साधना हेल्थ र महानगर दैनिक फेरि ब्यूँताऔँ

0
Shares

चालीसको दशकको मध्यताकासम्म नेपालमा पञ्चायती व्यवस्था कायम थियो, दलहरू प्रतिबन्धित अवस्थामा थिए । त्यो बेलामा सञ्चारमाध्यम सीमित थिए नै, स्वाभाविक तवरमा एकदमै नियन्त्रित अवस्थामा पनि थिए । मनोरञ्जनको नाममा रेडियो नेपाल र नेपाल सरकारबाट प्रकाशित हुने ब्रोडसिट गोरखापत्र एवं द राइजिङ नेपाल मात्रै थिए भन्दा हुन्थ्यो । निजी तवरबाट सीमित मात्रामा साप्ताहिक पत्रपत्रिका त थिए तर समाचार सम्प्रेषण एकदमै नियन्त्रित हुन्थ्यो । मलाई लाग्छ, त्यस बेला निजी तवरबाट प्रकाशित गर्ने पत्रपत्रिकाहरुका प्रकाशक एवं सम्पादक त्यस बेलाका सीडीओ कार्यालय वा अञ्चलाधीशको कार्यालय नधाएका शायदै होलान् ।

मनोरञ्जनका नाममा हलमै गएर चलचित्र हेर्नुको विकल्प थिएन । त्यस बेला सरकारी तवरबाट शाही नेपाल चलचित्र संस्थानद्वारा वर्षमा एक–दुईवटा मात्रै नेपाली चलचित्र निर्माण हुने गर्थे । निजी स्तरबाट घोषणा गरेभन्दा निकै कम सिनेमा निर्माण सम्पन्न गर्न सक्षम हुन्थे । भन्नुको तात्पर्य त्यस बेला नेपालमा बनेका चलचित्रहरु औँलामै गन्न सकिने अवस्थामा थिए ।

यस्तो विषम परिस्थितिमा र प्रतिकूल राजनीतिक वातावरणमा ठूलै आँट गेरर पुष्करलाल श्रेष्ठको पहलमा २०४१ सालमा कामना सिने मासिक प्रकाशनमा आयो । शुरुवाती अंकदेखि नै क्रिकेटको भाषामा छक्कामाथि छक्का हान्न सफल भयो, कामना सिने मासिकले । एकाध समयबाहेक जतिसुकै कठिन समयमा पनि महिनाको शुरुतिर नै कामना सिने मासिक बजारमा आउँथ्यो ।

सीमित चलचित्रहरू निर्माण हुने एवं नगण्य सांगीतिक गतिविधिहरु हुने समयमा पनि पुष्करलाल श्रेष्ठको टोलीले मेहनत गरी कामनामा गतिला खुराकहरु पस्कन्थे । कुनै पनि बेला कामना सिने मासिक साधारण खालको छँदै थिएन । शुरुको अंकदेखि नै साजसज्जामा उत्तिकै मेहनत गरेको देखिन्थ्यो । यसको श्रेय अशोकमान सिंहलाई पनि जान्छ । मलाई लाग्छ, अहिले पनि नेपाल समाचारपत्र दैनिकको मुख्य लोगो अशोकमान सिंहद्वारा नै डिजाइन गरिएको कायम छ ।

नियमित तवरमा पत्रिका प्रकाशन गर्न कठिन थियो । त्यसमाथि चलचित्रसम्बन्धी पत्रिका प्रकाशनका लागि बजारमा यथेष्ट मरमसला हुन्थेन । तर पनि पुष्करलालको मेहनतले चलचित्र, संगीत, नाटक, खेलकुद आदि क्षेत्रका व्यक्तित्व, गतिविधि, अन्तर्वार्ता, प्रतियोगिताहरु समेटेर कामना सिने मासिक निस्कने गर्दथ्यो । यसमा नेपाली चलचित्र, संगीत एवं मनोरञ्जन क्षेत्रका सिद्धहस्त व्यक्तित्वहरूको जीवनी निकै मेहनत गरी पठनीय बनाएर छापिन्थ्यो । त्यो बेला नेपाली मनोरञ्जन क्षेत्रमा प्रवेश गर्ने वा स्थापित भइसकेका चलचित्रकर्मीहरुले कामना सिने मासिकमा स्थान पाउनु निकै प्रतिष्ठाको विषय हुन्थ्यो । त्यसमाथि अन्तर्वार्ता वा मध्यपृष्ठको ब्लोअपमा फोटो छापिनु निकै गर्वको विषय हुन्थ्यो ।

