कालिन्चोक र शैलुङमा बाक्लो हिमपात

752
Shares

दोलखा। 

दोलखाको उच्च पहाडी भेग कालिन्चोक र शैलुङमा यो वर्ष दोस्रो पटक हिमपात भएको छ । मङ्गलवार दिउँसो दुई बजेपछि बाक्लै हिमपात भएको स्थानीयले बताएका छन् । 

यो वर्ष गत माघ १५ गते कालिन्चोक र शैलुङमा पहिलो पटक हिमपात भएको थियो । कालिन्चोकमा गत माघ १५ गते यो वर्ष पहिलो पटक सामान्य हिमपात भएपनि दोस्रो पटक मङ्गलवार दिउँसो २ः३० देखि बाक्लै हिमपात भएको कालिञ्चोकको कुरीमा रहेको सुनपाती होटलका विमल ओझाले बताए । 

देशकै प्रमुख धार्मिक एमव् पर्यटकीय केन्द्र बनेको कालिन्चोकमा हिउँ खेल्नकै लागि माघ– फागुनमा नेपालका बिभिन्न जिल्ला तथा भारतबाट समेत धेरै पर्यटक पुग्ने गरेका छन् । 

३८४२ मिटर उँचाइमा रहेको कालिञ्चोकबाट गौरीशङ्कर लगायतका हिमश्रृङ्खलाहरु समेत हेर्न सकिन्छ । 

शैलुङमा पनि हिमपात

दोलखाकै अर्को महत्त्वपूर्ण धार्मिक एवम् प्राकृतिक पर्यटकीय केन्द्र शैलुङ क्षेत्रमा पनि मङ्गलवार दिउँसो दुई बजेपछि बाक्लो हिमपात भएको स्थानीय दिपेश श्रेष्ठले बताएका छन् । 

३१४६ मिटर उँचाइको शैलुङमा सयवटा थुम्का रहेका छन् । शैलुङको थुम्का र मिनि ग्रटवाल हेर्न शैलुङ क्षेत्रमा दैनिक धेरै पर्यटक पुग्ने गरेको स्थानीय दिपेश श्रेष्ठको भनाई छ । हिमपात पछि यो क्षेत्रमा देशी तथा विदेशी पर्यटकको आगमन बढ्ने स्थानीय बताउँछन् । 

शैलुङ क्षेत्रबाट गौरीशङ्कर हिमश्रृङ्खला हेर्न र यो क्षेत्रमा रहेको महादेव थान, भीमसेन तरवार, धर्मढोका, गुफा लगायतका धार्मिक स्थलहरु घुम्न समेत दैनिक धेरै पर्यटक आउने गरेको श्रेष्ठ बताउँछन् ।