काठमाडौं ।
अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रमा उडानकै क्रममा प्रयोग गर्न मिल्ने इन्टरनेट सेवामा नयाँ प्रविधिको प्रयोग तीव्र रूपमा बढ्दै गएको छ। पछिल्ला महिनाहरूमा कतारको राष्ट्रिय ध्वजावाहक हवाई सेवा प्रदायक कतार एयरलायन्सले आफ्ना विभिन्न लामो दूरीका विमानहरूमा Starlink आधारित उच्चगतिको उपग्रह इन्टरनेट सेवा विस्तार गर्दै यात्रु अनुभवलाई थप सहज बनाएको छ।
एयरलाइन्सले सन् २०२४ को अक्टोबरदेखि बोइङ ७७७ प्रकारका विमानहरूमा स्टारलिंक वाइफाइ सेवा सुरु गरेको थियो। त्यसयता इन्टरनेट जडान विस्तारको कार्यलाई तीव्रता दिँदै सन् २०२५ को डिसेम्बरसम्म एयरवस ए ३५० फ्लीटमा उक्त सेवा पूर्णरूपमा जडान गरिसकेको छ। हाल बोइङ ७८७ प्रकारका विमानहरूमा समेत स्टारलिंक जडान गर्ने कार्य जारी रहेको कम्पनीले जनाएको छ।
सन् २०२६ सम्म आइपुग्दा कतार एयरलायन्सका झण्डै १२० वटा फराकिलो शरीर भएका विमानहरूमा स्टारलिंक इन्टरनेट सेवा उपलब्ध भइसकेको छ। यस प्रविधिमार्फत यात्रुहरूले उडानको सम्पूर्ण अवधिभर नै इन्टरनेट प्रयोग गर्न सक्नेछन्। करिब ५०० मेगाबिट प्रति सेकेन्डसम्मको उच्च गतिको इन्टरनेट सुविधा उपलब्ध हुने भएकाले यात्रुहरूले उडानका क्रममा अनलाइन भिडियो हेर्ने, प्रत्यक्ष भिडियो कुराकानी गर्ने वा अनलाइन खेल खेल्ने जस्ता गतिविधि सहज रूपमा गर्न सक्नेछन्। स्टारलिंक जडान भएका विमानहरूमा सबै यात्रुका लागि निःशुल्क वाइफाइ सेवा प्रदान गरिएको छ।
यता टर्कीको राष्ट्रिय ध्वजावाहक हवाई सेवा प्रदायक टर्कीज एयरलायन्सले पनि आफ्ना विमानहरूमा इन्टरनेट सेवा स्तरोन्नति गर्ने योजना अघि बढाएको छ। हाल टर्कीज एयरलायन् का अधिकांश विमानहरूमा उडानकै क्रममा प्रयोग गर्न मिल्ने वाइफाइ सेवा उपलब्ध भए पनि स्टारलिंक प्रविधि व्यापक रूपमा जडान भइसकेको छैन।
कम्पनीले सन् २०२५ को अन्त्यसम्म आफ्ना सम्पूर्ण यात्रुका लागि निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने घोषणा गरेको छ। टर्कीज एयरलायन् ले नयाँ पुस्ताको उपग्रह इन्टरनेट प्रणालीमार्फत आफ्नो कनेक्टिभिटी सेवा विस्तार गर्ने तयारी गरिरहेको छ। भविष्यमा स्टारलिंक जस्ता प्रविधिको प्रयोग गर्ने सम्भावना रहेको जनाइए पनि हालसम्म यसको व्यापक कार्यान्वयन भइसकेको छैन। उड्डयन क्षेत्रमा इन्टरनेट सेवाको बढ्दो प्रयोगसँगै यात्रुहरूका लागि आकाशमै उच्चगतिको डिजिटल सुविधा उपलब्ध गराउने प्रतिस्पर्धा तीव्र बन्दै गएको देखिन्छ।











प्रतिक्रिया