नेपालको लोकतन्त्र आज गम्भीर संकटमा छ भन्ने अनुभव हामी सबैको साझा चिन्तामा परिणत हुनुपर्छ । हरेक नागरिकको मतदान गर्ने अधिकार केवल कागजमा मात्र होइन, यो हाम्रो भविष्य निर्माण गर्ने, समाज सुधार गर्ने र हाम्रो आवाजलाई कानुनी मान्यता दिलाउने अधिकार हो तर अहिले देखा परेको अवस्था भन्नुपर्दा धेरै निर्वाचन क्षेत्रमा उम्मेदवारहरूले आफ्नो जिम्मेवारीबाट भाग्दै गइरहेको देखिन्छ ।
जनतालाई अन्धकारमा राख्ने प्रयास पनि धमाधम भइरहेको छ । मेरो विचारअनुसार, उम्मेदवारहरूले आफ्नो घोषणापत्र लुकाउनु स्वीकार्य छैन । नीति, योजना र प्रतिबद्धता सार्वजनिक गर्नु उनको नैतिक दायित्व हो । जब यी सूचना लुकाइन्छ, तब हाम्रो लोकतान्त्रिक अधिकारमाथि मात्र हमला हुँदैन, लोकतन्त्रको आत्मा नै मर्छ ।
म विश्वास गर्छु कि पारदर्शिता र उत्तरदायित्व लोकतन्त्रका मूल आधार हुन् । यसले जनविश्वासलाई कमजोर बनाउँछ र राजनीतिक प्रक्रियामा उदासीनता जन्माउँछ । हाम्रो मान्यतामा लोकतन्त्र तब मात्र जीवित रहन्छ, जब जनताले सजग, सशक्त र जागरुक नागरिकको रूपमा आफ्नो भूमिका निर्वाह गर्छन् र उम्मेदवारहरूले आफ्नो दायित्व निर्वाह गर्छन् । त्यही भएर पारदर्शी उम्मेदवार, जिम्मेवार नीति र खुला सूचनाले मात्र लोकतन्त्र सशक्त र जीवित रहन्छ ।
घोषणापत्रविना भोट माग्नु राजनीतिक ठगी :
घोषणापत्रविना भोट माग्नु लोकतन्त्रभन्दा पनि जनताको चेतना र विवेकमाथि आघात हो । मानवीय विचारधाराले व्यक्ति होइन, उसको सोच, नीति र समाजप्रतिको जिम्मेवारीलाई केन्द्रमा राख्छ । उम्मेदवारले जनताको जीवन कसरी सुधार्छ, अधिकार कसरी सुनिश्चित गर्छ र भविष्य कस्तो बनाउँछ ? भन्ने कुरा घोषणापत्रमार्फत स्पष्ट गर्नुपर्छ । घोषणापत्र नदिई भोट माग्नु भनेको मतदातालाई केवल साधनका रूपमा प्रयोग गर्नु हो, जुन मानवीय मूल्यको ठाडो उल्लङ्घन हो ।
यस्तो अभ्यासले जनतालाई निर्णय गर्ने अधिकारबाट वञ्चित गर्छ र लोकतन्त्रलाई खोक्रो बनाउँछ । मानवीय दृष्टिकोणले पारदर्शिता, जवाफदेहिता र नैतिकतालाई अनिवार्य ठान्छ । त्यसैले घोषणापत्रविना भोट माग्नु राजनीतिक बेइमानी मात्र होइन, मानव सम्मान र चेतनाको अपमान पनि हो । सचेत नागरिकले प्रश्न गर्नु, माग गर्नु र मूल्याङ्कन गर्नु नै मानवीय लोकतन्त्रको वास्तविक अभ्यास हो ।
लोकतन्त्र मूलतः कागजको शासन होइन, मानिसको चेतनाको शासन हो । जब नागरिकलाई सोच्ने, बुझ्ने र निर्णय गर्ने अधिकारबाट वञ्चित गरिन्छ, तब त्यो लोकतन्त्र होइन, केवल औपचारिक प्रक्रिया मात्र रहन्छ । आज लोकतन्त्र बन्दुकले होइन, मानिसको विवेकलाई अन्धकारमा राखेर मारिँदै छ । उम्मेदवारले घोषणापत्र लुकाउँदा केवल कागज होइन, नागरिकको जान्ने अधिकार पनि लुकाइन्छ । मानव विचारधाराले भन्छ– मानिस कुनै अनुहारको पछाडि अन्धो भएर हिँड्ने वस्तु होइन, ऊ प्रश्न गर्ने, तुलना गर्ने र सचेत निर्णय गर्ने चेतनशील प्राणी हो ।
