गगन थापाको बालेन्द्र शाहलाई प्रहार: ‘रुखमा झुन्ड्याएर होइन, योजनाले बन्छ सडक’


काठमाडौं ।

नेपाली कांग्रेसका सभापति गगन थापाले विकासको गति कसैलाई रुखमा झुन्ड्याएर नबढ्ने बताएका छन्। सर्लाहीमा आयोजित कार्यक्रममा उनले विकास सुधारका लागि कानुनी संरचनामा परिवर्तन आवश्यक रहेको बताए।

उनले समयमै काम नगर्ने ठेकेदारलाई रुखमा झुन्ड्याइदिने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सबैलाई तर्साएर मात्रै विकास सम्भव नहुने स्पष्ट पारे। देशलाई सुधार, सुशासन र विकास चाहिएको भए पनि त्यो लोकतान्त्रिक मूल्य र विधिको आधारमा हुनुपर्ने उनको भनाइ थियो।

यसअघि बालेन्द्र शाहले चुनावी सभामा समयमा काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने कडा अभिव्यक्ति दिएका थिए। त्यसको प्रतिवाद गर्दै थापाले गुणस्तरीय र छिटो काम गर्नेलाई ठेक्का दिने कानुनी व्यवस्था आवश्यक रहेको बताए।

उनले पूर्वाधार विकासमा अवरोध बनेका कानुन संशोधन नगरेसम्म काम समयमै सम्पन्न नहुने दाबी गरे।