बुढ्यौली र चुनावी घोषणापत्रको सवाल

752
Shares

चुनावअघि राम्रा सपनाहरु बोकेर मत माग्न नेताजीहरु घरदैलोमा आइरहेका छन् । नवपुस्ताले गरेको चाहना अनुरुप जेनजी विद्रोहपछि पछिल्लो जनमत बुभ्mने प्रयोजनका लागि यही फागुन २१ मा आम निर्वाचन हुँदै छ । दल वा उम्मेदवारहरुले तय गरेका घोषणापत्रहरु पनि सार्वजनिक भइरहेका छन् । दल वा उम्मेदवारले तय गरेका यसअघिका चुनावी घोषणाहरु भने धेरै पूरा हुन बाँकी नै छन् ।

निर्वाचनमा उठेका उम्मेदवारहरुले विकास निर्माण र पूर्वाधारका धेरै कुरा गर्छन् तर मानवीय संवेदनाको प्रमुख विषय– बुढ्यौलीपनमा स्याहार एवं संरक्षणको विषय प्रायः ओझेलमा पर्ने गरेको छ । ज्येष्ठ नागरिक हकहितका कुरा धेरै छन्, संविधान छ, अन्तर्राष्ट्रिय मान्यताहरु पनि छन् तर जे छन् ओझेलमा छन् । यस विषयमा यहाँ चर्चा गर्ने जमर्को गरिएको छ ।
चुनावको मुखैमा स्वास्थ्य बिमा बोर्डले नकाम गरेको छ ।

१० वर्षदेखि स्वास्थ्य बिमाको हल्ला भयो, अहिले व्यापकता पाएको बेला ओपीडी सेवा २५ हजारमा सीमित गरेको छ, जसमा सह शुल्कदेखि रेफर केसहरुले सबै उमेर समूहलाई नितान्त पीडा भएको र वृद्धहरुलाई थप मार परेको छ । वृद्धहरु सहज जीवन बिताउन चाहन्छन्, हाम्रो बाटोघाटो वृद्ध अनुकूलको छैन । पैदल मार्गमा फटाफट हिँड्न सकिन्न, र मापदण्डअनुसारको पैदल बाटो छैन । अशक्त, अपांगमैत्री बाटोहरु, यातायात, शौचालयहरु छैनन् । राज्यले पूर्वाधारमा व्यापक लगानी गरिरहेको भनिरहँदा सार्वजनिक शौचालय, तत्काल ह्वील चेयर पाउने अवस्था छैन ।

अझ भनौँ, महिला सिट भन्दै किशोरीहरु सिटमा बसेका हुन्छन्, एक असहाय वृद्धको सिट प्याक हुन्छ, अरु यात्रुले नछोड्ने अवस्था देखिएको छ । असुरक्षित सार्वजनिक पेटी, सडक, सुरक्षाको व्यापक चुनौती, खाल्डैखाल्डा र हिलो, धुवाँ, धूलोको सडकमा ज्येष्ठ नागरिकहरुले आफूलाई असुरक्षित महसुस गरिरहेका छन् । विश्व स्वास्थ्य संगठनले नयाँ अवधारणाहरु ल्याएको छ तर हाम्रो जस्तो सबै नागरिकमैत्री पूर्वाधार नभएको सन्दर्भमा उसको नीति लागू हुन सकेको छैन ।

भारतको कोच्ची शहर बुढ्यौलीमैत्री छ, ६५ वर्षमाथिका लागि विशेष सक्रिय राख्ने कार्यहरु हुन्छन् । जापानको अकितामा बुढ्यौली परियोजना नै सञ्चालित छ । दक्षिण कोरियाले यातायात सहज बनाएको छ, सार्वजनिक स्थलहरु त्यस्तै प्लेटफर्महरुमा सहजै ह्वील चेयरहरु उपलब्ध हुन्छन् । वृद्धहरुका लागि भुटान पनि सुविधामा धेरै माथि छ, समुदायको व्यापक सहभागिता र सक्रियतामा ज्येष्ठ नागरिकहरुले आपूm सुरक्षित महसुस गर्छन् ।

वृद्धहरु बोझ होइनन् वृद्धविना शायद नवपुस्ताको उदय नै सम्भव थिएन । नयाँभन्दा पुरानाहरुमा निश्चय नै अनुभव बढी हुन्छ, सीप, परिश्रम, खारिएको ज्ञान सबै बढी हुन्छ । पुस्तान्तरणविना नयाँ एक्लै टिक्न सक्दैन, सक्यो भने क्षणिक हुन्छ । अस्ताउन लागेको घाम भन्दै पुरानालाई बेवास्ता गर्ने हाम्रो संस्कृति, धर्म, आचरण, व्यवहार पनि होइन । सन्ततिले अवहेलना गरे पनि मुद्दा लानेसम्मको परिवेश त पछिल्लो समयमा शुरु भएको छ, तर घर–परिवारमा मुद्दामामिलाको विषय आउनु राम्रो होइन ।