कामना सिने मासिकको अत्यधिक सफलतापछि कामना प्रकाशन समूहबाट खोज एवं अनुसन्धानमूलक फिचर लेखहरू समेटेर साधना प्रकाशन हुन थाल्यो । त्यति बेला साधनामा निकै पृथक एवं गहकिला विषयवस्तु प्रकाशित हुन्थे । कालान्तरमा आवश्यकताअनुसार स्वास्थ्य क्षेत्रलाई बढी प्राथमिकता दिइयो । अर्थात् साधना मासिकलाई पारिवारिक स्वास्थ्य खुराक बनाइयो ।
कामना र साधनाको बेजोड सफलतापछि मध्याह्न १२ बजेसम्ममा प्रकाशित हुने गरी तातो–तातो खबर समेटेर महानगर दैनिक प्रकाशन हुन थाल्यो । जुन बेला सीमित मानिसको पहुँचमा मात्र टेबुलमै राख्ने खालको तारयुक्त टेलिफोनको सुविधा थियो भने हाते मोबाइल, कम्प्युटर, इन्टरनेट र केबल टेलिभिजन अकल्पनीय अवस्थामा थियो । स्थिति कतिसम्म थियो भने, भद्दा खालकै सही, नाममात्रको कम्प्युटरसँगै कलर अफसेट प्रेस भित्र्याउन पाउँदा पनि पुष्करलाल श्रेष्ठ कति फुरुङ्ग हुनुभएको थियो । त्यस बेला काठमाडौँ महानगर भइसकेको थिएन । पुष्करलाल श्रेष्ठको टोली कति दूरदर्शी थियो भने, कुनै दिन काठमाडौँ अवश्य महानगर बन्नेछ भन्ने आँकलनले नै सन्ध्याकालीन महानगर नाम जुराएको हुनुपर्छ ।

एउटा सत्य कुरा के पोख्दै छु भने, कामना प्रकाशन समूहले कामना, साधना र महानगरलाई मात्र निरन्तरता दिइराखेको भए यति विघ्न मात्रामा आर्थिक समस्या खेप्नुपर्ने थिएन । भन्नुको तात्पर्य, शुरुमा आजको समाचारपत्र जसलाई पछि समाचारपत्र र अहिले नेपाल समाचारपत्र भनेर नामकरण गरियो, यही दैनिक समाचारपत्रकै कारणले कामना प्रकाशन समूहमा समस्या देखिन थाले । त्यसो त पुष्करलाल श्रेष्ठ नैतिकताको हिसाबले स्वच्छ व्यक्ति हुनुहुन्थ्यो, गलत उद्देश्यका लागि कसैसँग सम्झौता गर्ने खालको व्यक्ति हुनुहुन्नथ्यो । तर यसबीच कामना प्रकाशन समूहलाई उकास्ने नाममा विभिन्न स्वार्थ मिसिएका व्यवसायीहरुको प्रवेशले संस्थालाई निरन्तरता दिन कठिन हुँदै गयो ।

मैले यति धेरै लामो भूमिका बाँध्नुको कारण के थियो भने, कामना प्रकाशनको शुरुवातदेखिको एक शुभचिन्तक, नियमित पाठक एवं स्वस्थ आलोचक भएको नाताले यस संस्थाका गतिविधिहरू नजिकबाट नियालिरहेको छु । पुष्करलाल लपनछपन गर्ने व्यक्ति नभएको कारणले पनि संस्थामा आर्थिक समस्या हुन गयो । २०७२ को भूकम्प, सशस्त्र द्वन्द्वसहित निरन्तरको राजनीतिक अस्थिरता एवं पछिल्लो समयको कोभिड महामारीका कारण पनि नकारात्मक प्रभाव प¥यो ।

केही वर्षअघि पुष्करलालको अकल्पनीय निधनपश्चात् अहिले उहाँका छोरा दिरेकलाल श्रेष्ठले कामना प्रकाशनको बागडोर सम्हाल्दै आउनुभएको छ । अहिले नेपाल समाचारपत्र नियमितरूपमा प्रकाशन भइरहेको छ । कामना सिने मासिक पनि जसोतसो प्रकाशनमा आइरहेको छ । म कामना प्रकाशनको हितैषी एवं शुभचिन्तक भएको नाताले के अनुरोध गर्न चाहन्छु भने, कामना सिने मासिक र नेपाल समाचारपत्र दैनिकसँगै प्राथमिकताको आधारमा साधना मासिक र सन्ध्याकालनीन महानगर दैनिक पनि नियमित प्रकाशन हुनुप¥यो ।

विगतमा साधना पत्रिका ठूलो साइजमा निस्किएदेखि पेपर निकै गुणस्तरीय थियो । कामना मासिकको पेपर पनि त्यस्तै छ । मेरो सुझाव छ– यी पत्रिकामा प्रयोग गरिएका कागज यति बाक्लो आवश्यक छैन, निकै समयअगाडिको जस्तै अलि पातलो कागज भए पनि पत्रिकाचाहिँ नियमित गराउनु महत्वपूर्ण विषय हो । कागजको बाक्लोपना वा यसको गुणस्तर थोरै घटाउन सकिएको खण्डमा प्रकाशन खर्चमा कमी आउनुका साथै निरन्तरता दिन सहयोग हुनेछ भन्ने मलाई लाग्छ ।

