एलेक्स होनोल्डको डर नभएको मस्तिष्क, खाली हात १०१ तल्ला चढ्ने साहसी

0
Shares

ताइवानको राजधानी ताइपेईको गगनचुम्बी भवन ‘ताइपेई १०१’ को काँच र स्टिलको चिप्लो भित्तामा झुन्डिएको त्यो मानव देख्दा लाग्थ्यो, त्यो कुनै चलचित्रको छायाँकन हो । तर, त्यो कुनै पर्दाको अभिनय थिएन । करिब ५०८ मिटर अग्लो र १०१ तल्लाको त्यो विशाल संरचना, जुन ताइवानको आर्थिक शक्ति र राष्ट्रिय गौरवको प्रतीक हो, त्यहाँ ४० वर्षीय अमेरिकी व्यावसायिक रक क्लाइम्बर एलेक्स होनोल्डले एउटा अकल्पनीय कीर्तिमान रचिरहेका थिए । न त उनको शरीरमा कुनै सुरक्षा डोरी, उपकरण थियो, न त कम्मरमा कुनै हार्नेस । २०२६ जनवरी २५ का दिन गरिएको त्यो ‘अर्बन क्लाइम्ब’ ले मानिसको शारीरिक क्षमतालाई मात्र चुनौती दिएको थिएन, मानव मस्तिष्कको त्यो तहको नियन्त्रणलाई समेत उजागर गरिदियो । जुन सामान्य मानिसका लागि सपना जस्तै हो ।

नेटफ्ल्क्सिले ‘स्काईस्क्रापर लाइभ’ मार्फत विश्वभरका करोडौँ दर्शकका मुटुको ढुकढुकी बढाउँदै त्यो दृश्य प्रत्यक्ष प्रसारण गरेको थियो । जहाँ होनोल्डले १ घण्टा ३१ मिनेटमा छतमा उक्लेर आफ्ना हातहरू विजयको मुद्रामा हावामा हल्लाएका थिए । त्यो कार्य केवल एउटा साहसिक कसरत मात्र थिएन, त्यो त मानव मस्तिष्कको जटिल कार्यप्रणाली र डरमाथिको पूर्ण विजयको एउटा जीवित प्रयोगशाला थियो । अमेरिकाको योसेमिटी राष्ट्रिय निकुञ्जमा रहेको ‘एल क्यापिटान’ जस्ता विशाल प्राकृतिक चट्टानहरूमा आफ्नो निडरता प्रमाणित गरिसकेका होनोल्डका लागि ‘ताइपेई १०१’ को कृत्रिम संरचना अर्को एउटा कठोर परीक्षा थियो । समुद्री हावाको तीव्र वेग र अनिश्चित मौसमका कारण निर्धारित समयभन्दा एक दिन ढिला सुरु भएको त्यो कार्य गर्ने क्रममा प्राविधिकहरूले प्रत्यक्ष प्रसारणमा केही सेकेन्डको ‘डिले’ राखेका थिए । त्यो सचेतना सम्भावित कुनै अप्रिय घटनालाई संसारसामु तत्काल रोक्नका लागि थियो । तर, होनोल्डको सटिक चाल र स्थिर स्वभावले कुनै पनि मानवीय वा प्राविधिक अवरोधले ठाउँ पाएन ।

होनोल्डको त्यो अद्भुत निडरताको पछाडि लुकेको जैविक रहस्य पत्ता लगाउन सन् २०१६ मा न्युरोवैज्ञानिक जेन जोसेफले उनको मस्तिष्कको ‘फङ्सनल म्याग्नेटिक रेजोनेन्स इमेजिङ’ (एफएमआरआई) स्क्यान गरेकी थिइन् । उक्त अनुसन्धानको नतिजाले चिकित्सा विज्ञानलाई नै चकित तुल्यायो । सामान्यतया, मानिसलाई डर वा तनाव हुने खालका दृश्य देखाउँदा मस्तिष्कको ‘अमिग्डाला’ भनिने भाग, जसलाई मस्तिष्कको ‘डर केन्द्र’ पनि भनिन्छ, तत्काल सक्रिय हुन्छ । तर, होनोल्डको मस्तिष्कको स्क्यानमा अमिग्डाला पूर्णतः शान्त देखियो । जहाँ अरू मानिसको डर केन्द्र खतराको संकेत पाउनेबित्तिकै झिलिमिली बल्ने ‘क्रिसमस ट्री’ जस्तै सक्रिय हुन्थ्यो, होनोल्डको मस्तिष्कमा भने कुनै हलचल देखिएन । होनोल्डले स्वयं स्वीकारेका छन्, “मृत्युको नजिक पुग्दा पनि मेरो मस्तिष्कले खासै ठूलो प्रतिक्रिया दिँदैन ।” यसले के पुष्टि गर्छ भने उनको मस्तिष्कको जैविक बनावट नै औसत मानिसभन्दा फरक छ, जसले उनलाई मृत्युको जोखिममा पनि विचलित हुन दिँदैन ।

