नेपालको राजनीतिक इतिहासमा फेरि एउटा महत्त्वपूर्ण अध्याय थपिएको छ । हालै सम्पन्न जेन्जी पुस्ताको आन्दोलनपछि देशको साबिक प्रतिनिधिसभा विघटन भई नयाँ प्रतिनिधिसभाको निर्वाचनको सङ्घारमा उभिएको छ । निर्वाचनको मिति घोषणा भई उम्मेदवारी छनोटको कार्यसमेत सम्पन्न भइसकेको हुँदा राजनीतिक दलहरू पूर्ण उत्साह र रणनीतिका साथ चुनावी मैदानमा होमिएका छन् ।
चुनावी माहोलका लागि प्रचारप्रसारमा फेसबुक, टिकटक र युट्युबजस्ता सामाजिक सञ्जालहरूको व्यापक र आक्रामक प्रयोग भइरहेको छ ।
आजको डिजिटल युगमा सूचनाको पहुँच सहज भए तापनि गलत र भ्रामक सूचनाका कारण चुनाव चुनौतीपूर्ण र संवेदनशील मोडमा पुगेको छ । यी तत्त्वहरूले सामाजिक सद्भाव, राजनीति र व्यक्तिगत जीवनमा समेत ठूलो प्रभाव पारिरहेका छन् । आमजनता सही सूचना र सत्यताको कसीमा समाचारलाई जाँच्न असमर्थ भई दिग्भ्रमित भइरहेका छन् । अहिलेको समय सूचनाको अभावको होइन बरु सूचनाको अतिवृष्टिको हो, जहाँ सत्यभन्दा भ्रमको गति तीव्र छ ।
आजको डिजिटल युगमा सूचनाको पहुँच सहज भए तापनि गलत र भ्रामक सूचनाका कारण चुनाव चुनौतीपूर्ण र संवेदनशील मोडमा पुगेको छ । यी तत्त्वहरूले सामाजिक सद्भाव, राजनीति र व्यक्तिगत जीवनमा समेत ठूलो प्रभाव पारिरहेका छन् । आमजनता सही सूचना र सत्यताको कसीमा समाचारलाई जाँच्न असमर्थ भई दिग्भ्रमित भइरहेका छन् । अहिलेको समय सूचनाको अभावको होइन बरु सूचनाको अतिवृष्टिको हो, जहाँ सत्यभन्दा भ्रमको गति तीव्र छ ।
तत्कालीन सरकारले सामाजिक सञ्जाल नियमन गर्ने बहानामा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको भन्दै युवाहरूले वाक् स्वतन्त्रता, भ्रष्टाचार विरोध र सुशासनका लागि शुरु गरेको आन्दोलनले देशको राजनीतिक दिशा नै मोडिदियो । यो आन्दोलन नेपाली इतिहासमा एउटा दुःखद तर शक्तिशाली मोड बन्यो । दुर्भाग्यवश यस आन्दोलनका क्रममा ७६ जना नेपाली युवाहरूको अकालमा मृत्यु भयो । सिंहदरबार, संसद् भवन, अदालतजस्ता ऐतिहासिक धरोहरहरू आगजनीबाट खण्डहर बने । अर्बौंको सार्वजनिक र निजी सम्पत्ति खरानी भयो । आन्दोलनको मूल उद्देश्य चुनाव थियो वा थिएन भन्ने बहस आफ्नै ठाउँमा छ तर परिस्थितिले देशलाई छिट्टै चुनावी मैदानमा उभ्याइदिएको छ । यसले नेपाली राजनीतिमा युवाहरूको प्रभाव र प्रविधिको शक्तिलाई स्पष्टरूपमा झल्काएको छ । अर्कोतर्फ यस आन्दोलनमा विदेशी शक्तिहरूको सुनियोजित घुसपैठ र षडयन्त्र भएको आशंका पनि नभएको होइन ।
