युवा ईन्जिनीयर तथा वैज्ञानिक रोशन पाण्डे नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को प्रविधि संकायका प्रमुखमा नियुक्त भएका छन् । ललितपुर जिल्लाको सातदोबाटो निवासी प्रतिभाशाली वैज्ञानिक ३७ वर्षीय पाण्डे नास्टको सो उच्च पदमा नियुक्त हुने हालसम्म कै सबैभन्दा कम उमेरका वैज्ञानिक हुन ।
नाष्टमा विज्ञान र प्रविधि गरी दुईवटा संकायहरु छन् । विज्ञान संकायले फिजिक्स, केमेष्ट्री जस्ता विशुध्द विज्ञानको क्षेत्रमा कार्य गर्छ भने प्रवित्रि संकायले ऊर्जा, अन्तरिक्ष विज्ञान, रोबोटिक्स, जलविद्युत जस्ता प्रयोगात्मक विज्ञानको क्षेत्रमा अनुसन्धान आदि कार्य गर्छ । देशमा युवाहरुले राजनीति तथा अन्य क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने एकप्रकारको लहर नै चलेको वखत नाष्टले पनि यसपटक समयको मागअनुसार युवा व्यक्तित्वलाई महत्वपूर्ण पदमा अवसर दिने परम्पराको थालनी गरेको छ ।
नाष्टले हालैका दिनहरुमा योग्य, प्रतिभावान् तथा उज्ज्वल भविष्यप्रति उन्मुख प्रतिभाहरुको कदर गर्ने परम्परा बसालेको कुराको यो एउटा ज्वलन्त उदाहरण पनि हो । युवा वैज्ञानिक पाण्डेले विज्ञान तथा प्रविधि क्षेत्रको अनुसन्धान तथा परियोजना विकासका क्षेत्रमा १२ वर्षको अनुभव बटुली सकेका छन् । नास्टको परियोजना कार्यान्वयन तथा पूर्वाधार विकासको क्षेत्रमा महत्वपूर्ण योगदान गरेका पाण्डेमा जटिल प्रविधि तथा परियोजनाको क्षेत्रमा भरपर्दो तथा नेतृत्वदायी भूमिका खेल्ने क्षमता रहेको कुरा त्यहांका एक वरिष्ठ विशेषज्ञ बताउंछन् ।
उनले अन्तरिक्षसंग सम्बन्धी अनुसन्धान कार्य, नवीकरणीय ऊर्जा सम्बन्धी अनुसन्धान, उदयीमान् तथा अत्याधुनिक प्रविधि प्रवर्ध्दन, फोहर व्यवस्थापन तथा दीगो प्रविधि विकास, प्रविधिमा आधारित नवप्रवर्ध्दनको विकास तथा युवाव्दारा संचालित नवप्रविधिको विकास आदि क्षेत्रमा उल्लेखनीय योगदान दिई आएका छन् ।
केही वर्ष अघि नेपालले जापानको सहयोगमा अन्तरिक्षमा प्रक्षेपण गरेको प्रथम न्यानो भूउपग्रहको ग्राउण्ड हैण्डलिंगको कार्य पनि उनले सफलतापूर्वक सम्पन्न गरेका थिए । त्रि.वि. अन्तर्गत पुलचोक क्याम्पसबाट इन्जिीनियरिंग विषयमा स्नातकोत्तर उपाधि हासिल गरेका पाण्डे हाल नवीकरणीय ऊर्जा विषयम विद्यावारिधि गर्ने अन्तिम चरणमा कार्यरत छन् । उनको लघु जलविद्युत आयोजना, नवीकरणीय ऊर्जा तथा रोबोटनिर्माणको क्षेत्रमा पनि उल्लेखनीय योगदान रहेको छ ।
उनी आफूमा निहित परियोजना कार्यान्वयन सम्बन्धी अनुभव, प्रयोगशाला विकाससम्बन्धी ज्ञान तथा प्राज्ञ संलग्नताको माध्यमले विज्ञान तथा प्रविधिको क्षेत्रमा आगामी दिनहरुमा हुने प्रयासहरुमा नेतृत्वदायी भूमिका निभाउन उत्सूक छन् । यसका साथै उनी नास्टको प्रविधि विभाग अन्तर्गत रही अनुसन्धानसम्बन्धी क्षमता वृद्धि, युवा अनुसन्धानकर्ताहरुको सबलीकरण तथा राष्ट्रिय आवश्यकतासंग समायोजन गरी प्रविधि उन्मुख समाधानहरु पहिल्याउनमा आफ्नो समस्त प्रतिभा तथा ऊर्जा केन्द्रित गर्ने योजना रहेको बत्ताउँछन् ।











प्रतिक्रिया