पर्वतको मोति सामुदायिक पुस्तकालयमा ट्याग कार्यक्रम


पर्वत ।

मोति सामुदायिक पुस्तकालय, फलेबासमा सञ्चालित ‘टेक एज गल्र्स’ (ट्याग) कार्यक्रमको चौथो चरणक शुरु भएको छ । उक्त कार्यक्रम रिड नेपालको सहयोग तथा पुस्तकालयको व्यवस्थापनमा सञ्चालन हुँदै आएको छ ।

कार्यक्रमले छात्राहरूलाई डिजिटल साक्षरता, नेतृत्व क्षमता र सीप विकासमार्फत प्रविधि क्षेत्रमा सक्षम र आदर्श व्यक्तित्वका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ । कार्यक्रमअन्तर्गत प्रविधि तथा नेतृत्व तालिम प्रदान गरिनुका साथै १८ सयभन्दा बढीलाई क्यास्केड तालिम सञ्चालन गरिनेछ ।

पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष हरि प्रसाद शर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा फलेबास नगरपालिकाका नगर प्रमुख गंगाधर तिवारीको प्रमुख आथित्यतामा भएको थियो ।

कार्यक्रममा रिड नेपालका ट्याग कार्यक्रम संयोजक भाग्यश्री बिष्ट सहभागी हुनुभएको थियो । कार्यक्रममा संयोजक बिष्टले ट्याग कार्यक्रमको उद्देश्य, कार्ययोजना र अपेक्षित प्रभावबारे जानकारी दिँदै १५ महिनासम्म सञ्चालन हुने यस परियोजनाको कुल लागत १२ लाख २२ हजार ३०० रहेको बताउनुभयो।

उक्त लागतको ५० प्रतिशत रिड नेपाल र बाँकी ५० प्रतिशत समुदायको साझेदारीमा व्यवस्थापन गरिनेछ । यसका लागि पुस्तकालयले नगरपालिकासँग आवश्यक सहयोगको अनुरोध गरेको जनाएको छ।

त्यस्तै नगर प्रमुख तिवारीले शिक्षा तथा पठन संस्कृतिको विकासमा नगरपालिकाको तर्फबाट आवश्यक सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै परियोजना सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

सम्झौतापत्रमा रिड नेपालका कन्ट्री डाइरेक्टर अर्जुन महर्जन र चिनकाजी श्रेष्ठ तथा पुस्तकालयको तर्फबाट अध्यक्ष हरि प्रसाद शर्मा, नगर प्रमुख गंगाधर तिवारीले हस्ताक्षर गर्नुभएको थियो।

कार्यक्रममा संस्थापक अध्यक्ष भोलानाथ शर्माले परियोजनाले समुदायमा पार्ने सकारात्मक प्रभावबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सञ्चालन वरिष्ठ लाइब्रेरियन इन्द्रप्रसाद सापकोटाले गर्नुभएको थियो ।

त्यस क्रममा सहभागीहरूबीच कार्यक्रमको प्रभावकारिता, दिगोपना र आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो।