पाकिस्तान सुपर एटमा पुग्ने अन्तिम टोली


काठमाडौं ।

पाकिस्तान जारी टी २० विश्वकपको सुपर एटमा पुग्ने अन्तिम टोली बनेको छ । बुधबार भएको आफ्नो अन्तिम खेलमा नामिबियालाई १ सय २ रनले हराउँदैं पाकिस्तानले सुपर एटको यात्रा तय गरेको हो । योसँगैं जारी टी २० विश्वकपमा पूर्व च्याम्पियन अस्टे«लियाबाहेक शीर्ष टोलीहरूले अर्को चरण खेल्ने भएका छन् ।

यसपटक टी २० विश्वकपमा अफगानिस्तान, नेपाल, आयरल्यान्ड जस्ता टोलीहरूले सोचे जस्तो राम्रो प्रदर्शन गर्न सकेनन् । दुबै टोली जितको नजिक पुगेर पनि खेल हार्न पुगेपछि निरासजनक नतिजा बेहोर्नु परेको थियो । अफगानिस्तानले दक्षिण अफ्रिकालाई हराउने मौका गुमायो भने नेपालले इंग्ल्यान्डलाई हराउने अवसर गुमाएको थियो ।

सुपर एटमा पुगेका आठ टोलीहरूलाई दुई समूहमा विभाजित गरिएको छ । पहिलो समूहमा भारत, जिम्बाब्वे, दक्षिण अफ्रिका र वेस्ट इन्डिजलाई राखिएको छ । यस्तै, दोस्रो समूहमा इंग्ल्यान्ड, पाकिस्तान, श्रीलंका र न्युजिल्यान्डलाई सामेल गरिएको छ । सुपर एटका खेलहरू आइतबारदेखि शुरु हुनेछ ।

जारी विश्वकपमा तेस्रो शतक
पाकिस्तानले पहिले ब्याटिङ गरेर ३ विकेटको क्षतिमा १ सय ९९ रन बनाउँदा साहिबजादा फरहानले शतक प्रहार गरे । उनी १ सय रनमा नटआउट रहेका थिए । यो जारी टी २० विश्वकपमा तेस्रो तथा समग्रमा १४ औं शतक हो । यसअघि श्रीलंकाका पथुम निसान्काले अस्टे«लियाविरुद्ध र युवराज सामराले न्युजिल्यान्डविरुद्ध शतक प्रहार गरेका थिए ।

शीर्ष ३ सर्वाधिक रनकर्ता
–टिम सीफर्ट (न्युजिल्यान्ड) १७३
–दीपेन्द्रसिंह ऐरी (नेपाल) १६९
–कुसल मेन्दिस (श्रीलंका) १६८

शीर्ष ३ सर्वाधिक विकेट लिएकाहरू
–शादली भान सालक्वीक (अमेरिका) १३
–माइकल लीस्क (स्कटल्यान्ड) ९
–लुन्गी नगीदी (दक्षिण अफ्रिका) ८