वर्तमान चुनावी परिवेशमा नेपाली समाज स्पष्टरूपमा दुई ध्रुवमा विभाजित देखिन्छ । एकातिर दशकौँदेखि राजनीतिमा सक्रिय पुरानो पुस्ता छ, जोसँग अनुभव र राजनीतिक संगठनको विरासत छ । अर्कोतिर परिवर्तनको तीव्र चाहना बोकेको नयाँ पुस्ता छ, जो पुरानो पद्धतिमा आमूल सुधार चाहन्छ । अहिलेको चुनावमा पुरानो र नयाँ पुस्ताबीच देशलाई आ–आफ्नो दिशातर्फ ध्रुवीकरण गर्ने प्रयास भइरहेको छ । विशेष गरी नयाँ पुस्तामा पुरानो पुस्ता अब काम लाग्दैन भन्ने एउटा बलियो भाष्य सामाजिक सञ्जालमार्फत फैलाइएको छ । देश विकास नहुनुको मुख्य कारण पुरानो पुस्ताको अक्षमता, स्वार्थ र यथास्थितिवाद नै हो भन्ने बुझाइ युवाहरूमा गहिरो गरी गढेको छ, जसलाई त्रि.वि. कर्मचारी संघका अध्यक्ष छत्रबहादुर कार्कीले सूचनाको महामारीले निम्त्याएको एक प्रकारको सामाजिक विभाजनका रुपमा लिनुपर्ने धारण राख्छन् ।
पुराना दलप्रति असन्तोषको जगमा उभिएर अहिले विभिन्न पेसा र व्यवसायमा आबद्ध डाक्टर, इन्जिनियर, पत्रकार र उद्यमी युवाहरू राजनीतिमा सक्रिय भएका छन् । तर यो उत्साहका बीच केही विडम्बनापूर्ण दृश्यहरू पनि देखिएका छन् । चुनाव निष्पक्ष गराउनका लागि गठित अन्तरिम सरकारका मन्त्रीहरू नै आफ्नो मूल जिम्मेवारी छोडेर चुनावमा उम्मेदवार बनेका छन् । सामाजिक सञ्जालमा यस्ता अवसरवादी उम्मेदवारहरूलाई बहिष्कार गर्नुपर्ने बहस पनि चलेको छ । यस सन्दर्भमा प्रधानमन्त्रीबाट कुनै गुनासो नरहेको तत्कालीन समयको बाध्यता भन्ने अभिव्यक्ति आइसकेको छ । तथापि पछिल्लो समय राजनीतिलाई जनसेवाभन्दा पनि एउटा सुरक्षित पेसाका रूपमा विकास गर्न खोजिएको त होइन ? भन्ने गम्भीर प्रश्न उब्जाएको छ ।
इतिहासको यो विशिष्ट मोडमा उभिएर हामीले के बिर्सनुहुँदैन भने, आजको पुस्ताले जुन भविष्य खोज्ने र प्रश्न गर्ने साहस पाएको छ त्यो अघिल्लो पुस्ताले ल्याएको संविधान, संघीयता, गणतन्त्र, लोकतन्त्रजस्ता संरचनागत परिवर्तनकै जगमा सम्भव भएको हो । नेपालको राजनीतिक चेतनाको इतिहास निकै लामो र कठिन संघर्षले भरिएको छ । राणा शासनविरुद्धको बलिदानी, प्रजातान्त्रिक क्रान्ति, जनमत संग्रह र ऐतिहासिक जनआन्दोलन हुँदै गणतन्त्र र संघीय संरचनासम्म आइपुग्दा नेपाली जनताले ठूलो राजनीतिक चेतना हासिल गरेका छन् । आजका नागरिकले आफ्ना अधिकार, मतको मूल्य र शासन प्रणाली कस्तो हुनुपर्छ भन्ने कुरा राम्ररी बुझेका छन् । तर विडम्बना के छ भने, यो राजनीतिक चेतना अझै पनि व्यवहारमा राजनीतिक संस्कारका रूपमा रूपान्तरण हुन सकेको छैन । चेतना हुनु र त्यो चेतनालाई विवेकपूर्ण मतदान तथा मर्यादित राजनीतिक व्यवहारमा उतार्नुबीचको खाडल नै आजको मुख्य चुनौती बनेको छ ।
सूचना प्रविधिको तीव्र विकासले चुनाव प्रचारलाई जति सहज बनाएको छ त्यति नै झुटो सूचनाले समाजलाई आतङ्कित पारेको छ । सामाजिक सञ्जालमा देखिएका सूचनाहरू सत्यता जाँच नगरी लहैलहैमा शेयर वा लाइक गर्दा मिस–इन्फर्मेसनको डढेलो फैलिएको छ । यस्ता सूचना फैलाउने व्यक्तिको नियत शुरुमा अरूलाई हानि पु¥याउनु नहुन सक्छ । अन्जानमा वा अरुले शेयर गरेको देखेर आफ्नो आस्था र विचारसँग मिल्ने कुरालाई सत्य ठानेर शेयर गरिरहेका हुन्छन् । तर यसले समाजमा भ्रमको जालो बुनिरहेको हुन्छ । त्योभन्दा पनि खतरनाक पक्ष भनेको अहिले ए–आई सूचना प्रविधिको दुरुपयोग गरी सिर्जना गरिएको झुटो विवरण अर्थात् डिस–इन्फर्मेसनको आतङ्क हो । कुनै उम्मेदवारले कुनै खास प्रसङ्गमा बोलेका कुरालाई आफू अनुकूल हुने गरी तोडमोड गरेर भिडियो सम्पादन गर्ने, पुराना भिडियो वा घटनालाई आजकै जस्तो गरी प्रस्तुत गर्ने र विपक्षी उम्मेदवारको चरित्र हत्या गर्ने सङ्गठित प्रयास भइरहेका छन् । लोकतन्त्रमा यस्ता सूचनाले जनमतमा ठूलो नकारात्मक प्रभाव पार्न सक्छन् । नेपालजस्तो बहुभाषिक र बहुसांस्कृतिक देशमा एउटा सानो भ्रामक भिडियो वा फेक न्युजले जातीय वा धार्मिक द्वन्द्व निम्त्याउन सक्छ । सामाजिक सञ्जालमा शेयर गरिने सम्पादन गरिएका भिडियो र फोटोहरूले मानिसमा उत्तेजना फैलाउने काम गरिरहेका छन् ।
लोकतन्त्रको मेरुदण्ड भनेको सुसूचित नागरिक र निष्पक्ष चुनाव हो । तर गलत सूचनाले मतदाताले सत्यतथ्यका आधारमा नभई झुटो प्रचारबाट दिग्भ्रमित भई निर्णय लिने खतरा बढ्छ, जसले वास्तविक जनमतको अपहरण नै गरिदिन्छ । जब मतदाताले झुटो सूचनाका आधारमा आफ्नो प्रतिनिधि छान्छन् तब लोकतन्त्रको मन्डेट नै दूषित हुन्छ । निर्वाचनका बेला राजनीतिक दल वा उम्मेदवारका विरुद्धमा नक्कली समाचार बनाउने चलन बढेको छ । यसले मतदातालाई सही निर्णय लिन बाधा पु¥याउँछ । अन्ततः लोकतन्त्रको जग कमजोर बनाउँछ र समाजलाई नै गलत दिशातर्फ ध्रुवीकरण गराउने खेल हुन सक्छ । उम्मेदवारका पुराना भिडियोहरूलाई सन्दर्भबाहिर काटेर नक्कली भिडियो र तस्वीर बनाई चरित्र हत्या गरेको पाइन्छ । विशेष गरी मौन अवधिमा सामाजिक सञ्जालमार्फत यस्ता झुटो हल्ला फैलाइन्छ, जसको खण्डन गर्ने समय विपक्षीसँग हुँदैन । यो डिजिटल दुपयोगको महामारी रोक्न अब बहुपक्षीय प्रयासको आवश्यकता छ । कुनै पनि सूचना शेयर गर्नुअघि आधिकारिक माध्यम वा फ्याक्ट–चेक गर्ने वेबसाइटहरूबाट तथ्य जाँच गरी त्यसको पुष्टि गर्नु अनिवार्य छ ।
