मन्त्री सिन्हाको सेटिङमा क्यानमा कर्णलाई महानिर्देशक बनाउन प्रपञ्च


प्रधानमन्त्री असन्तुष्ट

काठमाडौं ।

निर्वाचन नजिकिँदै गइरहेको अवस्थामा चारवटा मन्त्रालयको जिम्मेवारीमा रहनुभएका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री अनिल सिन्हाले नागरिक उड्ययन प्राधिकरण(क्यान)मा महानिर्देशक नियुक्त गर्ने प्रपञ्चमा लाग्नुभएको बताइएको छ ।
मन्त्री सिन्हाले सेटिङकै आधारमा क्यानका निमित्त महानिर्देशक देवचन्द्र लालकर्णलाई महानिर्देशक बनाउन मरिहत्ते गरेर लागेको स्रोतको दाबी छ ।

निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा कुनै पनि नियुक्ति गर्न पाइँदैन । तर, मन्त्री सिन्हाले निर्वाचन आयोगसँग समेत सेटिङ गरी सहमति लिएको जनाइएको छ । सिन्हाले आयोगसँग सहमति लिएर कर्णलाई क्यानको महानिर्देशक बनाउने गरी मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । आयोगका एक अधिकारीले क्यानमा महानिर्देशक नियुक्त गर्न सहमति दिइएको जानकारी पनि दिए ।

सिन्हाले पर्यटन मन्त्रालयको नेतृत्व सम्हालेको एक साता नहुँदै गत पुष ४ गते कर्णलाई आफैंले क्यानको निमित्त महानिर्देशकको जिम्मेवारी दिनुभएको थियो । कर्ण क्यानका १२ औं तहका कर्मचारी हुनुहुन्छ । कर्णका साथै प्रेमनाथ ठाकुर र जगन्नाथ निरौला पनि १२ औं तहकै कर्मचारी छन् । कर्ण र ठाकुर २०७८ साल पुष १६ गते १२ औं तहमा बढुवा भएका थिए भने निरौला २०७९ साल चैत्र १९ गते सो तहमा बढुवा भएका थिए ।

निर्वाचन भएपछि आउने सरकारले कर्णलाई महानिर्देशक बनाउने पक्का नभएकाले मन्त्री सिन्हाले जाँदाजाँदै आफू अनुकूलका कर्णलाई महानिर्देशक बनाउन खोज्नुले यस प्रकरणमा ठूलै चलखेल भएको हुन सक्ने स्रोतको दाबी छ । मन्त्री सिन्हाले यसअघि कर्णलाई निमित्त बनाउँदा पनि सबै अधिकार दिएर शक्तिशाली बनाउनुभएको थियो । ‘अहिले सबै जना निर्वाचनमा व्यस्त हुनुहुन्छ, महानिर्देशक नियुक्त गर्नुपर्ने आवश्यकता नै छैन, तर मन्त्रीज्यु कर्णलाई महानिर्देशक बनाउन किन मरिहत्ते गरेर लाग्नुभएको हो ? हामी अचम्ममा परेका छौं । ’पर्यटन मन्त्रालयका एक अधिकृतले नेपाल समाचारपत्रसँग भने ‘कर्णप्रति मन्त्रीज्यूको लगाव अलि बढि नै देखियो ।’

उता, प्रधानमन्त्री सुशीला कार्कीले पनि मुलुक निर्वाचनमा होमिएको र आचारसंहिताले सबैखाले नियुक्ति रोकेको अवस्थामा मन्त्री सिन्हाले क्यानमा महानिर्देशक नियुक्त गर्न प्रपञ्च गर्नुलाई सामान्य रूपमा नलिएको बताइएको छ । यस प्रकरणमा प्रधानमन्त्री कार्की मन्त्री सिन्हासँग सशंकित र असन्तुष्ट हुनुभएको स्रोतले जनाएको छ ।

क्यानमा प्रतिस्पर्धाका आधारमा महानिर्देशक छान्नुभन्दा मन्त्री सिन्हाले प्रतिस्पर्धाको बाटो बन्द गरेर एकाएक कर्णलाई नियुक्त गर्न खोजेपछि जेन–जी सरकारको सुशासनको नारामाथि समेत मन्त्री कर्णले चुनौती दिएको पाइएको छ ।

प्रधानमन्त्री कार्की सकेसम्म निर्वाचनअघि क्यानको महानिर्देशक नियुक्तिको पक्षमा हुनुहुन्न । उहाँले मन्त्री सिन्हाको सो प्रस्ताव रोक्न खोजे पनि मन्त्री सिन्हाले लगातार दबाब दिइरहेकाले उहाँको दबाबका अगाडि प्रधानमन्त्री कार्की नतमस्तक हुन सक्ने सम्भावना पनि रहेको मन्त्रालयका एक कर्मचारीले बताए । सिन्हाले महनिर्देशक बनाउन खोजेका कर्ण आर्थिक तथा प्राविधिक क्षमतालाई बेवास्ता गर्दै सौर्य एयरलाइन्सको एओसी माघ ४ गते फकुवा गरिदिएर विवादमा आउनुभएको थियो ।

काठमाडौंबाट पोखरा उडान गर्ने क्रममा २०८१ साल साउन ९ गते त्रिभुवन विमानस्थमा भएको जहाज दुर्घटनामा १८ जनाको निधन भएपछि क्यानले सौर्य एयरलाइन्सको एओसी निलम्बन गरेको थियो । भक्तपुरको नलिञ्चोकमा हेलिप्याड निर्माण गर्दा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएसँगै महानिर्देशक प्रदिप अधिकारी मंसिर १७ गते निलम्बनमा परेपछि क्यान महानिर्देशकविहीन हुन पुगेको थियो । अधिकारीको ४ वर्षे कार्यकाल भने माघ १८ गते सकिसकेको छ । यतिखेर सिंहदबारमा विभिन्नखाले गलत कार्यसमेत हुन थालेको र प्रधानमन्त्री कार्कीले त्यसलाई रोक्न खासै पहल गर्न नसकेको भन्दै प्रधानमन्त्रीको समेत आलोचना भइरहेको छ ।