हनुमानढोका दरबार क्षेत्रमा होलीको चीर ठड्याइयो


काठमाडौँ ।

काठमाडौँको वसन्तपुरस्थित वसन्तपुर दरबार क्षेत्र मा मंगलबार बिहान होलीको चीर ठड्याइएको छ। रंगीविरंगी कपडाहरूको ध्वजापताकासहित ३२ फिट उचाइको तीन खण्डे गजुरजस्तो देखिने चीर ठड्याइएको हो।

चीर हनुमानढोका दरबार को दक्षिण पटाङ्गिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा ठड्याइएको हो। चीर ठड्याएपछि गुर्जुको पल्टनबाट हर्ष बढाइ गरिएको थियो।

चीर ठड्याइएसँगै काठमाडौँ उपत्यकासहित देशभर औपचारिक रूपमा होली पर्व सुरु भएको मानिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक समिति ले आज चीर ठड्याउन उत्तम साइत रहेको निर्णय गरेसँगै चीर ठड्याइएको हो।

पौराणिक मान्यताअनुसार होली पर्व वसन्त ऋतुको आगमनको खुसीयालीमा मनाइने गरिन्छ। धार्मिक कथाअनुसार हिरण्यकश्यपुले भगवान् विष्णुका भक्त आफ्नै छोरा प्रह्लादलाई मार्न बहिनी होलिकाको काखमा राखी आगो लगाएका थिए।

तर, आगोले होलिकालाई नै भस्म बनाएको र प्रह्लादलाई कुनै क्षति नपुगेको विश्वास गरिन्छ। यही घटनाको स्मरणमा होलिकाको दहन तथा अबिर–रङ खेली होली पर्व मनाउने परम्परा रहिआएको छ।