निश्चय नै सीप हस्तान्तरण जरुरी छ । आज हाम्रा पुर्खाले गरेको कृषि, व्यवसाय, घरेलु कुटिर उद्योग, लघु, साना परम्परागत स्थानीय कच्चा पदार्थ प्रयोग भई जीवनयापन हुन सक्ने सानातिना कुराहरु ओझेल पर्दै गएका छन् । भक्तपुरको तरकारी, त्यहाँको विशेष दही, ठिमीको सागपात, भक्तपुरकै सेरामिक उद्योग, पाटनको कलाकारिता, काष्ठकला, मूर्तिकला, धातुकलाका विषयहरु ओझेल पर्नु भनेको आत्मनिर्भरतामा गम्भीर असर हो ।

कुमालेहरुले माटाका भाँडा बनाएर स्थानीय ट्रेडमार्कमा आउने धेरै वस्तुहरु लोप भएको देखिएको छ । बाजा बजाउने, कपडा सिलाउने मात्रै होइन, खाना, लवाइ जे–जति थिए हाम्रा पुर्खाका ती सबै लोप हुने अवस्थामा छन् । पानीघट्ट हेर्न नपाइने, ढिकी, जाँतो, गोठ, गब्रेटो, आली, कान्ला, गोबर, गहुँत नजान्ने हाम्रा नयाँ पुस्ता भइसकेका छन् ।

हाम्रा केही नगरपालिकाहरुले बुढ्यौली समाज उत्थानका लागि केही कर्म गरेका छन् तर पर्याप्त छैन । मठ–मन्दिर घुमाउने क्रम चुनाव र बजेट कटौती भन्दै ओझेल परेको छ, जसबाट वृद्धहरु निरास हुने अवस्था छ । वृद्धहरुको घरदैलो सेवा भनी काठमाडौँ महानगरले केही प्रचारात्मक अभियान लिएको छ, तर सबै गएर स्रोतमै अड्किन्छ ।

सामान्य बिमा त्यसमा बिमितहरुले तिरिसकेको शुल्कमा त सुविधा कटौती गरिएको सन्दर्भमा यो अभियानले सार्थकता पाउला, यो आशा गर्ने ठाउँ कमै होला, किनकि हामीसँग दक्ष जनशक्ति नै पर्याप्त छैन, औजारहरु छैनन्, प्रयोगशालहरुको पर्याप्त सुविधा नै छैन, अस्पताल पुग्दा त लाइन धेरै समय बसेर निरास भई फर्कनुपरेको बेला घरमा आएर कसैले सेवा देला ? यो प्रचार मात्रैको विषयजस्तो लाग्छ । आवासहरु त्यस्तै छन् ।

बूढाबूढीहरु एकातिर थन्किने, नयाँ पुस्ताले हेर्न नभ्याउने, भ्याए पनि झन्झट मान्ने, सकेसम्म वृद्धाश्रम धकेल्ने, औषधि उपचार नै बोझिलो मान्ने, रकम कलम पनि नहुने, भए पनि पर्याप्त नहुने, आवश्यकता एकातिर अनि आपूर्ति अर्कैतिर भइरहेको अवस्था छ । वृद्धहरुलाई प्रविधिमैत्री वातावरण भए एक्लै पनि केही समयको गुजारा सम्भावित हुने हुन्थ्यो तर त्यो पनि नहुने, एक किसिमले घर वा कोठा नै कारावासजस्तो अवस्था पनि देखिएको छ ।

पाश्चात्य समाज धेरै अघि गइसकेको छ र पनि सेवा सामाजिक उत्तरदायित्वबाट पन्छिएको अवस्था छैन । तर हाम्रो समाज यसबाट केही विमुख भइरहेको महसुस हुन लागेको छ । निश्चय नै वृद्धहरु पूजापाठ, भक्तिगाथा, प्रहसन, भजन–कीर्तनमा बढी तल्लीन हुन चाहन्छन् भने आफूले पाएको ज्ञानको वितरणको परिवेश पनि चाहन्छन् ।

पहिलेका पुस्ताले राम्रो, मीठो, नैतिक, निष्ठाको सन्देश दिने खालका कथा, पौराणिक चर्चा–चिन्तन प्रस्तुत गरेर बालबालिकालाई नैतिकवान्, चरित्रवान्, इमानदार बनाउन प्रयत्न गर्थै । अब त्यो परिवेश पनि रहेन । उम्रदै तीनपाते भनेजस्तो अब बच्चालाई सानै उमेरमा लिटो खुवाउँदा पनि मोबाइल दिनुपर्ने अवस्था रहेको छ । धर्म, नीति, आचरणका विषयमा बालबालिकालाई सानै उमेरमा सिकाउनुपर्ने हुन्छ, जसलाई संस्कारगत व्रतमा बाँधिने व्रतबन्ध पनि अब आफूखुशी जथाभावी तवरबाट हुन लागेको छ, जनै वा मन्त्रसिद्धि करिब हराइसकेको छ ।

