
रसुवा ।
रसुवा जिल्लाको साबिक हाकु गाविस हाल आमाछोदिङमो गाउँपालिका–३, हाकुबेसीमा रहेको भगवान् गणेशको मूर्ति र रेम्बोच्छेको जुत्ताको डोबका कारण सो क्षेत्र धार्मिक पर्यटकीय गन्तव्य स्थलको रुपमा चिनिन थालेको छ ।
हाकुबेसीका स्थानीय शिक्षक कार्बाे तामाङका अनुसार हाकुबेसीनजिकै ओडारमा लामाहरू गुफा बस्ने क्रममा मिङमार छोवाङ (खेवा लामा) ले यस ठाउँमा गुरु रेम्बोच्छेको जुत्ता र गणेशको मूर्ति रहेको सपना देखेछन् । भोलिपल्ट सपनामा भनिएअनुसार गएर हेर्दा हो रहेछ । स्थानीय भाषामा सोम्बो भनेको जुत्ता र चो भनेको ठाउँ हो । त्यही भएर जुत्ता र मूर्ति भएको ठाउँलाई सोम्बोचो भनिएको हो ।
धार्मिक हिसाबले यो ठाउँ महत्वपूर्ण रहेको छ । सत्ययुगमा यस ठाउँबाट रेम्बोच्छे हिँडेर जाने क्रममा विश्राम गर्दा जुता फुकालेर राखेको भनाइ छ । गणेशको मूर्तिचाहिँ रेम्बोच्छेले यहीँ छोडेर हिँडेको कथन छ । बाटो कता जाने भनेर पत्तो नपाउँदा उनले यहाँ विश्राम गरेको भनाइ छ ।
वडा नम्बर १ का वडा अध्यक्ष साङ लामा भन्छन्, ‘ठूलो हाकु र सानो हाकु १ नम्बर वडामा पर्छ । यो दुई ठाउँमा गरी ५ सय घरधुरी छन् । भिरालो जमिन भए पनि अन्न उब्जनी हुने ठाउँ हो यो । सत्ययुगमा भगवान्ले बास गरेको र हिँडेको ठाउँ भएकै कारण यहाँको बस्ती आजसम्म टिकेको छ ।’
भूकम्पका कारण यो ठाउँ बस्नयोग्य नभएको भूगर्भविदले बताए पनि यहाँका बासिन्दा सदियौं वर्ष बिताएकाले आफ्नो थातथलो चटक्कै छोड्न चाहँदैनन्, बरू यसै ठाउँलाई धार्मिक स्थलको रूपमा परिचित गराउन चाहन्छन् ।
आमाछोदिङमो गाउँपालिकाका प्रमुख बुचुङ तामाङ भन्छन्, ‘मेरो जन्मस्थान यहीँ भएकाले बुढेसकालसम्म यहीँ बिताउँछु । स्थानीय सरकारको हैसियतले पनि यहाँ केही गरेको छु । यहाँ थुप्रै धार्मिक स्थलहरू छन् । संस्कार रहे हामी रहन्छौँ, हामी रहे संस्कार रहन्छ, त्यसैले यस ठाउँको प्रचारमा लागिपरेको छु ।’ भिरालो जमिन भए पनि भगवान्को सतले गर्दा आजसम्म नराम्रो र अनिष्ट नभएको हाकुबेसी निवासी दावा तामाङको भनाइ छ ।











प्रतिक्रिया