हामी सबैलाई थाहा भएकै कुरा हो । मानवको चाहना समयको अन्तरालमा फेरिँदै जान्छ । म एउटा उदाहरण दिन्छु– कुनै बेला केटाहरुले लगाउने पाइन्ट बेलीबटम हुन्थ्यो, पछि बिस्तारै चुजी वा तल्लो भागको मोटाइ साँघुरो खालको मन पराउन थालियो । यो च्वाइसको कुरा कुमालेको चक्रझैँ घुमिरहने खालको हुँदो रहेछ । महिलाको फेसनको बारेमा त झनै कुरा नगरौँ । अर्को एउटा उदाहरण कोकको पनि दिन्छु । कुनै समय कोक सिसाको अलि ठूलो खाले साइजबाट फुच्चे खालको उत्पादन गर्दा बजार निकै पिटेको थियो ।

पछि फेरि उही पुरानै खालको अर्थात् ठूलो खालको सिसाको बोतलकै कोक मन पराउन थालियो । भन्नुको तात्पर्य के हो भने, अहिले सामाजिक सञ्जालको जगजगी भए पनि सन्ध्याकालीन महानगर दैनिक र साधना मासिक प्रकाशन गर्ने हो भने यसले फेरि निकै मार्केट लिनेमा दुई मत छैन । पाठकहरूमध्ये अधिकमा के एउटा बानी छ भने, उनीहरू स्क्रिनमा समय बिताउनुभन्दा हातैले छोएर पत्रपत्रिका पढ्नमा बढी आनन्द मान्छन् ।

कतिपयको संग्रह गर्ने बानी पनि छ । मैले नै कामना सिने मासिक, साधना हेल्थका अधिकांश अंक संकलन गरेको छु भने समाचारपत्र र महानगरका महत्वपूर्ण संग्रहणीय अंकहरू पनि मसँग सुरक्षित छन् । त्यसैले मजस्तो कामना पब्लिकेसन्सको शुभचिन्तक एवं नियमित पाठकका लागि साधना र महानगर प्रकाशित नहुनु साह्रै दुःखद विषय हो । मैले व्यक्तिगत तवरमा विगतमा पुष्करलाल सर र अहिले दिरेकलाल सरलाई नियमित जसो अनुरोध गरिरहेको छु कि प्राथमिकताको आधारमा साधना र त्यसपछि महानगरलाई पुनः प्रकाशनमा ल्याउनुपर्छ भनेर । म यो विशेष अनुरोध गर्न चाहन्छु ।

केही महिनाअगाडिदेखि कामना पब्लिकेसन्स र इमेज परिवारबीच व्यावसायिक सहकार्य हुन थालेको छ । केही दिनअघि यसमा चौधरी ग्रुपको सिजी इन्टरटेन्मेन्ट पनि जोडिन आएबाट व्यावसायिक रुपमा समग्रमै यो संस्था बलियो हुन गयो भन्ने मेरो आँकलन छ । र, मैले माथि उल्लेख गरेझैँ प्राथमिकताको आधारमा साधना मासिकलाई निरन्तरता दिऊँ । यसका लागि कामना प्रकाशन समूहभित्र सक्षम सम्पादक एवं व्यवस्थापक छन् भने विगतमा नियमित जसो लेख लेख्ने हामी लेखकहरु (चिकित्सकहरू) पनि सदा तत्पर छौँ ।

नियमित जसो साधना प्रकाशित हुन गयो भने असंख्य पाठकहरू लाभान्वित हुनेछन् । त्यसो त सामाजिक सञ्जालमा स्वास्थ्य विषयमा अनगिन्ती खुराकहरु सजिलै पाइन्छन्, त्यसमध्ये कति राम्रा, कति नराम्रा, कुन सही, कुन गलत भन्ने कुरा आम पाठकलाई हेक्का नहुन सक्छ । साधना स्वास्थ्य मासिकले सदैव गुणस्तरीय स्वास्थ्य खुराक पस्किने हुनाले नेपाली पाठकहरु बढी लाभान्वित भइरहेका थिए भने आगामी दिनमा पनि हुनेछन् ।

साधनाजस्तै गरी कम्तीमा पुष्करलाल सरको आत्मालाई शान्ति दिलाउने हिसाबले पनि महानगर दैनिकसमेत पुनः प्रकाशनमा ल्याउनु नितान्त आवश्यक छ । कुनै पनि महानगरपालिकामा यसरी दिवा समयमा नियमित जसो सानो टेब्लोइड आकारमा दैनिक पत्रिका वा अखबार प्रकाशन हुनु महानगरकै शान हो । यस कार्यमा कामना प्रकाशन समूहले इमेज समूह एवं सिजी इन्टरटेन्मेन्टको सहयोगमा महानगर दैनिकलाई पनि पुनः निरन्तरता दिनुपर्दछ । अन्त्यमा, फेरि एकपटक भन्छु एक शुभचिन्तकको नाताले साधना स्वास्थ्य मासिक र महानगर दैनिक पुन ब्यूँताउनुपर्छ ।