काठमाडौं
‘हाम्रो कौसी र करेसाबारी क्रान्ति’ नामक सामाजिक अभियान समूहले आज राजधानीमा आयोजना गरेको बीउबिजन साटासाट तथा वितरण कार्यक्रम उत्साह र अत्याधिक सहभागिताका साथ सम्पन्न भएको छ।
यो कार्यक्रम समूहका फेसबुक पेजमा सक्रिय १ लाख ६६ हजारभन्दा बढी सदस्य र देश तथा विदेशमा फैलिएका हजारौं समर्थकहरूको साझा प्रयासले सफल भएको हो। सोशल मिडियामा कार्यक्रमसम्बन्धी पोस्ट, फोटो, भिडियो र प्रतिकृयाले ठूलो प्रतिक्रियासहित साझा हुँदै यसले खेतीयोग्य जमिनको अभावमा सबै तरकारी किनेर खानुपर्ने अवस्थाको अन्त्य गर्दै सफलतापूर्वक कौशी खेतीलाई प्रवर्द्धन गरेको छ ।

गत केही वर्षदेखि फेसबुक समूहमा ‘पारिको होइन अब बारीको’ भन्ने नाराका साथ सदस्यहरू घरको कौसी र करेसाबारीमा जैविक तरकारी, फुल र फलफूल उत्पादन गर्ने, रोग–किरा नियन्त्रण र विषादीमुक्त खेतीका उपायहरू एकआपसमा साझा गर्दै आएका छन् । कार्यक्रममा एकमुष्ट रूपमा वितरण गरिएका बीउका पोका मुख्य आकर्षण बनेको थियो। ठूलो संख्यामा उपस्थित सदस्यहरूबीच अनुशासन, आपसी आदर र सहकार्यको भाव देखिएको थियो। कौसी तथा करेसाबारीसम्बन्धी गीत र उत्साहपूर्ण सहभागिताले कार्यक्रमलाई अझ उल्लासमय बनाएको सहभागीहरूले बताएका छन्।

आजको कार्यक्रममा स्व-प्रेरणाद्वारा धेरै सहभागीहरूले आफ्ना बीउ तथा बिरुवा ल्याएर बाँडफाँड गरे, जसले सहकार्यको नयाँ उदाहरण प्रस्तुत गरेको आयोजकहरूले बताएका छन्। समूहका एडमिन तथा मोडरेटरहरूले बीउको वैज्ञानिक छनोट, जैविक मल प्रयोग र मौसमसँग मिल्ने तरकारी रोपाइँका सुझावहरू फेसबुक लाइभ मार्फत देशभरका सदस्यहरूलाई प्रत्यक्ष जानकारी गराएका थिए। समूहकी सक्रिय सदस्य अञ्जु बास्तोलाले कार्यक्रमबारे जानकारी दिंदै समूहमा नियमित पोस्ट गरेर सक्रिय रहने साथीहरू, फेसबुकले प्रदान गरेको अंकको र कार्यक्रमप्रति देखाएको सक्रियताका आधारमा ११२ भन्दा बढीको नामावली तयार गरी सोहीअनुसार बिउबिजन बाँडिएको बताइन् । अर्का सक्रिय सदस्य नविन प्रधानले आफूहरूसँग भएको सीमित साधन र स्रोतहरूको अधिकतम उपयोग होस् भन्ने हेतुले यस्तो व्यवस्था गरिएको जिकिर गर्दै कसैको नाम छुटेको भए मन नदुखाउनु हुन आग्रह गरे ।

कार्यक्रममा अतिथिका रूपमा उपस्थित प्रकाश सायमी र रामचन्द्र मान सिंहले हरित अभियानले सहरमा वातावरणीय सन्तुलन र खाद्य आत्मनिर्भरता प्रवर्द्धनमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरे। यस अवसरमा अभियन्ता दुर्जय चेतनाको सोच र प्रयासको उच्च प्रशंसा गरिएको थियो। देशभरबाट सामाजिक सञ्जालमार्फत कार्यक्रमप्रति समर्थन र हौसला प्राप्त भएको आयोजकहरूले जनाएका छन्।











प्रतिक्रिया