त्रिभुवन विमानस्थलबाट विदेशी मुद्रासहित स्विडेनका एक नागरिक पक्राउ


काठमाडौं ।

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा विदेशी मुद्रासहित एक स्विडेनका नागरिक पक्राउ परेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचर काठमाडौंका अनुसार मंगलबार  दिउँसो १:०५ बजे सिचुआन एयरलाइन्सको उडानमार्फत काठमाडौंबाट तियानफु (चीन) जान लागेका स्विडिस नागरिक ६८ वर्षीय कुनचोक खाण्ड्रो (महिला) लाई शंका लागेपछि जाँच गर्दा विभिन्न विदेशी मुद्रा फेला परेको हो।

जाँचका क्रममा उनको साथबाट १० हजार ५ सय अमेरिकी डलर, ६ हजार ७ सय यूरो, ७ हजार ४ सय चिनियाँ युआन, ४३ हजार स्विडिस क्रोनर बरामद गरिएको प्रहरीले जनाएको छ।

अन्तर्राष्ट्रिय प्रस्थान कक्षबाट पक्राउ परेकी उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहर भवन, पुल्चोक ललितपुर पठाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।