मस्तिष्क विज्ञ डा.डेनियल एमेनका अनुसार, होनोल्ड जस्ता ‘एड्रेनालिन जन्की’ हरूको मस्तिष्कको ‘प्रिफ्रन्टल कर्टेक्स’ को सक्रियता औसत मानिसको तुलनामा निकै कम हुन्छ । यो त्यो भाग हो जसले डर नियन्त्रण, आवेग र जोखिमको मूल्याङ्कन गर्छ । यस्ता व्यक्तिहरूलाई सामान्य महसुस गर्नका लागि पनि अत्यन्तै उच्चस्तरको उत्तेजना वा चुनौतीको आवश्यकता पर्दछ । उनीहरूको मस्तिष्कमा रहेको ‘डोपामाइन मार्ग’ अर्थात् ‘रिवार्ड सर्किट’ यति बलियो हुन्छ कि उनीहरूका लागि खतरनाक मानिने कार्यहरू नै सामान्य जैविक अवस्था बन्न पुग्छन् । डा.एमेनले झन्डै ३ लाख मस्तिष्क स्क्यानको विश्लेषण गर्दै बताएका छन् कि होनोल्ड जस्ता ‘एलिट’ एथ्लीटहरूमा ‘टप–डाउन कन्ट्रोल’ असाधारण हुन्छ । यसको अर्थ, चरम तनावको स्थितिमा पनि उनीहरूको मस्तिष्कले भावनालाई पूर्ण नियन्त्रणमा राख्दै केवल कार्यसम्पादनमा मात्र ध्यान केन्द्रित गर्न सक्छ ।

औसत मानिसको मस्तिष्कमा खतराको संकेत मिल्नेबित्तिकै डरका सर्किटहरू छिटो र चर्को गरी सक्रिय हुन्छन्, जसले मानिसलाई अत्तालिने वा हातगोडा काँप्ने अवस्थामा पु¥याउँछ । तर, होनोल्डको हकमा डरले उनको ध्यानलाई झन् तीखो र एकाग्र बनाउँछ । उनको दृष्टि, शारीरिक सन्तुलन र मांसपेशीहरूको तालमेल यति सटिक हुन्छ कि उनी ‘फ्लो–स्टेट’ मा प्रवेश गर्छन्, जहाँ समय, स्थान र डरको कुनै अस्तित्व रहँदैन । यो यस्तो मानसिक अवस्था हो जहाँ मस्तिष्कले सुरक्षाभन्दा पनि चुनौती र नयाँपनमा एउटा छुट्टै किसिमको सङ्गठन र आनन्द भेट्टाउँछ । ‘ताइपेई १०१’ जस्तो रणनीतिक र आर्थिक महत्वको भवनमा गरिएको त्यो आरोहणले ताइवानलाई फेरि एकपटक विश्व समाचारको हेडलाइनमा पु¥याएको छ । सन् २००४ देखि २०१० सम्म संसारकै सबैभन्दा अग्लो भवनको कीर्तिमान राखेको यो संरचनामा होनोल्डको पाइला पर्नु आफैँमा एउटा ऐतिहासिक परिघटना हो । कतिपयले यसलाई ‘अनावश्यक जोखिम’ भन्दै आलोचना गरे पनि यसले मानव दृढ इच्छाशक्ति र एकाग्रताको उच्चतम पराकाष्ठा प्रस्तुत गरेको छ । होनोल्डको त्यो यात्राले के दर्शाउँछ भने मानिसको वास्तविक शक्ति उसको मांसपेशीमा मात्र होइन, चरम संकटका बेला मस्तिष्कलाई शान्त र व्यवस्थित राख्न सक्ने अद्भुत क्षमतामा लुकेको हुन्छ । जहाँ औसत मानिस सुरक्षा र बचावटको बाटो खोज्छ, त्यहाँ होनोल्ड जस्ताको मस्तिष्कले असम्भवको पर्खालमा सम्भवको बाटो कोर्छ ।