हरेक मानिसको जीवन कथाहरूको सङ्ग्रह हो । भोगाइका प्रत्येक पल सङ्गृहीत हुँदै जीवनयात्राले गति ग्रहण गर्दछ । सुख–दुःखबाट गुज्रिँदै अघि बढ्ने मानिसको जीवनमा उपन्यास हुन्छ, काव्य गुञ्जिन्छ अनि दर्शनको आधारभूमि तयार हुन्छ । जीवनमा बटुलिएका अनुभूति कति लेखिन्छन्, कति लेखिँदैनन् ।
हरेक मानिसका मनमनमा नलेखिएको सुन्दर आख्यान र काव्य हुन्छ । प्रकट गर्ने सामथ्र्य सबैसँग हुँदैन, त्यसैले सबैका सबै अनुभूतिले प्रकाशनको अवसर प्राप्त गर्दैनन् । अनुभूतिलाई साहित्यिक कृतिको स्वरूप दिने क्षमता, आँट, धैर्य र रुचिलाई सम्मानको सलाम अर्पण गर्न अप्ठ्यारो मान्नुपर्दैन ।
पार्वती तिवारी आचार्यलाई ‘पुर्पुरो’ शीर्षकको आख्यान यसपटक पढ्न पाइयो । दुःखमा हुर्किई सङ्घर्षका मैदानमा विवशताका अनेक परिस्थिति झेलेर जीवनका अनेक पाटा छाम्न सफल देखिएकी छिन् लेखिका पार्वती । निम्नवर्गीय पारिवारिक पृष्ठभूमि, आमाको सङ्घर्ष, निम्नवर्गीय बालबालिकाको अवस्था, बुढ्यौली जीवन, शहरमा सुखको खोजी, दाताको आश्रय, मनकारीहरूको छत्रछाया, लक्ष्य छुने हुटहुटी, निरन्तर परिश्रम, धैर्यधारण, असल साथ र सफलता प्राप्ति उनको जीवनका पृष्ठहरू हुन् । यी विषय सबैका निम्ति अभिप्रेरणाका स्रोत हुन् । लक्ष्य प्राप्तिको बाटो कसरी निर्माण गर्न सकिन्छ भन्ने प्रश्नको उत्तरका रूपमा प्रस्तुत भएको छ पार्वतीको ‘पुर्पुरो’ ।
सफलता देखिन्छ तर त्यसलाई प्राप्त गर्नका निम्ति गरिएको सङ्घर्ष त्यति सजिलै देखिँदैन । हरेक सफलताका पछि सङ्घर्षले के–कसरी पृष्ठाधार निर्माण गरेको हुन्छ भन्ने विषय ओझेल नै परेको हुन्छ सधैँ । अनेक आयामबाट जीवनलाई विश्लेषण गर्नेहरू छन् यहाँ । सफलताका कथा भन्नेहरू पनि छन् ।
सफलता प्राप्तिको मार्ग औंल्याउनेहरू पनि छन् । ती सबै यथार्थभन्दा आदर्शको पथमा हिँडेको लाग्छ । यथार्थलाई आत्मसात् नगर्ने हो भने जीवनलाई बोध गर्न सकिन्न । जीवनबोध मानिसले आर्जन गरेको विशिष्ट ज्ञान हो । यस्तो ज्ञान बोकी थालिएको सिर्जनाको यात्राले मात्रा कृतिको मूल्य उजागर गर्न सक्छ । पार्वती त्यही दिशामा अघि बढेकी छिन् । उनको आख्यान पाठकमा उत्प्रेरणा जागृत गर्न समथ्र्य देखिन्छ ।
देखेको सत्य तथा भोगेको सत्यबाट निर्माण हुने साहित्य रचनाको पृष्ठभूमि कृतिगत सफलताको आधारभूमि हो । कल्पनाको बाटो हिँडेर पनि कृतिको रूपाकृति तयार नहुने होइन । त्यस्तो साहित्यमा सामाजिक धरातल कुन रूपमा प्रस्तुत हुन्छ ? प्रश्न छँदै छ । पार्वतीको ‘पुर्पुरो’ कृतिमा आइपुग्दा भोगेको सत्यमार्फत सिर्जित कृतिको सामथ्र्य थाहा लाग्दछ । लेखक इमानदार भयो भने समाजले इतिहास, संस्कृति, राजनीतिलगायत पक्षको वास्तविकता बोध गर्ने अवसर प्राप्त गर्छ ।
यस दृष्टिकोणबाट लेखिकाको प्रयत्न विशिष्ट बनेको छ । उनले आफ्नो विगतलाई इमानदार भई प्रस्तुत गरेकी छिन् । अनुभूतिका पत्रहरू सहजरूपमा पल्टाएकी छिन् । हाम्रो समाजको गरिबी, गरिबप्रति धनीले राख्ने दृष्टिकोण, शैक्षिक धरातल, रोजगारीको अवस्था हुँदै उनले प्रेमप्रणय तथा वैवाहिक सम्बन्धको विषयसमेत निःसङ्कोच उजागर गरेकी छिन् । उनको लेखाइमा नेपाली समाजको चरित्र उद्घाटित छ ।
यस कृतिमा पार्वतीले मानिसलाई पढी उसको प्रवृत्तिगत विशेषता सार्वजनिक गरेकी छिन् । संसारभरिका मानिस आखिर मानिस नै हुन् तर उनीहरूको चरित्र उनीहरू उभिएको समाजले निर्माण गर्ने वस्तुयथार्थ उनले उद्घाटन गरेकी छिन् । अर्कातिर मानवीय स्वभावका कारण समाजको चरित्र निर्माण हुने वास्तविकता पनि उनले खुलासा गरेकी छिन् । मान्छेमा भएको सकारात्मक अथवा नकारात्मक चरित्रका कारण उसका संसर्गमा आउने प्रत्येक मान्छे सुख वा दुःख बेहोर्न बाध्य हुने सन्देश उनले सुनाएकी छिन् । ‘पुर्पुरो’ शीर्षकमार्फत अनुगुञ्जित ध्वनिले पनि मानिसको प्रवृत्ति र त्यसको सामाजिक प्रभावलाई नै सङ्केत गरेको देखिन्छ ।