वृद्धमैत्री कोठा, भ¥याङ, शौचालय, भनेको स्थानमा भेटिने गरी पानी, औषधिमूलो, सन्तानको अभावमा हल्का तयारी खाना, संगीतको वातावरण अरु नभए पनि रेडियो, उपकरण, भान्छासम्म सहज पहुँच, झर्कोफर्कोविना सन्तान–आफन्तबाट खाना, अन्य सेवा दिसा–पिसाब, फोहोरमैला कपडाको व्यस्थापन, रातमा मीठो निद्रा हुने गरी रुमको परिवेश, कतै बाहिर जाँदा आफन्तको सहारा, लौरो वा एयरफोन वा चश्मा आदि व्यक्तिगत आवश्यक सबै किसिमका उपकरण आदिको प्रबन्ध जरुरी छ ।

मीठो बोलीले आयु बढाउँछ, मीठो मुस्कानले शरीरमा नयाँ ऊर्जा थप्छ, मायालु वातावरण र अतितका अनुभव साटासाटबाट धेरै राम्रो हुन्छ र त स्वस्थानीको कथा, महाभारत, रामायणका गाथा, कृष्णचरित्रहरु, कथा, कविता, प्रहसन, साहित्यिक परिवेश बुढ्यौलीलाई झन् बढी आवश्यक छ । यसले जीवनलाई जीवन्त बनाउँछ । वृद्धावस्थामा पति साथमा नहुने, पत्नी साथमा नहुने, पुत्रपुत्री साथमा नहुने अवस्थामा दिन नै कल्पसमान हुने हुँदा जेमा मन भुल्न सक्छ त्यो मनोविज्ञान बुझेर सन्तति वा अरुले आवश्ययक ध्यान दिन सक्नुपर्छ ।

स्थानीय सरकारले वृद्धमैत्री परियोजनाहरु ल्याउनुपर्छ । तिनको अभिलेख, तिनको उपचारको वातावरण, ह्वील चेयर, लौरो, एम्बुलेन्स, नजिक स्वास्थ्थ उपकरण–औषधि र कोही आफन्त नभए ती सबैको अभिभावकत्त्व स्थानीय वडा, सरकार प्रतिनिधि, सामाजिक अभियन्ता, अगुवाले गरिदिनुपर्छ । बदलामा के पाइन्छ भन्ने प्रश्न होइन । र त हाम्रो समाज धार्मिक भनियो, असहायको सहाय भनेको ईश्वर भनियो र अशक्त, असहायको सेवा नै, उपकार नै ठूलो धर्म हो भनियो । धर्ममा आश्रित हाम्रो समाज अचेल मौद्रिक भ्यालुतिर गइरहेको देखिन्छ, मुद्रा मात्रै सबै थरी नभएर माया पनि सम्पत्ति नै हो, बाँच्ने कला हो, जिउने कला हो ।

बुढ्यौलीमा डिजिटल साक्षरता आजको आवश्यता हो । नजिकै पुस्तकालय होस्, स्वर–संगीतका उपकरण हुन्, अनुभव साट्ने पर्याप्त वातावरण होस् । सीप हस्तान्तरण होस्, सूचना पहुँचको वातावरण होस्, जसबाट आपूm एक्लोपनको महसुस हुनुपर्दैन । योग, ध्यान गर्ने वातावरण होस्, सिक्ने–सिकाउने शिक्षक प्रशिक्षकहरु हुन्, अरु केही गर्न नसके पनि शरीर चलायमान राख्ने, हातखुट्टाहरु चलायमान गर्ने औँला, पैतालाका अकुप्रेसर, समयमा ओखती खाए÷नखाएको खबर, सूचना सम्झाउने परिवेश, दीर्घ रोगीहरुको हेरचाहको परिवेश सबै वातावरण अनुकूल हुन सकोस् ।

तब न मृत्युपूर्व नै स्वर्गको अनुभव अनुभूति हुन्छ । मरेर, डढेर स्वर्गको चाहना वा मरेपछिको क्षण आँसु वा तिनका नाममा गरिने अनेकानेक कर्म केवल देखावटी मात्रै हुन जान्छन्, परिवारले पर्याप्त स्वर्गीय वातावरण अहिले नै तय गरिदिनुपर्छ । किनकि अहिले तय गरिदिने त्यो परिवेशको परिवार भोलि उही अवस्थामा पुग्ने हो, ढिलो–चाँडो । यो केवल सामाजिक उत्तरदायित्व मात्रै नभएर श्रद्धाको बीजारोपण पनि हो ।

आपूmले जे गरेको छ, भविष्यमा सन्ततिले त्यही गर्छन् । केवल सम्पत्तिको लुछाचुँडीमा मात्र लाग्नुहुन्न, सम्पत्ति कसैको सँगै जाँदैन । अग्रजले बिहेवारी कमसेकम सकिदिएको छ र सन्तानलाई ऋणको बोझ पारेको छैन भने त्यो गतिलो पुर्खा वा अभिभावक भन्नुपर्ने हुन्छ । अहिलेको चुनावी माहोलमा दल वा उम्मेदवारले आफ्ना घोषणापत्र वा प्रतिबद्धतापत्रमा यी सबै कुरालाई समावेश गर्नु हपरिहार्य हो तर एकाधबाहेक बुढ्यौलीका हरेक कुरालाई समेट्न सकेको देखिँदैन ।