घोषणापत्रविना मागिएको भोट भनेको मानिसलाई सोच्ने क्षमताबाट वञ्चित गर्नु हो । जुन मानवीय गरिमामाथिको प्रहार हो । चुनाव व्यक्तिको जयकार होइन, विचार र उत्तरदायित्वको प्रतिस्पर्धा हुनुपर्छ । जब नीति लुकाइन्छ, तब नैतिकता हराउँछ । जब जिम्मेवारी टारिन्छ, तब मानवअधिकार कमजोर हुन्छ । आज चुप लाग्नु भनेको भोलि आफूलाई नै मौन बनाउनु हो । त्यसैले मानवीय विचारधाराको स्पष्ट आवाज यही हो । मानिसलाई जानकारीविना निर्णय गर्न बाध्य पार्नु अमानवीय हो र घोषणापत्रविना भोट माग्नु लोकतन्त्र र मानव चेतना दुवैको अपमान हो ।
घोषणापत्रविहीन राजनीति :
मानवतावादी दृष्टिकोणबाट हेर्दा घोषणापत्रविहीन राजनीति लोकतन्त्र मात्र होइन, मानवीय गरिमामाथि पनि गम्भीर चुनौती हो । मानव विचारधाराले प्रत्येक नागरिकलाई सचेत, विवेकी र सम्मानित निर्णयकर्ता मान्छ । तर जब उम्मेदवारहरूले स्पष्ट नीति, योजना र प्रतिबद्धता नदिई केवल नाराको भरमा भोट माग्छन्, तब नागरिकको स्वतन्त्र सोच, विवेक र छनोट गर्ने अधिकार कमजोर बन्छ ।
यसले राजनीतिलाई मानवीय मूल्यबाट टाढा लैजान्छ र पारदर्शिता, उत्तरदायित्व र नैतिकताजस्ता लोकतान्त्रिक आधारभूत सिद्धान्तहरूलाई कमजोर पार्छ । घोषणापत्र भनेको जनताको जीवन, आवश्यकता र भविष्यप्रति उम्मेदवारको इमानदार प्रतिबद्धता हो । यसलाई बेवास्ता गर्नु भनेको केवल सत्ता प्राप्तिको प्रयास मात्र नभई नागरिकको सम्मान र लोकतन्त्रको आत्मामाथि प्रहार हो । मानव केन्द्रित लोकतन्त्रमा नागरिकको चेतना, अधिकार र जिम्मेवारीको संरक्षण अपरिहार्य छ । यसर्थ, घोषणापत्रविना चुनाव लड्नु मानव विचारधाराको मूल उद्देश्य सम्मान, न्याय र पारदर्शितालाई अस्वीकार गर्नुजस्तो हो ।
मतदाताको मौनता पनि अपराधसरह :
लोकतन्त्र केवल मतदाता र सरकारबीचको सम्बन्ध मात्र होइन, यो हरेक मानवको चेतना, नैतिक जिम्मेवारी र सक्रिय सहभागिताको प्रतिविम्ब हो । मानव अस्तित्व केवल व्यक्तिगत लाभ वा सुखमा सीमित छैन, हाम्रो जीवनले समाज र भविष्यसँग गहिरो सम्बन्ध राख्छ ।
जब हामी आफ्नो अधिकारलाई मौनता र निष्क्रियतामा पु¥याउँछौं, हामी केवल व्यक्तिगतरूपमा सीमित हुँदैनौं । हामी मानव समाजको न्याय, समानता र सामूहिक हितको विरुद्ध मौन प्रतिवाद गर्दै छौं । मानवको शक्ति र अस्तित्वले न्याय, समानता र सहअस्तित्वको संरचना निर्माण गर्न सक्छ । जब हामी मतदान र सामाजिक निर्णय प्रक्रियामा सक्रिय हुँदैनौं, तब अक्षम नेतृत्व, भ्रष्टाचार र अन्यायपूर्ण नीति निर्माणको बाटो खुल्छ ।
यसले मानव समाजमा विभाजन, असमानता र विकास अवरोधको अवस्था सिर्जना गर्छ । त्यसैले हरेक मानवको कर्तव्य केवल अधिकार प्रयोगमा सीमित छैन, यो सामाजिक उत्तरदायित्वमा पनि छ । मौन रहनु भनेको हाम्रो साझा भविष्यप्रति, समाजको न्यायप्रति र मानवताको मूल्य–मान्यताप्रति निष्क्रिय रहनु हो । केवल सक्रिय सहभागिताले मानव समाजलाई भ्रष्टाचार, असमानता र अन्यायबाट बचाउन सक्छ र लोकतन्त्रको वास्तविक शक्ति प्रकट हुन्छ ।
भोलि राजनीतिक दलहरूको असफलता हुन्न सक्ला ?
