सिन्धुली।
हिमालयन फुड कम्पनीमा कार्यरत कामदारबीच सोमबार बिहान झडप हुँदा ७ जना घाइते भएका छन्। निर्माणाधीन राँगाको मासु प्रशोधन उद्योग रहेको उक्त कम्पनी मरिण गाउँपालिका–४ साहानमा अवस्थित छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार आपसी विवादका क्रममा भएको झडपमा २ नेपाली र ५ चिनियाँ नागरिक कामदार घाइते भएका हुन्। मरिण गाउँपालिका–६ धमिलेका ३० वर्षीय नवराज बम्जनलाई कामबाट निकालिएको विषयलाई लिएर सुरु भएको विवादले उग्र रूप लिँदा झडप भएको प्रहरीले जनाएको छ।
झडपमा घाइते भएका नेपाली कामदारमध्ये नवराज बम्जनको दाहिने आँखामा र दाहिने खुट्टामा चोट लागेको छ। उनको अवस्था गम्भीर देखिएपछि थप उपचारका लागि जिल्ला अस्पताल सिन्धुली रिफर गरिएको छ। त्यस्तै उदयपुरको कटारी नगरपालिका–१२ का २२ वर्षीय गोकर्ण कटुवालको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।
चिनियाँ नागरिकतर्फ ३८ वर्षीय मिस्टर याङको कान र टाउकोमा चोट लागेको छ भने ४५ वर्षीय याङ हाइबोको बायाँ हातमा चोट लागेको छ। ४० वर्षीय छ्याङ छोङको छातीमा चोट लागेको छ भने ४६ वर्षीय चुजेनको टाउको र मुखमा चोट लागेको छ। ३१ वर्षीय लेउसेन्सीको टाउकोमा मध्यम चोट लागेको जनाइएको छ। उनीहरूको प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनापछि कम्पनी परिसर केही समय तनावपूर्ण बनेको भए पनि अहिले अवस्था नियन्त्रणमा आइसकेको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरीले जनाएको छ।











प्रतिक्रिया