नेपालका भ्रामक समाचारको तथ्य जाँच गर्न नेपाल चेक, टेकपाना फ्याक्ट चेकजस्ता पोर्टलहरू सक्रिय छन् भने विश्वभरका सूचनाका लागि गुगल फ्याक्ट चेक एक्सप्लोररजस्ता टुल्सहरुको सहयोग लिन सकिन्छ । यिनले एआईबाट सिर्जित भ्रामक सूचनाहरु पहिचान गर्ने विधिहरु पनि सिकाउँछन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चुरोट तान्दै गरेको फोटो होस् वा चन्द्रौटा महोत्सवमा ज्योति मगर नाच्दै गर्दा स्थानीयहरुले ढुङ्गामुढा गरेको तथ्यजाँचबाट भ्रामक भएको यी टुल्सहरुले दावी गरेका छन् ।
मतदाताहरू सूचनाको विश्वसनीयतामा सचेत हुनुपर्दछ । प्रायः भ्रामक समाचारका हेडलाइनहरू उत्तेजित पार्ने खालका हुन्छन् । त्यसैले हेडलाइनमा मात्र विश्वास नगरी समाचारको लेखक र आधिकारिक स्रोत खोज्नुपर्छ । यदि कुनै कुरामा अलिकति पनि शंका छ भने त्यसलाई आफ्नो टाइमलाइन वाल वा ग्रुपमा शेयर नगर्नु नै उत्तम हुन्छ । सूचनाको बाढी आउनु आफैँमा समस्या होइन बरु नागरिकमा सूचना साक्षरताको अभाव हुनु मुख्य चुनौती हो । तसर्थ प्रत्येक नागरिकले हरेक डिजिटल सूचनालाई सत्य, सान्दर्भिक र स्रोत खुलेको छ कि छैन भनी जाँच्ने संस्कार बसाल्नुपर्ने मत पुस्तकालयकर्मी लालबहादुर चौहानको रहेको छ ।
सरकार र नागरिक समाजले निर्वाचन केन्द्रित गाउँगाउँसम्म इन्टरनेटको सही प्रयोगबारे शिक्षा पु¥याउनुपर्छ । सामाजिक सञ्जालका कम्पनीहरूसँग समन्वय गरी निर्वाचन आचारसंहिता विपरीतका सामग्रीहरू तत्काल हटाउने संयन्त्र बनाउने र जानीजानी भ्रामक सूचनाबाट अफवाह फैलाउनेलाई साइबर कानुन र निर्वाचन कानुनअन्तर्गत कडा कानुनी दायरामा ल्याउने कार्यमा राज्यले ढिलाइ गर्नुहुँदैन । स्वच्छ निर्वाचनका लागि मतपेटिकाको सुरक्षा जति महत्त्वपूर्ण छ मतदाताको विवेकलाई भ्रमबाट जोगाउनु त्यति नै आवश्यक रहेको अधिवक्ता विदुर पौड्यालको बुझाइ छ ।
आन्दोलनको खरानीबाट नयाँ नेपाल बनाउने सपना देखिरहेका नेपालीका लागि यो चुनाव केवल संसद्का लागि प्रतिनिधि छान्ने माध्यम मात्र नभई सत्य र असत्यबीचको लडाइँ पनि हो । यदि हामीले डिजिटल भाइरसका रूपमा फैलिएको भ्रामक सूचनालाई परास्त गर्न सकेनौँ भने लोकतन्त्र केवल एउटा शब्दमा सीमित हुनेछ । सूचनाको यो विशाल बाढीमा साँचो र झुटो छुट्याउन सक्ने विवेक नै आजको समयको सबैभन्दा ठूलो शक्ति हो । कुनै सूचना तयार गर्दा वा शेयर गर्नुअघि एकपटक गम्भीर भएर सोचौँ– त्यो सूचनाले समाजमा कस्तो सन्देश प्रवाह गर्दैछ र यसले समाजलाई कुन दिशामा डो¥याउँदै छ ? हाम्रो सानो सचेतनाले समाजलाई मिस–इन्फर्मेसन र डिस–इन्फर्मेसनको चङ्गुलबाट जोगाउन सक्छ र लोकतन्त्रको वास्तविक मर्मलाई जीवन्त राख्न मद्दत पु¥याउँछ ।











प्रतिक्रिया