
सिन्धुपाल्चोक । हिउँदयामको चिसोलाई चुनौती दिँदै सिन्धुपाल्चोकका भोटेकोशी र सुनकोशी नदी क्षेत्रमा राफ्टिङ तथा साहसिक पर्यटन गतिविधिमा आन्तरिक र विदेशी पर्यटकको उपस्थिति बाक्लिँदै गएको छ । साहसिक जलयात्राका लागि अन्तर्राष्ट्रिय रूपमा परिचित भोटेकोशी र सुनकोशी नदी क्षेत्रमा हिउँदमा पनि पर्यटकको चहलपहल देखिन थालेको छ । कठ्याङ्ग्रिँदो चिसोका बाबजुद राफ्टिङप्रेमीहरू नदीको छालसँग रमाउँदै यहाँ पुगिरहेका छन् ।
सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्रसिं थापाका अनुसार हिउँदयामलाई सामान्यतया अफ–सिजन मानिए पनि राफ्टिङमा रुचि राख्ने पर्यटकको आगमन रोकिएको छैन । बिहान नदीमा राफ्टिङ गर्ने र साँझ अरनिको राजमार्ग आसपासका रिसोर्ट तथा टेन्टेड क्याम्पमा बस्ने गतिविधिले भोटेकोशी–सुनकोशी क्षेत्रलाई जीवन्त बनाएको उहाँले जानकारी दिनुभयो ।
राजधानी काठमाडौंबाट करिब ७० किलोमिटर दूरीमा रहेको सुकुटे, बलेफी र आसपासको क्षेत्र पछिल्ला वर्षहरूमा साहसिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास हुँदै गएको छ । हाल नदीजन्य सामग्री उत्खनन कम हुँदा नदीले प्राकृतिक स्वरूप पाएको र यसले जलयात्रालाई थप सहज बनाएको व्यवसायीहरूको भनाइ छ ।
पहिले दैनिक सयौं पर्यटक राफ्टिङका लागि आउने गरे पनि अहिले चिसो मौसममा दैनिक करिब ५० देखि ६० पर्यटक सुकुटे क्षेत्र पुग्ने गरेका छन् । तीमध्ये करिब आधाले राफ्टिङ रोज्ने गरेको व्यवसायी थापाले जानकारी दिए । हाल भोटेकोशी र सुनकोशी किनारमा राफ्टिङ सेवासहितका १० भन्दा बढी रिसोर्ट सञ्चालनमा छन् ।
नेपाल राफ्टिङ एसोसिएसनका अनुसार जिल्लाका भोटेकोशी र सुनकोशी तटीय क्षेत्रमा होटल तथा रिसोर्टको संख्या २० नाघिसकेको छ । भूकम्पअघिसम्म मात्रै कोशी किनारका रिसोर्टमा ठूलो संख्यामा पर्यटक आउने गरेको तथ्यांक रहेको छ । पर्यटन व्यवसायी ललित गिरीका अनुसार यहाँ आउने अधिकांश पर्यटकको मुख्य आकर्षण नै जलयात्रा हो । उनका अनुसार युरोप र अमेरिकालगायतका मुलुकबाट आउने पर्यटकको प्राथमिक रोजाइ सुनकोशीमा राफ्टिङ नै हुने गरेको छ ।
राफ्टिङसँगै सुकुटे क्षेत्रमा अन्य साहसिक खेलले पनि पर्यटक तानिरहेका छन् । माउन्टेन राइड, बन्जी जम्प, केबुलकार, ३६० डिग्री स्वीङ र स्काई साइक्लिङजस्ता गतिविधि सञ्चालनमा आएपछि यहाँको पर्यटन थप विविध बनेको छ ।
सुकुटेको थ्रिल भ्यालीमा निजी लगानीमा यस्ता साहसिक खेल सञ्चालनमा ल्याइएको छ । सञ्चालक सम्झना खड्का कार्कीका अनुसार नयाँ एडभेन्चर पर्यटनले स्थानीय पर्यटन प्रवद्र्धनमा सकारात्मक प्रभाव पारेको छ । अन्य रिसोर्टहरूले पनि नयाँ–नयाँ साहसिक गतिविधि थप्ने प्रयास गरिरहेका छन् ।
नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिजका अध्यक्ष शिव अधिकारीका अनुसार हिउँदमा पनि राफ्टिङप्रति पर्यटकको आकर्षण कायमै छ । यस क्षेत्रले वार्षिक करिब ६० हजार आन्तरिक र २० हजार विदेशी पर्यटकलाई आकर्षित गर्दै आएको छ ।
साहसिक जलयात्रा र रिसोर्ट व्यवसायमार्फत प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा करिब एक हजारजनाले रोजगारी पाएको व्यवसायीहरूको भनाइ छ । पर्यटन विस्तारसँगै स्थानीय अर्थतन्त्रमा पनि यसको सकारात्मक प्रभाव देखिन थालेको छ ।











प्रतिक्रिया