
दोलखा । दोलखाको बोचमा उत्पादन हुने खुकुरी राजा त्रिभुवनले मन पराएको भन्ने किस्सा धेरैले भुलेको भए पनि स्थानीय अर्जुनबहादुर विश्वकर्मा र भीमसेन विश्वकर्माले भने अहिलेसम्म खुकुरी बनाउने पेसालाई नै निरन्तरता दिइरहेका छन् ।
भीमेश्वर नगरपालिका वडा नम्बर–८, बोचका स्थानीय अर्जुनबहादुर विश्वकर्माले भने, ‘हामीले बराजुको पालादेखिको खुकुरी बनाउने पेसालाई निरन्तरता दिइरहेका छौं तर अन्यत्र अहिले यो पेसा क्रमशः लोप हुँदै गएको छ ।’
आफ्ना बराजु सिंहे विश्वकर्माले बनाएको खुकुरी राजा त्रिभुवनले समेत मन पराएपछि नेपालभरि बोचको खुकुरी भनेर चर्चा भएको र त्यति बेला यो पेसा निकै फस्टाएको अर्जुनबहादुरको भनाइ छ । अर्जुनबहादुरले उति बेलाको किस्सा सुनाउँदै भने– ‘हाम्रा बराजु सिंहे विश्वकर्माले त्यो बेला खुकुरी बनाएर दरबार लगेका रहेछन् । दरबार लगिएको उक्त खुकुरीको धारमा पानीले भिजाएको रुमाल माथिबाट खसाउँदा दुई टुक्रा भएपछि राजा त्रिभुवनले हाम्रो खुकुरी मन पराएका थिए रे !’
अर्जुनबहादुरका बराजुले शुरु गरेको खुकुरी बनाउने पेसा उनको जिजुबाजे कमलवीर विश्वकर्मा, बाजे चतुर्मान विश्वकर्मा, बुबा छत्रलाल विश्वकर्मा हुँदै उनको पालासम्म निरन्तर चलिरहेको छ । बराजु, जिजुबाजे र बाजेको पालासम्म खुकुरी बनाउन रामेछापको ठोसेमा रहेको फलाम खानीकै फलाम प्रयोग हुने गरेको भए पनि बुबाको पालादेखि भने काठमाडौँबाट आउने फलाम प्रयोग हुन थालेको अर्जुनबहादुर बताउँछन् ।
‘अहिलेसम्म भाइ र गाउँका केही साथीहरुसँग मिलेर बराजुको पालादेखिको खुकुरी बनाउने पेसालाई निरन्तरता दिइरहेको छु’, अर्जुनबहादुरले भने– ‘नयाँ पुस्ताले यो पेसामा रुचि नदेखाएको र खुकुरीले बजारसमेत पाउन छोडेकोले अब भने यसले निरन्तरता पाउँदैन कि भन्ने शङ्का छ ।’
बुबा छत्रलालको पालासम्म बोचको खुकुरीको बजार निकै राम्रो रहेको अर्जुनबहादुर बताउँछन् । बुबाको पालसम्म गाउँका सबै मिलेर खुकुरी बनाउने र काठमाडौँमा एकपटकमा ५ सयवटासम्म खुकुरी बिक्री गर्न लाने गरेको उनी बताउँछन् । त्यो बेला खुकुरीको साइज हेरेर दुई रुपियाँसम्ममा बिक्री हुने गरेको र धेरै खुकुरी नेपाली सेनाले किन्ने गरेको उनको भनाइ छ ।
खुकुरी राम्रो हुन धार, दाप र बिँड राम्रो हुनुपर्ने अर्जुनबहादुरको भनाइ छ । यो सबै कुरा बोचको खुकुरीमा पाउन सकिने उनी स्वीकार्छन् । खुकुरीको दापको लागि पैयुँ, उत्तिस आदिको काठ प्रयोग हुने र बिँडको लागि गुराँस, सतिसाल, सिसौ आदिको काठ प्रयोग गर्नुपर्ने उनी बताउँछन् ।
आफूले भाइ भीमसेन र गाउँका केही साथीहरुसँग मिलेर अहिले पनि वर्षमा २–३ सयवटा खुकुरी उत्पादन तथा बिक्री वितरण गर्दै आएको अर्जुनबहादुरले बताए । अहिले उनले ठूलो खुकुरी एउटाको ६ हजारदेखि १० हजार रुपियाँसम्म र सानो खुकुरी २–३ हजारमा बिक्री गर्दै आएका छन् ।
स्थानीय कुमार लगुन बोचको खुकरी नेपालभरिमै निकै गुणस्तरीय मानिने भएकाले यसको संरक्षणको लागि सीप हस्तान्तरण र बजारीकरणमा विशेष गरी स्थानीय सरकारले ध्यान दिनुपर्ने बताउँछन् ।











प्रतिक्रिया