काठमाडौ ।
मुलुकमा कहालीलाग्दा दुर्घटनाले नागरिकहरू लगातार अकाल मृत्युवरण गर्न बाध्य हुँदा पनि सरकारले दुर्घटना न्यूनीकरणमा खासै ध्यान दिन सकेको छैन ।
१९ जनाको मृत्यु र २५ जना घाइते भएको आइतबार रातीको सो दुर्घटनासँगै विगत १९ दिनको अन्तरमा भएको यो तेस्रो ठूलो दुर्घटना हो ।
१८ दिनको अन्तरमा यसअघि दुई ठूला दुर्घटना भएका छन् । २३ माघमा बैतडीमा यस्तै ठूलो दुर्घटना भएको थियो ।
पुर्चौडी नगरपालिका–७ भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा बस दुर्घटना भएको थियो । सुदूरपश्चिम प्रदेश ०२–००१ ख १११९ नम्बरको बस दुर्घटना हुँदा त्यतिबेला १३ जनाको मृत्यु भएको थियो । त्यसको चार दिनपछि रामेछापमा अर्को ठूलो दुर्घटना भयो । २७ माघमा काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस रामेछापस्थित तामाकोशी नदीमा खस्दा १२ जनाको मृत्यु भएको थियो ।
यस्ता ठूला दुर्घटना भएपछि सरकारले छानबिन समितिहरू बनाउने गरे पनि समितिका प्रतिवेदनमा दिएका सुझावको प्रभावकारी कार्यान्वयन हुन नसक्दा सडक दुर्घटना हुने र मानिसको मृत्यु हुने क्रम बढ्दो छ । प्रहरीका अनुसार नेपालमा सडक दुर्घटनामा परी दैनिक ७ जनाको मृत्यु हुने गरेका छ ।
सरकारले दुर्घटनाको केही दिनमा विशेष चासो राखे जसरी छानबिन समिति गठन गर्ने र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए पनि त्यसको उपलब्धि देखिन सकेको छैन ।
२८ असार २०८१ मा नारायणगढ–मुग्लिन सडकअन्तर्गत सिमलतालमा दुई वटा दुर्घटना भएपछि गृह मन्त्रालयले तत्कालीन सहसचिव छवि रिजालको संयोजकत्वमा समिति नै गठन गरेको थियो । समितिले प्रतिवेदन बुझाउँदै दुर्घटनाको कारण र आगामी दिनमा सुधार गर्नुपर्ने विषयहरू समेटेर सुझावसमेत दिएको थियो ।
तर, ती सुझावको कार्यान्वयन हुन नसक्दा दुर्घटना हुने क्रम बढेको हो । त्यतिबेला प्रतिवेदन सार्वजनिक हुँदा तत्कालीन गृहमन्त्री रमेश लेखकले समितिले दिएका सुझावहरू कार्यान्वयन गर्ने बताए पनि उहाँ कार्यान्वयन गर्न चुक्नुभएको थियो त्यसपछि बनेको सरकारले त यसतर्फ ध्यान नै दिन सकेको छैन ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढलेपछि सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो । तर, अहिलेसम्म यस्ता प्रतिवेदनहरू कार्यान्वय नहुँदा नागरिकले सडकमा ज्यान गुमाउने क्रम बढेको सरोकारवालाहरूको गुनासो छ ।
उद्धार कार्यमा पाँच घण्टा बिलम्ब
१९ जनाको मृत्यु, सबैको सनाखत
सीताराम अधिकारी, धादिङ ।
पृथ्वी राजमार्गअन्तर्गतको धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ५ भैँसेगौंडामा सोमवार १९ जनाको ज्यान जानेगरी भएको बस दुर्घटनामा च्यापिएका एक जनाको जीवितै उद्धार गर्न सफल भएको छ । उद्धारकर्मीहरूले दुर्घटनामा च्यापिएका ललितपुर जिल्ला इमाडोलका २७ वर्षीय कृष्णराज मानन्धरको दुर्घटना भएको पाँच घण्टामा उद्धार गर्न सफल भएका छन् ।
सोमवार बिहान सवा १ बजेतिर भएको दुर्घटनामा च्यापिएका मानन्धर ‘मलाई पनि बचाउनुस’् भनेर कराइरहनुभएको थियो । तर, उद्धारकर्मीहरूले घाइते धेरै भएको र बेहोस भएकाहरूको सुरुमा उद्धार गर्न क्रममा उद्धारकर्मीहरूले उहाँलाई तत्काल उद्धार गर्न सकेन ।
शव र घाइतेहरू निकालिँदै गरेको अवस्थामा मानन्धर भने बसको सिटमा च्यापिएको अवस्थामा कराइरहनु भएको थियो । दुर्घटनास्थल अप्ठेरो भएकोले तालिम प्राप्त टोलीले समेत घाइते निकाल्न सकिरहेको थिएन । पाँच घण्टापछि बल्ल उद्धारकर्मीहरू उहाँको उद्धार गर्न सफल भएका थिए ।
