सरकारको निर्णयको पर्खाइमा शिक्षण संस्था

2.35k
Shares


काठमाडौं ।

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिन सरकारसमक्ष सिफारिस गरेसँगै आउँदो हप्ता शिक्षण संस्थाहरू लगातार एक साता बिदा हुने छन् । स्थानीय तहका शिक्षा विभाग, प्याब्सन, हिसानलगायत शिक्षण संस्थाले आगामी फागुन १७ गतेबाट बिदा दिने तयारी गरिरहेका छन् । सबै शिक्षण संस्थाले निर्वाचन आयोगको सिफारिस मन्त्रिपरिषद्बाट पारित भएलगत्तै निर्णय गर्नेछन् ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन यही फागुन २१ गते हुँदैछ । सो निर्वाचनलाई मध्यनजर गर्दै आयोगले फागुन २० गते बुधबारदेखि २२ गते शुक्रवारसम्म तीन दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको हो । आयोगको उक्त सिफारिस मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेमा तीन दिन औपचारिक रूपमा सार्वजनिक बिदा हुनेछ । १८ गते पहाड र १९ गते तराईमा होली परेकोले थप दुई दिन बिदा हुने सम्भावना छ । त्यसै गरी २३ गते शनिवार र २४ गते नारी दिवस परेकोले सबै बिदा मिलाउँदा विद्यालय एक साता बिदा हुने सम्भावना देखिएको हो ।

हिसानका अध्यक्ष युवराज शर्माले फागुन १७ गतेबाट हिसानअन्तर्गतका विद्यालय बिदा हुने सम्भावना रहेको जिकिर गर्दै भन्नुभयो–‘हामीले १७ देखि २४ गतेसम्म बिदा दिने तयारी गरेका छौं । उहाँका अनुसार आगामी १६ गते शनिवारसम्म कक्षा सञ्चालन हुनेछ, लगत्तै फागुन २४ गतेसम्म बिदा हुनेछ ।’

तर, प्याब्सनअन्तर्गत र सरकारी विद्यालय फागुन १८ गतेबाट मात्र बिदा हुनेछ । प्याब्सन महासचिव आरबी कट्वालले सरकारको निर्णयको पखाईमा रहेको जानकारी दिँदै भन्नुभयो– ‘निर्वाचन आयोगले २० देखि २२ सम्म बिदा दिने निर्णय गरेको छ । उक्त निर्णय सरकारले अनुमोदन गरेमा ३ दिन सरकारी बिदा हुनेछ भने १८ गते पहाड र १९ गते तराईमा होली परेकोले थप दुई दिन, २३ गते शनिवार र २४ गते नारी दिवस परेका कारण सबै बिदा जोडेर एक साता बिदा हुने सम्भावना छ ।’
पाँच दिनसम्म वडालाई बिदा दिने अधिकार रहेकोले एक दुई दिन बिदा दिने निर्णय वडाबाटै हुनसक्ने भएकोले करिब ७ दिन बिदा हुने जनाएको छ ।

ललितपुर महानगर शिक्षा शाखा प्रमुख देवीप्रसाद उपाध्यायले १९ गते एक दिन कार्यालय खुले पनि विद्यालय बन्द हुनसक्ने जानकारी दिँदै भन्नुभयो– ‘वडालाई अधिकार भएपछि उतैबाट निर्णय हुन सक्ने छ । निर्वाचनको तीन दिनअघि पहाड र दुई दिनअघि तराईको होली परेको छ । होलीको अवसरमा पहाडी जिल्लामा फागुन १८ गते सोमबार र तराई क्षेत्रमा फागुन १९ गते मंगलवार सार्वजनिक बिदा हुनेछ । त्यसको भोलिपल्ट अर्थात फागुन २० गतेदेखि निर्वाचन प्रयोजनका लागि तीन दिन बिदाको सिफारिस गरिएको हो ।

यसरी हेर्दा आयोगको सिफारिसअनुसार सरकारले निर्णय गरेमा फागुन १८ गते सोमबारदेखि फागुन २४ गते आइतबारसम्म लगातार सात दिन सार्वजनिक बिदा पर्नेछ । २५ गतेबाटमात्र कार्यालय खुल्नेछन् । शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलले सरकारले निर्णय गरेपछि निजी र स्थानीय तहले बिदाको निर्णय गर्ने बताउनुभयो ।

लगातार लामो बिदाले सरकारी सेवा, बैंकिङ क्षेत्र, शैक्षिक संस्था र निजी क्षेत्रका गतिविधिमा प्रभाव पार्ने सम्भावना छ भने आन्तरिक पर्यटन र आवतजावतमा चहलपहल बढ्ने अनुमान गरिएको छ ।