जबरजस्ती करणी मुद्दामा फसाइदिने धम्की दिँदै ४ करोड ५० लाख ठगीको आरोप, टिकटकर तुलसा अधिकारीविरुद्ध पक्राउ पुर्जी


काठमाडौं ।

चर्चित टिकटकर तथा आभूषण व्यवसायी तुलसा अधिकारीविरुद्ध ठगी र ब्ल्याकमेलिङको गम्भीर आरोप लागेको छ।

सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’का सञ्चालक कुमार चिमोरियाले आफूलाई जबरजस्ती करणी मुद्दामा फसाइदिने भन्दै धम्क्याएर ४ करोड ५० लाख रुपैयाँ र ठूलो परिमाणमा गरगहना लिएको आरोप लगाउँदै जाहेरी दिएपछि अधिकारीविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ।

सातदोबाटो प्रहरीमा जाहेरी

सातदोबाटो प्रहरी वृत्तमा दर्ता भएको जाहेरीअनुसार, अधिकारीले व्यक्तिगत सम्बन्ध बिग्रिएपछि जबरजस्ती करणी मुद्दामा फसाइदिने धम्की दिँदै पटक–पटक रकम र ज्वैलरी लिएको दाबी गरिएको छ।

‘आपसी सम्बन्ध बिग्रिएपछि जबरजस्ती करणीमा फसाइदिने भनेर धम्क्याउँदै पटक–पटक पैसा र गरगहना लिएको अनुसन्धानबाट देखिन्छ,’ प्रहरी स्रोतले जनाएको छ।

पक्राउ पुर्जीपछि चीन फरार ?

प्रहरीका अनुसार अदालतबाट पक्राउ पुर्जी जारी भएपछि अधिकारी सम्पर्कविहीन भएकी छन्। प्रारम्भिक अनुसन्धानका क्रममा उनी चीनतर्फ भागेको आशंका गरिएको सातदोबाटो प्रहरीले जनाएको छ।

उनको खोजीका लागि प्रहरी संयन्त्र परिचालन गरिएको र आवश्यक परे अन्तर्राष्ट्रिय समन्वयसमेत गरिने तयारी भइरहेको स्रोतले जनाएको छ।

सम्पत्ति शुद्धीकरण विभागमा पनि उजुरी

अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा समेत उजुरी परेको खुलासा भएको छ। प्राप्त रकमको स्रोत, कारोबारको प्रकृति तथा आर्थिक लेनदेनको विवरणबारे थप अनुसन्धान हुने जनाइएको छ।

अनुसन्धान जारी

प्रहरीले मुद्दा दर्ता गरी ठगी, आपराधिक धम्की तथा सम्बन्धित कानुनी प्रावधानअन्तर्गत अनुसन्धान अघि बढाएको जनाएको छ। पीडित भनिएका व्यवसायी चिमोरियासँग लिइएको बयान र संकलित प्रमाणका आधारमा अनुसन्धान विस्तार गरिएको बताइएको छ।

घटनाबारे अधिकारी पक्षबाट औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन। प्रहरीले भने अनुसन्धान निष्कर्षमा पुग्नुअघि दोषी वा निर्दोषबारे निष्कर्ष निकाल्न हतार नगर्न आग्रह गरेको छ।