जीवाणुदेखि आधुनिक मानवसम्मको उद्विकास, ढुंगेयुगदेखि अहिलेको भौतिक–सामाजिक विकासको युग अति दिव्य उपलब्धि र प्रगति हुन् । तर मानिसको एउटा वर्ग भलै त्यो सानो किन नहोस्, निकै शक्तिशाली छ, विवेकहीनता र अहंताका कारण यत्रो प्रगति, यत्रो इतिहास जोगाउने भन्दा विपरीत प्रतिकूल व्यवहार गरिरहेको छ । त्यो वर्ग आणविक, रासायनिक, जैविक आदि अस्त्रशस्त्र उत्साहका साथ बनाउँछ । आफ्नो हैकम बढाउन त्यो हठी वर्गले सोच्दैन कि ती हतियारले पृथ्वी नै मसानघाट बनाउने क्षमता राख्छन् ।
कल्पना गरौं त, पृथ्वीमा मानव शून्यता भयो भने के हुन्छ ? एउटा विराट शून्यता ! मानिसले विभिन्न कालखण्डमा गरेका प्रगति, आविष्कार, सभ्यताको विकास विसर्जित हुनेछन् । करोडौं वर्षको अन्तरालमा भएको सृजना छोटो समयमा विलीन हुनेछ । धिक्कार हुुनेछ, बर्बाद हुनेछ ।
हठ, असमझदारी र असहिष्णुताको कारण विश्वमा धेरै कहाली लाग्दा युद्धहरु भए । धार्मिक, जातीय, साम्प्रदायिक, त्यसै गरी साम्राज्यवादी र उपनिवेशवादी युद्धहरुले गर्दा पृथ्वी नै युद्ध र पीडाको भुङ्ग्रोमा परेको थियो र परिरहेको पनि छ । बाँचौं र बाँच्न दिऊँ भन्नेजस्ता मानवीय मन्त्रहरुलाई मानवले उपेक्षा गर्दा, मानवता र विश्वबन्धुत्वको मानवीय भावनालाई निर्दयी, अहङ्कारी, हठी, असहिष्णु, असमझदार युद्धपिपासुहरुले निर्मम हलाल गर्दा पहिलो र दास्रो विश्वयुद्धजस्ता मानवताविरोधी कुकर्महरु भए ।
हिटलरलगायतका दानवहरुको नरभक्षी र रक्तपिपासु दृष्टिकोणबाट सृजित दोस्रो विश्वयुद्धमा ५ करोडभन्दा बढी मानिस अकालमा मारिनु मानवताको क्रुर हलाल थियो । मानवको मानवप्रतिको दयाका कोमल मूल्यलाई कठोर मुटुले थिचेर अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा आणविक बम खसाल्दा सवा ३ लाख निर्दोष मानिसहरु अनाहकमा निमेषभरमा नै मारिए । आहत र अंगभङ्ग त कति कति !
यी घटनाले मानवीय विवेक र चेतनालाई नराम्रोसँग गिज्याए । मानवको मनमा रहेको राक्षसी प्रवृत्ति यदि सक्रिय भयो भने कतिसम्म हिंस्रक र प्रलयकारी बन्न सक्छ भन्ने यथार्थ यी उदाहरणबाट देख्न सकिन्छ । अहिले विश्वमा थुप्रै युद्ध र अराजकताहरु फैलिइरहेका छन् । रसियाले युक्रेनमाथि हमला गरी हजारौं निर्दोष मानिस अनाहकमा मारिने अवस्था सृजना ग¥यो । अमेरिकाले भेनेजुएला, ग्रिनल्यान्डजस्ता देशहरुमा हस्तक्षेप गरी साम्राज्यवादी नमुना पेस गरिरहेको छ । इजरायल र हमासको निकै खतरनाक युद्धको घाउ अझै ताजा नै छ र भइरहेको छ ।
