काठमाडौं।
थाइल्याण्डमा जारी महिला एसिया कप राइजिङ स्टार्समा नेपाल पराजित भएको छ । नेपाललाई यूएईले १८ रनले पराजित गरेको हो ।
पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८९ रन बनायो । टोलीका लागि कप्तान इशा ओझाले शतक बनाइन् । ६३ बलको सामना गरेकी उनले १४ चौका र ९ छक्काको सहयोगमा १ सय २५ रन बनाइन् । यो उनको टी २० मा छैटो शतक हो ।
युएईले दिएको १ सय ९० रनको विजयी लक्ष्यको जवाफमा नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो । नेपालका लागि ओपनर सम्झना खड्काले ३९ बलमा ११ चौकाको साथमा ५८ रनको अर्धशतकीय इनिङ खेलिन् ।
सम्झनाले दोस्रो विकेटका लागि कप्तान पूजा महतोसँग सम्झनाले १ सय ४ रनको शतकीय साझेदारी गरिन् । पूजाले ३५ बलमा ८ चौका र १ छक्काको ५३ रन जोडिन् । युएईका लागि सुरक्षा कोटे र हेना चण्डानीले समान २ तथा इन्दुजा नन्दाकुमारीले १ विकेट लिए ।
नेपाल लगातार दुई हार सहित प्रतियोगिताको समूह चरणबाट बाहिरिएको छ । नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग पराजित भएको थियो । पहिलो खेलमा भारत ‘ए’ लाई पराजित गरेको युएईको शतप्रतिशत जित पश्चात सेमिफाइनल सम्भावना बलियो भएको छ ।











प्रतिक्रिया