वास्तविक स्वतन्त्रता मानिसको हृदयबाट आउँछ

282
Shares

स्वतन्त्रता मानिसको एउटा स्वाभाविक गुण हो । तर, के तपाईंलाई थाहा छ, वास्तविक स्वतन्त्रता कहाँबाट आउँछ ? वास्तविक स्वतन्त्रता मानिसको हृदयबाट आउँछ । यद्यपि हामीमध्ये धेरै मानिस आफूले आफूलाई स्वतन्त्र ठान्छौँ तर स्वतन्त्र हुँदैनौँ । किनभने, मानिस काम, क्रोध, लोभ, मोह आदिको जञ्जालमा फसेको छ । उसले यो कुरालाई बिर्सिसक्यो– ‘वास्तविक स्वतन्त्रता हृदयभित्रबाट नै आउँछ ।’ मानिसले यसलाई चिन्न थालेपछि उसले वास्तविक स्वतन्त्रता पनि महसुस गर्न थाल्नेछ ।

एउटा नदीलाई नियाल्नुहोस् । नदी स्वतन्त्रतापूर्वक बहन्छ । उसले कुन बाटोबाट बहनुपर्छ भनेर कसैसँग सोध्दैन । उसले आफ्नो बाटो आपैmँ चुन्छ । हुन सक्ला, बाटोमा उसले चट्टानको अवरोधलाई सामना गर्नु परोस् । चट्टानले त बाटो बदल्दैन तर पानी छेउतिरबाट आफ्नो बाटो बनाएर हिँड्छ । चट्टानले सोच्दो हो– मैले बाटो बदलिन, त्यसैले मेरो जित भयो । तर उसलाई पानीको क्षमताका बारेमा थाहा छैन । पानीमा एउटा लगनशीलता हुन्छ ।

बिस्तारै–बिस्तारै पानीले चट्टानलाई पनि काट्न थाल्छ । समय आएपछि चट्टानले त्यस स्थानबाट विस्थापित हुनुपर्छ । अनि, पानी त्यही बाटोबाट बग्न थाल्छ । सबै उपत्यकाहरू पानीको यही शक्तिका उदाहरण हुन् । एकदमै नम्रतापूर्वक पानीले आफ्नो प्रयासलाई छोड्दैन । ऊ बगिरहन्छ अनि बिस्तारै चट्टानलाई पनि खियाइरहन्छ । अन्ततोगत्वा कठोर चट्टानले विनम्र अनि नरम पानीका अघि झुक्न विवश हुनुपर्छ ।

मानिसले विनम्रता र मानवताको अभ्यास गरेर आफ्नो हृदयमा रहेको शान्तिको अनुभव गरी जीवनलाई सफल तुल्याउन सक्छ । किनभने, हामी जीवनमा जुन कुराको सबैभन्दा धेरै अभ्यास गर्छौं, त्यसैमा अभ्यस्त हुन्छौँ । यदि हामीले क्रोधको अभ्यास ग¥यौँ भने त्यसैमा अभ्यस्त हुन्छौँ । रिस उठेपछि सोच–विचार गर्ने सबै कुरा समाप्त हुन्छ । त्यसै गरी, मानवताको अभ्यास ग¥यौँ भने हामी साँच्चै त्यसैमा पोख्त हुन्छौँ । सत्यताको अभ्यास ग¥यौँ भने सत्यतामै पोख्त हुन्छौँ । हामीभित्रको प्रेमलाई प्राप्त गर्ने अभ्यास गर्नुभयो भने तपाईं त्यसैमा अभ्यस्त हुनुहुनेछ ।

