ओस्कार विजेता दिग्गज हलिउड अभिनेता रोबर्ट डुभालको ९५ वर्षको उमेरमा निधन भएको छ।
मंगलवार उनकी पत्नी ल्ुसियाना डुभालले सामाजिक सञ्जालमार्फत उनको निधनको खवर सार्वजनिक गर्दै प्रत्येक भूमिकामा रोबर्टले आफ्ना पात्र र तिनले प्रतिनिधित्व गर्ने मानवीय भावनाको सत्यताप्रति पूर्ण समर्पण गरेको उल्लेख गरेकी छन्।
हलिउडका महान् कलाकारमध्ये एक मानिने डुभाल विशेषगरी फिल्म द गड फादरमा कोर्लियोन माफिया परिवारका सल्लाहकार टम हेगन तथा फिल्म अपोकलिप्स नाउमा लेफ्टिनेन्ट कर्नेल बिल किलगोरको भूमिकाका लागि प्रसिद्ध थिए। जसमा उनले बोलेको संवाद ‘म बिहान नेपामको गन्ध मन पराउ“छु’ अत्यन्त चर्चित बनेको थियो। फिल्म टेन्डर मर्सीजका लागि उनले उत्कृष्ट अभिनेताको ओस्कार अवार्ड जितेका थिए।
करिअरभरि थप ६ पटक ओस्कारमा मनोनयनसमेत प्राप्त गरेका थिए। अमेरिकाको मेरिल्याण्डस्थित एनापोलिसमा हुर्किएका उनले इलिनोइसको प्रिन्सिपिया कलेजबाट अध्ययन पूरा गरेपछि अमेरिकी सेनामा सेवा गरेका थिए। त्यसपछि न्यूयोर्कमा संघर्षरत कलाकारका रूपमा अभिनय यात्रा अघि बढाएका थिए।
आफ्नो लामो करिअरमा द गडफादर, एपोकोलिप्स नाउ, टेन्डर मर्सीज, द अपोस्टल, द ग्रेट सान्टिनी, स्टालिन टु किल अ मोकिङबर्डलगायत झण्डै एक सय फिल्ममा अभिनय गरेका उनले पछि स्वयं लेखन तथा निर्देशनमा समेत हात हालेका थिए। उनको निधनपछि हलिउडका धेरै कलाकारले श्रद्धाञ्जली व्यक्त गरेका छन्।











प्रतिक्रिया