हाम्रो सामाजिक चरित्र प्रस्तुत गरी पार्वतीले यस आख्यानमार्फत नेपाली समाजको सांस्कृतिक धरातल चिनाउने काम गरेकी छिन् । हामीसँग यथेष्ट समस्याहरू छन् । गरिबी हाम्रो मुख्य समस्या हो । मुख्य समस्या ठम्याए पनि त्यसलाई निर्मूल पार्ने बाटामा हाम्रा पाइलाहरू किन दह्रो बन्न सकेनन् भन्ने प्रश्नलाई उनले सधैँ केन्द्रमा राखेको देखिन्छ ।
अनेक योजना बने पनि समस्याका जरामा पुग्न नसक्नुका केही कारण उनले चिनाएकी छिन् । आफ्नै पृष्ठभूमि उठान गरी शिक्षा, रोजगारी, सीप, क्षमता, अवसरलगायत विषयमा विदेशीको मुख ताक्नुपरेको विवश परिस्थिति उनको आख्यानले राम्ररी बोलेको छ । विदेशी हस्तक्षेपका अनेक तर्कहरू विमर्शमा फलाक्दै हिँडे पनि आफूलाई सक्षम बनाउन नसक्दा तिनकै शरणमा खुम्चिनुको विकल्प हामीसँग नभएको वस्तुतथ्य उनको आख्यानमा सङ्केतित छ ।
वर्गीय समस्या पार्वतीको आख्यानमा समेटिएको महत्वपूर्ण पक्ष हो । यसका साथै, जातीय र लैङ्गिक समस्याभित्र पनि उनको लेखन प्रवेश गरेको छ । जातीय उत्पीडनको विषय उठान गरी उनले हाम्रो सामाजिक तथा सांस्कृतिक चरित्र प्रस्ट्याउने प्रयास गरेकी छिन् । नारी समस्याका विविध सन्दर्भ उठान गर्नु उनको प्रवृत्ति बन्न पुगेको छ ।
पितृसत्ताका कारण नेपाली समाजका नारीले बेहोर्नुपरेको भुक्तमान प्रस्तुत आख्यानको शक्तिका रूपमा प्रकट भएको पाइन्छ । हाम्रो समाजमा पितृसत्ता सधैँ समस्या बनेर प्रस्तुत भएको छ । पुरुषको सहयोगी चरित्रका कारण नारीको जीवनमा आउने परिवर्तनको मूल्याङ्कन गर्ने क्रममा पार्वतीले आफ्नै पतिलाई पात्रका रूपमा उभ्याएकी छिन् । नारी र पुरुषको सहकार्यबाट मात्र सामाजिक तथा सांस्कृतिक रूपान्तरण हुने सन्देश प्रवाहमा यो कृति सफल देखिएको छ ।
भोगेको सत्य उद्घाटन गरिएको यस कृतिमा नेपाली समाजको यथार्थ प्रस्तुत गरिएको छ । यसले नेपाली समाजको प्रवृत्ति उद्घाटनको प्रयत्न गरेको छ । वर्गीय, जातीय र लैङ्गिक सन्दर्भ उठान गरी यस कृतिले नेपाली समाजको सांस्कृतिक अवस्था उजागर गरेको छ । आफूलाई केन्द्रमा राखी कृतिकारले सांस्कृतिक प्रतिरोधको धरातल निर्माण गरेको पाइन्छ ।
यसमा वर्गीय, जातीय र लैङ्गिक अवस्थाका जटिलता प्रस्तुत गरी ती अवस्थामा भित्रिएका विकृतिविरुद्ध प्रतिरोधी अभिमत जाहेर गरिएको छ । यस प्रकृतिको अभिमतलाई प्रस्तुत कृतिको शक्तिका रूपमा मूल्याङ्कन गर्नु उपयुक्त हुन्छ । कतिपय भाषिक तथा सैद्धान्तिक अपूर्णताका कारण कृतिले निर्माण गरेको सङ्कथनमा बाधा उत्पन्न भएको छ । आगामी लेखनमा यस्ता अपूर्णताहरू पूर्ण बनी कृति थप परिपुष्ट बन्नेमा शङ्का नगर्नु नै उचित हुने ठानेको छु ।
पठन र चिन्तनको निरन्तर अभ्यासले नै लेखन सङ्लो, सग्लो र अग्लो बनाउने हो । भोगाइले लेखनलाई विषय मात्र होइन सामाजिक सन्दर्भका अनेक पाटा खुलस्त पार्ने अवसर पनि प्रदान गर्छ । पार्वतीको प्रयत्न यही मार्गमा गतिशील छ । समाजबोधसहितको सिर्जनायात्रा निरन्तर बन्न सके लेखनको उपादेयता प्रस्टिनेछ ।
उनको कलम सचेतना सम्प्रेषणको बाटो हुँदै खबरदारीको यात्रामा अग्रसर छ । यसलाई जोगाई सिर्जनाको सुवास सम्प्रेषणमा अघि बढ्न अभिप्रेरणा जागृत भइरहोस् । फराकिलो, मजबुत र अनन्त सिर्जन सामथ्र्यका निम्ति हार्दिक शुभकामना !











प्रतिक्रिया