उदयपुर।
आसन्न फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उदयपुर जिल्लाको समग्र शान्ति सुरक्षा अवस्थाबारे स्थलगत जानकारी लिन नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल उदयपुर आउनु भएको छ । निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यले पूर्वी पृतना इटहरी भ्रमणको क्रममा उदयपुर आइपुग्नु भएको हो ।
प्रधानसेनापति सिग्देल नेपाली सेनाको हेलिकप्टर मार्फत उदयपुर आइपुग्नु भई जिल्लाको चौदण्डीगढी नगरपालिकामा केन्द्रित भई सुरक्षा अवस्थाबारे विस्तृत ब्रिफिङ लिनु भएको थियो । सो अवसरमा नेपाली सेनाले निर्वाचन लक्षित सुरक्षा तयारी, चुनौती तथा अपनाइएका रणनीतिहरूबारे जानकारी गराएको पशुपतिप्रसाद गणका गणपति मनोज कार्कीले बताउनु भयो ।
प्रधानसेनापति सिक्देलले जिल्लाको शान्ति सुरक्षाको बारेमा जानकारी लिएको र चुनावमा नेपाली सेनाले निर्वाह गर्नु पर्ने भूमिकाको बारेमा निर्देशन समेत दिनु भएको थियो ।
उदयपुर जिल्लामा दुई वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् । निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत बेलका, चौदण्डीगढी र त्रियुगा नगरपालिका रहेका छन् भने निर्वाचन क्षेत्र नम्बर २ मा कटारी नगरपालिकासहित ताप्ली, लिम्चुङ्गबुङ्ग, उदयपुरगढी र रौतामाई गाउँपालिकाहरू समेटिएका छन् ।
निर्वाचन क्षेत्र नं. १ मा ५२ मतदान स्थल र १६० मतदान केन्द्र रहेका छन् भने क्षेत्र नं. २ मा ५१ मतदान स्थल र ११५ मतदान केन्द्र रहेका छन् । यसरी जिल्लाभर कुल १०३ मतदान स्थल र २७५ मतदान केन्द्रमार्फत मतदान सञ्चालन हुने तयारी गरिएको छ ।
निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन गाईघाटस्थित पशुपतिप्रसाद गणको नेतृत्वमा जिल्लाका आठवटै पालिकाका १६ स्थानमा नेपाली सेनालाई परिचालन गरिएको छ । त्यसैगरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले पनि संवेदनशील क्षेत्रहरूमा विशेष निगरानी बढाएका छन् ।
सुरक्षा निकायहरूले जिल्लाभर संयुक्त रूपमा पेत्रोलिङ तथा गस्तीलाई तीव्र बनाएका छन् । सम्भावित जोखिम क्षेत्रहरूको पहिचान गरी त्यहाँ विशेष सतर्कता अपनाइएको छ भने मतदानको दिन कुनै पनि अप्रिय घटना हुन नदिन पूर्वतयारीलाई उच्च प्राथमिकतामा राखिएको छ ।
प्रधानसेनापति सिग्देलले सुरक्षा निकायहरूलाई निर्वाचन अवधिभर उच्च सतर्कता अपनाउन, आपसी समन्वय मजबुत बनाउन तथा नागरिकमा सुरक्षा प्रत्याभूति दिलाउने गरी कार्य गर्न निर्देशन दिनु भएको बताइएको छ । उहाँले शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउन सबै सुरक्षा निकायको भूमिका महत्त्वपूर्ण रहने उल्लेख गर्दै जिम्मेवारीप्रति सचेत र सक्रिय रहन आग्रह गर्नुभएको छ ।











प्रतिक्रिया