इरान हिंसाले ग्रस्त छ । भूअवस्था अनि भूराजनीति र प्रचुर प्राकृतिक स्रोतको खानी नेपाल पनि विस्तारवादी र अवसरवादीहरुको दमन वा हमलाको सिकार बन्ने प्रबल सम्भावना छ । नेपालमा प्रखर कूटनीतिक रणनीति अपनाइनुपर्छ र विवेक अपनाएर संयुक्त राष्ट्रसंघमा आफ्नो अडान राख्नुपर्छ ।
केही राजनीतिज्ञको दृष्टिकोण हुन्छ कि देशमा राजनीतिक परिवर्तन गर्न सशस्त्र युद्ध नै उत्तम तरिका हो । तर उनीहरु सोच्दैनन् कि युद्धको घातकपनले नाफाभन्दा घाटा बढी बनाउन सक्छ । भारतमा महात्मा गान्धीको अहिंसात्मक आन्दोलनबाट भएको विशाल परिवर्तनको यथार्थता र भावना केही मानिस मनन गर्दैनन् । सशस्त्र युद्ध निकै कहाली लाग्दो हुन्छ । युद्धसँग प्रत्यक्ष साक्षात्कार पाएका युद्धमा असंलग्न जनलाई भन्दा बढी अरुलाई यो के थाहा ? युद्ध गर्नेहरु त उम्लेको रगतका साथ मर्र्न वा मार्न तम्सन्छन् तर आम जनता बाँच्न चाहन्छन् र मार्न पनि चाहँदैनन् । रगत र आँसुको मूल्य हराउनु युद्धको आधारभूत विशेषता हो । युद्धमा पीडा, विध्वंस र नरसंहारको कालो साम्राज्य छाउँछ । मानवअधिकारलाई विशालु इन्जेक्सन दिएर अघोषित मृत्युदण्डको फैसलाले मारिन्छ ।
विगतका घटनाहरुबाट पाठ सिकेर, आफ्नो विवेक र विवेचना गर्ने क्षमताको सदुपयोग गरेर युद्धमुक्त, शान्त र समृद्ध विश्वको रचना गर्नु नै मानवको सबैभन्दा ठूलो जिम्मेवारी हो । सन्की हिटलरले दोस्रो विश्वयुद्ध निम्त्याएजस्तै अब अरु हिटलरहरुको उदय भयो भने तेस्रो विश्वयुद्ध पनि ननिम्तेला भन्न सकिन्न । जसको फलस्वरुप विश्वमा अति ठूलो प्रलय आउनेछ, जुन हाम्रो अबोध कल्पनाभन्दा बाहिरको हुनेछ ।
यदि तेस्रो विश्वयुद्ध भएमा चौथो विश्वयुद्धमा ढुंगाको हतियार प्रयोग हुनेछ भन्ने अल्बर्ट आइन्सटाइनको भनाइ अति गम्भीर छ । अहिले विश्वमा दोस्रो विश्वयुद्धताकाका भन्दा कैयौं गुणा घातक आणविक हतियारहरु संग्रहीत छन् । अहिले विश्वमा भइरहेको आणविक र अन्य खतरनाक हतियारको निर्माणको तेजिलो रफ्तारले असुरक्षित विश्वको प्रतिविम्ब झल्काइरहेको छ । यी संहारकारी हतियारहरु मान्छेको सनकलाई विध्वंशको शिखरसम्म पु¥याउने सिँढी हो ।
सोचौं त, यस्ता घातक हतियारहरु मानवीय मुटु र मस्तिष्कविहीन यान्त्रिक आतंकवादीहरुको हातमा प¥यो भने मानव समुदाय कति कहाली लाग्दो जोखिममा पर्नेछ । अहिले विश्वमानव जगत्मा सन्त्रासका तीरहरु प्रहार भइरहेका छन् । आणविक हतियारलाई मानव जगत्को अङ्गमा ट्रान्सप्लान्ट गर्ने कायर कालीगढहरु भविष्यको परिणाम सोच्ने हिम्मत गर्दैनन्, मात्र आफ्नो कला देखाउन व्यस्त छन् । यिनीहरुले मानव समुदायको दिगो शान्तिको अधिकार र अभिलाषामा आघात पु¥याइरहेका छन् ।
आणविक अस्त्र खतरनाक बाज हो भने सर्वसाधारण मानिस कुखुराका चल्लाजस्ता ।