भोलिको दिनमा राजनीतिक दलहरू ठूलो असफलतामा पर्न सक्छन् भन्ने चेतावनी केवल राजनीतिक विश्लेषण मात्र होइन, मानववादी दृष्टिकोणबाट हेर्दा यो मानवीय मूल्यको संकटको संकेत हो । राजनीति सत्ताको खेल होइन, मानवको गरिमा, अधिकार र सम्भावनाको संरक्षण गर्ने माध्यम हो । तर आज जनतामा बढ्दो असन्तुष्टि, विश्वासको गहिरो संकट र राजनीतिक नैतिकताको पतनले दलहरू मानव केन्द्रित उद्देश्यबाट टाढिँदै गएको स्पष्ट देखिन्छ ।
मानववादी विचारधारामा जनता साधन होइन तर व्यवहारमा राजनीतिक दलहरूले जनताको पीडा सुन्ने भन्दा सत्ता जोगाउने रणनीतिलाई प्राथमिकता दिएका छन् । बेरोजगारी, महँगी, शिक्षा, स्वास्थ्य र सुशासनजस्ता मानवीय जीवनसँग प्रत्यक्ष जोडिएका मुद्दा उपेक्षित हुँदा राजनीति मानव सेवाबाट स्वार्थको संरचनामा रूपान्तरण भएको छ । यही रूपान्तरण मानव विचारधाराको मूल आत्मासँग ठाडो विरोध हो । मतदाताको मौनता, वैकल्पिक सोचको खोज र लोकतन्त्रप्रतिको वितृष्णा यही अमानवीय राजनीतिक अभ्यासको प्रतिफल हो । लोकतन्त्र बचाउन दलहरूले सत्ता होइन, मानव मूल्यलाई मूल आधार बनाउनै पर्छ । नत्र इतिहास तिनीहरूलाई असफल मात्र होइन, अमानवीय राजनीतिक अभ्यासको उदाहरणका रूपमा स्मरण गर्नेछ ।
‘नो म्यानिफेस्टो, नो भोट’ किन आवश्यक ?
लोकतन्त्र केवल भोट हाल्ने प्रक्रिया मात्र होइन, यो मानवको अधिकार, गरिमा र जीवन सुधार्ने क्षमताको संरक्षण गर्ने एउटा माध्यम हो । प्रत्येक नागरिकको मतदान अधिकार केवल कागजमा मात्र सीमित हुनुहुँदैन । यसले मानिसको आवाज कानुनी मान्यता पाउने, आफ्नो समाज सुधार्ने र व्यक्तिगत तथा सामूहिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने अवसर दिनुपर्छ । जब उम्मेदवारहरूले आफ्ना घोषणापत्र (म्यानिफेस्टो) लुकाउँछन् वा जनतासँग साझा गर्दैनन्, तबसम्म नागरिक आफ्नो विवेक र सोच–विचार प्रयोग गरेर निर्णय लिनबाट वञ्चित हुन्छ । घोषणापत्र मानव केन्द्रित दृष्टिकोणको स्पष्ट रूप हो ।
यसले उम्मेदवारको प्रतिबद्धता, योजना र जनकल्याणमा आधारित कदमलाई उजागर गर्छ । मतदातालाई आफ्नो अधिकार र विवेक प्रयोग गर्न, उम्मेदवारको वास्तविक क्षमता बुझ्न र अन्धाधुन्ध समर्थनबाट बच्न मद्दत गर्ने माध्यम यही हो । घोषणापत्रविना भोट माग्नु भनेको मानवको निर्णय क्षमता र विश्वासमा अन्याय गर्नु हो । मानववादी लोकतन्त्रको सार पारदर्शिता, उत्तरदायित्व र सचेत सहभागितामा निहित छ । उम्मेदवारले आफ्नो म्यानिफेस्टो सार्वजनिक नगरेको अवस्था भनेको मानवलाई अन्धकारमा राख्नु हो । नो म्यानिफेस्टो, नो भोट नीति मानिसको अधिकारलाई सशक्त बनाउने, उम्मेदवारलाई उत्तरदायी बनाउने र समाजमा सचेत, जिम्मेवार र मानव केन्द्रित नागरिकको विकास गर्ने उपाय हो । लोकतन्त्र बलियो तबमात्र हुन्छ, जब हरेक व्यक्ति आफ्नो निर्णयलाई सूचना, विवेक र मानव कल्याणको दृष्टिले गर्छ ।











प्रतिक्रिया