राजमार्गमा हुने दुर्घटनामा तत्काल उद्धार गर्न, राजमार्गमा अवरोध भए तत्काल खोल्न र उपचारको व्यवस्थासमेत मिलाउन सरकारले सुरक्षाकर्मी र सुरक्षा निकायलाई आदेश दिने गर्छ । तर, राजमार्गमा हुने साना दुर्घटनामा गरिने उद्धारभन्दा ठूला र अप्ठरो स्थानमा भएको दुर्घटनामा गरिने उद्धारमा सुरक्षाकर्मीले अप्ठेरो अवस्था भोगिरहेका छन् ।
सशस्त्र प्रहरी, नेपाल प्रहरी यस्ता उद्धार कार्यका लागि तालिम प्राप्त भए तापनि उद्धार सामग्री अभावले समयमै उद्धार हुन सक्ने अवस्था नभएको र घाइतेको ज्यानै जाने गरेको उद्धारमा संलग्नहरूको तितो अनुभव छ ।
दुर्घटना स्थलमा सबैभन्दा पहिला पुग्नुभएका उद्धारकर्मी राफ्टिङ गाइड अरुण थपलियाका अनुसार बस झरेको स्थान सडकबाट जान नसकिने अवस्थामा थियो । नदीको तलबाट बोट ल्याउन सकिएन । नदी पारी गएर घटनास्थलमा पुग्दा समय लागेको र उद्धार सामग्री पर्याप्त नहुँदा सबै यात्रु बचाउन कठिन भएको थियो । उहाँले भन्नुभयो–‘राजमार्गमा हुने दुर्घटनामा उद्धारका लागि तेजगतिको उज्यालो फ्लस लाइट, हाइड्रोलिक कटर, चेनपुलीलगायतका सामग्री नभएकोले यसपटकको दुर्घटनामा एकजना यात्रुलाई दुर्घटनाको पाँच घण्टामा बल्ल निकाल्न सकियो ।’
दुर्घटनाको केही समयमै घटनास्थलमा पुग्नु भएका स्थानीय बेनिघाट टोराङ गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कुमार बस्नेतले आफ्नै आँखैअगाडि धेरैजनाको मृत्यु भएको पहिलो पटक देखेको बताउनुभयो । भिरको मुनि त्रिशूली नदी किनारमा परेको बसबाट यात्रुलाई डुंगाको सहायताले उद्धार गरिएको थियो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रमुख सुमित खड्का, ससस्त्र प्रहरी बलको विपद व्यवस्थापन बेस आदमघाटका डीएसपी सुनिल गिरी, विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको गोताखोरसहितको टोली उद्धारमा संलग्न थियो ।
पोखराबाट काठमाडौं आउँदै गरेको माछापुच्छ«े टुर्स एन्ड ट्राभल्सको ग २ ख १४२१ नम्बरको यात्रुबहाक बस पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ५ भेँसेगौंडाबाट त्रिशूली नदीमा खस्दा १९ जना यात्रुले ज्यान गुमाए भने २५ जना यात्रु घाइते भएका थिए । मृतकमध्ये ४ महिला र १५ पुरुष छन् भने ३ जना विदेशी नागरिक परेका छन् ।
दुर्घटनामा परी मृत्यु हुनेहरूमा त्रिपुरासुन्दरी गाउँपालिका–४ धादिङका ३० वर्षीय इन्जिनियर ठकुरी, पोखरा महानगरपालिकाका–३ कास्कीका ४० वर्षीय विवेक बाँस्तोला, वालिङ– १४ स्याङ्जाका ६३ वर्षीय चन्द्रबहादुर कुँवर, व्यास नगरपालिका– ४ तनँहुका ४० वर्षीय ओमकुमार मल्ल, शुक्ला, गण्डकी गाउँपालिका–७ तनहुँका ५५ वर्षीय विष्णुमाया ढकाल, काठमाडौं महानगरपालिका– ६ बौद्ध टुसालका ४२ वर्षीय लोप्साङ गोले, भिमाद नगरपालिका– ६ तनहुँका ४५ वर्षीय हरिप्रसाद सिग्देल, तानसेन नगरपालिका– २ पाल्पाका ५५ वर्षीय नविन्द्र श्रेष्ठ रहेका छन् ।
त्यसै गरी, शुक्लागण्डकी गाउँपालिका– ७ तनहुँका ६३ वर्षीय रुद्रप्रसाद ढकाल, शुक्लागण्डकी गाउँपालिका–२ का २० वर्षीय अर्चना पौडेल, पोखरा महानगरपालिका– १४ कास्कीका २१ वर्षीय अञ्जली क्षेत्री, माछापुच्छ«े गाउँपालिका–३ कास्कीका २१ वर्षीय रोहित नेपाली, पुतलीबजार नगरपालिका–६ स्याङ्जाका ४५ वर्षीय धनश्याम सुवेदी, काठमाडौं महानगरपालिका– ३२ बुद्धनगरकी ३३ वर्षीय अनिशा महर्जन, उर्लाबारी–१ मोरङका २७ वर्षीय हिरा चौधरी, पोखरा महानगरपालिका–१९ का २६ वर्षीय सुजित नेपाली रहेका छन् ।
त्यसै गरी, दुर्घटनामा परी ज्यान गुमाउने तीन जना विदेशी नागरिकहरूमा २४ वर्षीय ब्रिटिस नागरिक स्टिवार्ट डोमिनिक इथान, उत्तर प्रदेश प्रान्त भारतका ३२ वर्षीय मनिष सुक्ला र चिनियाँ नागरिक ४० वर्षीय जियाङ चोनुम रहेको प्रहरी नायव उपरीक्षक दाहालले जानकारी दिए ।











प्रतिक्रिया