तपाईं यो कुरालाई विचार गर्नुहोस् । मानिस बन्नुहोस्, किनभने तपाईं मानिस हुनुहुन्छ । तपाईं मानवतालाई बुझ्न शुरु गर्नुहोस् । मानिसको मानवता नै समाप्त भएको दिन ऊ मानिसका रूपमा रहँदैन । त्यसकारण मानवतालाई बुझ्नुहोस् । यो जीवन तपाईंलाई एउटा उपहारका रूपमा प्राप्त भएको छ । यसलाई स्वीकार गर्नुहोस् अनि आफ्नो जीवनलाई सफल बनाउनुहोस् ।
तपाईंको जीवनको यात्रा तपाईंको पहिलो श्वासबाट प्रारम्भ भएको थियो । त्यसै समयदेखि यो श्वासको आउने–जाने क्रम रोकिएको छैन । यो जीवन रहेसम्म तपाईंका साथमा यो क्रम रहिरहन्छ, तपाईंको अन्तिम समयसम्म ।

तपाईंलाई थाहा छ, यो श्वास तपाईंभित्र आउँछ । यो श्वासमा ध्यान दिनुहोस् । जब तपाईं आफ्नो जीवनमा आइरहेको यो श्वासलाई महसुस गर्नुहुन्छ, यसले आनन्द अनि सन्तुष्टि ल्याउँछ । तपाईं जीवित हुनुहुन्छ भनेर आभारी हुुनुहोस् । यो अस्तित्वलाई सराहना गर्नुहोस् ।

एउटा कथा छ । एकजना मानिस विदेशबाट आएका थिए । उनले हात्ती कहिल्यै पनि देखेका थिएनन् । एकदिन उनमा हात्ती हेर्ने इच्छा जाग्यो । उनी धेरै हात्ती भएको गाउँमा पुगे । हात्तीलाई देखेपछि उनलाई निकै आश्चर्य लाग्यो । तिनीहरूको लामो सुँड, लामा दाँत अनि ठूला कान पनि हेरे । उनले सोचे– हात्ती त एकदमै ठूलो अनि शक्तिशाली हुँदो रहेछ । त्यसपछि उनले नियाले, हात्तीहरू त एकै ठाउँमा अडिएका छन् । अन्त कतै हिँडडुल गरिरहेका छैनन् । उनले हात्तीको मालिकलाई सोधे– ‘यी हात्तीहरू किन कतै गइरहेका छैनन् ? यिनीहरू किन यहाँ उभिरहेका छन् ?’

तब उनले देखे, एउटा मसिनो दाम्लोले तिनीहरूलाई रुखमा बाँधेर राखिएको थियो । ती व्यक्तिले यसो सोचे– ‘हात्ती धेरै शक्तिशाली जनावर हो । यिनीहरूको खुट्टामा बाँधिएको दाम्लो एकदमै मसिनो छ ! यसलाई त यिनीहरूले छिनाउन सक्छन् ।’
उनले हात्ती मालिकलाई सोधे– ‘के वास्तवमा यी हात्ती बलवान् छन् ?’ माहुतेले भने– ‘हो, अवश्य ! यिनीहरू अत्यन्तै शक्तिशाली हुन्छन्, आफ्नो सुँडद्वारा स–साना सिन्कादेखि निकै गह्रुङ्गो रुखलगायत अन्य धेरै वजनदार वस्तु पनि उठाउन सक्छन् ।’

तब ती व्यक्तिले भने– ‘फेरि यो डोरीलाई चुँडाएर किन भाग्न सक्दैनन् ?’ माहुतेले भने– ‘छावा (बच्चा) हुुँदा यिनीहरूलाई यिनै दाम्लाले बाँध्ने गरिएको थियो । त्यतिखेर यिनीहरू अहिलेका जस्ता बलवान् पनि थिएनन् । यो डोरीलाई चुँडाउन सक्दैनथे । बिस्तारै यिनीहरू ठूला भए । अब त यिनीहरूलाई यो दाम्लोमा बाँधिएर रहँदारहँदै हामीले यो दाम्लोलाई चुँडाउन सक्दैनौँ भन्ने पनि लागिसकेको छ । त्यसकारण यिनीहरू बाँधिएर बसिरहन्छन् अनि कतै पनि जाँदैनन् ।’

