वीरगञ्ज ।
वीरगञ्ज महानगरपालिका–११ श्रीपुर क्षेत्रमा गाडी पार्किङको विषयलाई लिएर दुई समुदायबीच आइतबार साँझ भएको झडपपछि अवस्था तनावग्रस्त बनेको छ। घटनापछि स्थानीय प्रशासनले सोमबार बिहान ९:४५ बजेदेखि वीरगञ्जका प्रभावित क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो।
आइतबार साँझ सामान्य विवादका रूपमा सुरु भएको भनिएको घटनाले उग्र रूप लिएपछि दुवै पक्षबीच ढुंगामुढा र हातहालाहाल भएको थियो। स्थिति नियन्त्रणबाहिर जान थालेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले लाठीचार्ज गर्दै भिड तितरबितर पारेका थिए।
सोमबार बिहानैदेखि पुनः नारा–जुलुस सुरु भई भीड जम्मा हुन थालेपछि सम्भावित अप्रिय घटना रोक्न कर्फ्यू जारी गरिएको पर्साका प्रहरी प्रमुख एसपी नरेशराज सुवेदीले जानकारी दिए। उनका अनुसार संवेदनशील क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति राखिएको छ।
प्रशासनले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन र अफवाहमा विश्वास नगर्न आग्रह गरेको छ। साथै सामाजिक सञ्जालमा भ्रामक सामग्री नफैलाउन चेतावनी दिँदै सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग अपिल गरिएको छ।
यसैबीच, नेपाली सेनालाई समेत स्ट्यान्डबाइ अवस्थामा राखिएको छ भने नेपाल प्रहरी र सशस्त्र प्रहरीका अतिरिक्त टोलीहरू विभिन्न चोक–चोकमा परिचालन गरिएको छ। प्रशासनले अवस्था सामान्य नहुँदासम्म कर्फ्यु जारी रहने जनाएको छ।











प्रतिक्रिया