोनिया

समूह बी २ः हंगेरी, युक्रेन, जर्जिया, उत्तरी आयरल्याण्ड

समूह बी ३ : इजरायल, अस्ट्रिया, रिपब्लिक अफ आयरल्याण्ड, कोसोभो

समूह बी ४ : पोल्याण्ड, बोस्निया–हर्जगोभिना, रोमानिया, स्वीडेन

समूह सी १ : अल्बानिया, फिनल्याण्ड, बेलारुस, सान मारिनो

समूह सी २ : मोन्टेनेग्रो, अर्मेनिया, साइप्रस, जिब्राल्टर÷लात्भिया

समूह सी ३ : काजकिस्तान, स्लोभाकिया, फारो टापु, मोल्डोभा

समूह सी ४ : आइसल्याण्ड, बुल्गेरिया, एस्टोनिया, लक्जमबर्ग÷माल्टा

समूह डी १ : जिब्राल्टर÷लात्भिया, लक्जमबर्ग÷माल्टा, एण्डोरा

समूह डी २ : लिथुआनिया, अजरबैजान, लिचेस्टाइन