यस्तै अवस्था हामी मानिसको पनि छ । हामी आफ्नो शक्तिलाई पहिचान गरिरहेका छैनौँ । हामीले आफ्ना शक्ति र क्षमतालाई चिन्नु आवश्यक छ । किनभने, जतिखेर हामी बाल्यावस्थामा थियौँ– हामी कल्पनाको डोरीले बाँधिएका थियौँ । त्यसलाई चुँडाउन सक्दैनथ्यौँ तर अहिले हामी चुँडाउन सक्छौँ । यद्यपि हामीलाई त यस्तो पनि लाग्छ– हामीले त्यो कल्पनाको डोरीलाई तोड्नै सक्दैनौँ । त्यसकारण बाँधिइरहन्छौँ अनि दासजस्तै भएर यो जीवन व्यतीत गरिरहन्छौँ । दास उसको चाहिँ बन्दैनौँ, जसको बन्नुपथ्र्यो । तर उसको दास भएर बस्छौँ, जसको दास भएर केही पनि प्राप्त हुँदैन ।

तपाईं पनि त्यही हात्तीजस्तै शक्तिशाली हुनुहुन्छ । यदि तपाईंले साँच्चै नै आफ्नो पाइला अघि बढाउन थाल्नुभयो भने त्यो डोरीमा कुनै त्यस्तो शक्ति छैन, जसले तपाईंलाई रोक्न सकोस् । तपाईंले आफूमा पहिलेदेखि नै विद्यमान वास्तविक साहसलाई अघि राखेर आफ्नो पाइला अगाडि बढाएपछि तपाईंको जीवन वास्तवमा बदलिनेछ । किनभने, त्यसपछि त तपाईं उनको हुनुहुनेछ, जो तपाईंको मन–मन्दिरमा बसेका छन् । तत्पश्चात् त्यो मन्दिरको ढोका खुल्नेछ ।

कोही अरूका लागि होइन, तपाईंकै लागि ।मानिससँग भएको क्षमता के हो ? जुन तपाईंले पाउनुभएको मानिसको शरीर, मानिसको जीवन छ– यसमा यो आफ्नो जीवनलाई सफल बनाउन सक्ने क्षमता छ । एकातिर प्रविधि छ– फोन छ, सेटलाइट फोन छ । मानिस जहाँसुकै होऊन्, त्यसबाट कुरा गर्न सक्छन् । ठूला–ठूला भवनहरू छन्, कारहरू छन्, जहाजहरू छन्, कम्प्युटर छन् । तर ती कुनै पनि चीजले शान्ति प्रदान गर्न सक्दैनन् । किनभने, यदि ती सबै चीजले शान्ति हुन्थ्यो भने अहिले संसारका सबै ठाउँ शान्तिमय भइसक्नुपथ्र्यो ।

तपाईंले यदि कुनै भान्सेको अघि भएको टेबुलमाथि भिन्डी राखिदिनुभयो भने त्यस भिन्डीलाई देख्नेबित्तिकै उनले सोच्छन्, ‘यसको म तरकारी पकाउँछु ।’ जसलाई खाना पकाउन आउँदैन, उसले त्यसलाई देखेर यो सोच्छ, ‘कसैले यो भिन्डीको तरकारी पकायो भने मैले खान पाउँछु ।’ जुन हाम्रो हेर्ने दृष्टिकोण छ, त्यसै अनुसार हामी चीजहरूलाई हेर्दछौँ ।

सृष्टिकर्ताले त त्यही रूपमा हामीलाई बनाए किनभने हामीभित्र एउटा क्षमता छ, शक्ति छ । त्यसलाई हामी भुल्छौँ । त्यस क्षमतालाई हामी प्रयोग नै गर्दैनौँ । हामीसँग जुन बुझ्न सक्ने क्षमता छ, त्यहीअनुसार हामी बुझ्ने कोशिश गर्दछौँ । कसैसँग कुनै क्षमता छ भने उसले आफ्नो त्यही क्षमतालाई प्रयोग गर्दछ । कसैलाई कम्प्युटर चलाउने ज्ञान छ त कसैसँग कार चलाउने सीप छ । तर यस्तो कुन चीज होला, जुन हामी सबैभित्र छ ?