विज्ञानले मानिसलाई दिनसम्म सुख, सुविधा र प्रगति दिए पनि आणविक हतियारजस्तो घातक र प्रलयकारी आविष्कार पनि दिएको छ । ओहो कति ठूलो विडम्बना ! चारो दिएर चरो छोपेजस्तो ! चन्द्रमामा पनि दाग हुन्छ भनेजस्तो आणविक हतियार विज्ञानमा कालो धब्बा हो । शान्तिकामी जनतालाई यही चिन्ता छ कि हाम्रो प्यारो मानव जगत्मा कतिखेर भयंकर प्रलय आउने हो । आणविक अस्त्र मानव सभ्यताको क्यान्सर हो । यसलाई सबै शक्ति मिलेर निर्मूल पार्नु नै पर्छ । मानव सभ्यता र भावी पुस्तालाई सुरक्षित बनाउने उत्तम उपाय यही हो ।
अहिले विश्वलाई शान्तिप्रेमी र दूरदर्शी महान् नेताहरुको खाँचो छ, जसले आणविक हतियार पृथ्वीलाई रुग्ण बनाउने कुटिल विष हो भन्ने तथ्य अन्तर्मनदेखि बुझ्छन् र जसले पृथ्वी बचाउने जिम्मेवारीबोध गर्दछन् । पृथ्वी निसास्सिइरहेको छ । पृथ्वीलाई यो सन्त्रासबाट मुक्ति दिन वा सुरक्षित बनाउनका लागि संयुक्त राष्ट्रसंघलगायत सबै शक्तिहरुको एकता, इमानदारिता र सहकार्यले सबै आणविक, रासायनिक र जैविक हतियारहरु नष्ट गरिनुपर्छ र पछि बन्न नदिनका लागि कडाभन्दा कडा अन्तर्राष्ट्रिय नियम र प्रभावकारी अनुगमन निकायहरु बनाइनुपर्छ ।
यी हतियारहरुबाट विश्वलाई मुक्त गराएपछि हुने मानव समुदायको कल्याण र अमनचयन नै सारा आणविक अस्त्र भएका देशहरुको साझा राजनीतिक केन्द्रविन्दु र धर्म बन्नुपर्छ । यही हो पृथ्वीको करुणामय पुकार र मानव सभ्यताको माग । हाम्रो साझा पृथ्वीलाई कसैको निकृष्ट अभिलाषा पूरा गर्नका निम्ति जोखिममा पार्नु घोर अपराध हो । विश्वशान्तिका लागि सबैले योगदान दिनु आजको अपरिहार्यता हो । विश्वशान्ति र अमनचयन नै मानव जगत्को वास्तविक केन्द्रविन्दु हो । यसका लागि नेपालले पनि संयुक्त राष्ट्रसंघमा जोडदार आवाज उठाउनु आवश्यक छ ।
मानव जगत्को एकमात्र धर्म भनेको मानवता हुनुपर्छ । अरुको अमनचयन र प्रगतिमा हस्तक्षेप गर्नु भनेको मानवता विरोधी कुकर्म हो । आफ्नो बर्कतले भ्याएसम्म अरुलाई वैधानिक रुपमा प्रगति गर्न दिइनुपर्छ । अरुको स्वतन्त्रता, स्वाभिमान र सार्वभौमिकतामा हस्तक्षेप गरिनुहुन्न । अरुको अस्तित्वमाथि धावा बोल्नु अराजकता र अन्याय कर्म हो । अरुको डाहा, रिस र अरुप्रति मिथ्या क्रोध प्रकट गर्नु वास्तवमा अमानवीय कार्य हो । अरु देशमाथि हमला गरेर विध्वंस निम्त्याउनु वास्तवमा अति कुटिलता हो । कुनै पनि सार्वभौम राष्ट्रका जनतालाई हतियारको बलमा वशमा ल्याउन कोशिश गर्नु अन्तर्राष्ट्रिय अपराध हो । अरुलाई दुःख र पीडा दिएर रमाउनु घोर अपराध हो । विश्वशान्ति सिर्जना गर्नु नै हरेक नेतृत्वगणको मानवीय धर्म हो ।











प्रतिक्रिया