हामीलाई मानिसको शरीर प्राप्त भएको छ । यसबाट हामी के गर्न सक्छौँ ? यो हामीले किन पायौँ त ? त्यो लक्ष्यलाई बुझ्नुहोस्, जसका लागि यो जीवनलाई पाएका छौँ । मानिसको जीवन एउटा सुनजस्तै हो । तर समय रहँदै हामी यसलाई कदर गर्न जान्दैनौँ । हामी आफ्नो भाग्य खुल्ने पर्खाइमा रहन्छौँ । कोही आउँछ र हाम्रो भाग्य खोलिदिन्छ भन्ने सोच्छौँ । यही पर्खाइमा हामी पूरै जीवनलाई खेर फाल्छौँ । यो मानिसको जीवनलाई कसरी सदुपयोग गर्ने भन्ने कुराका बारेमा हामी कहिल्यै सोच्दैनौँ ।

तपाईंको श्वास आइरहेको छ र गइरहेको छ । तपाईं जीवित हुनुको प्रमाण नै यही हो । यो सृष्टिकर्ताको कृपा हो र उनी तपाईंभित्र छन् । जबसम्म तपाईंमा यो कृपा रहन्छ, तपाईं जीवित हुनुहुन्छ । जुन दिन यो कृपा समाप्त हुन्छ, त्यस दिनबाट केही पनि रहँदैन । जस्तो– औँठी हुन्छ । औँठी त एउटा बट्टामा किनिन्छ । औँठीलाई त्यो बट्टामा राखुन्जेलसम्म त्यस बट्टाको खूब जतन गरिन्छ । त्यो औँठीलाई बट्टाबाट निकालेपछि त्यो बट्टाको कुनै मूल्य नै रहँदैन । त्यसै गरी, मानिसको शरीर पनि एउटा बट्टाजस्तै हो ।

जबसम्म बट्टारूपी मानिसको शरीरमा श्वास आउने र जाने क्रम रहन्छ, यो बट्टा बहुमूल्य हुन्छ । जुन दिन यसमा श्वास आउन–जान बन्द हुन्छ, यो बट्टाको पनि कुनै मूल्य हुँदैन । तर जबसम्म यसमा श्वास आइरहन्छ, गइरहन्छ, तबसम्म यस बट्टाको मूल्य त्यत्तिकै हुन्छ, जसरी त्यो औँठीको मूल्य रहन्छ । जीवनरूपी यस उपहारलाई खेर जान नदिनुहोस् । आफ्नो हृदयको तिर्खालाई मेटाउनुहोस्, जुन तपाईंको हृदयले प्रत्येक श्वाससँगसँगै तपाईंलाई भनिरहेको छ ! आफूभित्र रहेको परम शक्तिलाई चिन्नुहोस् । त्यो परम शान्तिको अनुभव गर्नुहोस्, जसलाई पाएपछि कुनै सुख र आनन्दको इच्छा रहँदैन ।

तपाईंमा पनि यो जीवनलाई सदुपयोग गर्न सक्ने सामथ्र्य छ । अनि, आफ्नो जीवनलाई सुख र आनन्दद्वारा भर्न सक्नुहुन्छ । प्रत्येक व्यक्तिमा यो क्षमता हुन्छ । जबसम्म तपाईं जीवित हुनुहुन्छ, तपाईं आफ्नो जीवनमा त्यस श्वासरूपी चीजको अनुभव गर्न सक्नुहुन्छ । जुन तपाईंलाई अर्को पटक प्राप्त हुँदैन । यसको अनुभवमा साँचो सुख र आनन्द छ । यदि तपाईंले साँचो सुख र आनन्दको अनुभूति गर्नुभयो भने तपाईंको जीवन सफल हुनेछ ।

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलन एवं प्रस्तुतीकरण ः डा. प्रेमराज ढुङ्गेल । थप जानकारीका लागि www.premrawat.com