औषधि उत्पादनमा आत्मनिर्भरताको लक्ष्य, फागुन अन्तिम साता काठमाडौँमा ‘नेपाल फर्मा एक्स्पो’


काठमाडौँ। 

 नेपाललाई औषधि उत्पादनमा आत्मनिर्भर बनाउने र विश्वस्तरको नवीन प्रविधि भित्र्याउने उद्देश्यका साथ आगामी फागुन २८ देखि ३० गतेसम्म काठमाडौँको भृकुटी मण्डपमा ‘नेपाल फर्मा एक्स्पो – २०२६’ आयोजना हुने भएको छ। नेपाल औषधि उत्पादक संघ (एपोन) को मुख्य आयोजनामा हुन लागेको यो एक्स्पोको दशौँ संस्करण हो।

“फर्मामा नवीनता: भोलिको स्वास्थ्यका लागि” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस बृहत् प्रदर्शनीबारे जानकारी दिन बुधवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले तयारी तीव्र पारिएको जनाएका छन्।

एक्स्पोमा नेपालसहित भारत, बंगलादेश, जर्मनी, जापान लगायतका देशका बहुराष्ट्रिय कम्पनीहरूको सहभागिता रहनेछ। कुल २०० भन्दा बढी स्टलहरू रहने यस मेलामा औषधि उत्पादनमा प्रयोग हुने अत्याधुनिक मेसिनरी, ल्याब टेक्नोलोजी, कच्चा पदार्थ र प्याकेजिङका नयाँ प्रविधिहरू प्रदर्शनीमा राखिनेछन्।

एपोनका अध्यक्ष विप्लव अधिकारीका अनुसार यो एक्स्पो केवल प्रदर्शनी मात्र नभई नेपाली औषधि उद्योगलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने एउटा महत्त्वपूर्ण खुड्किलो हो। उनले भने, “हामीले हिजोका दिनमा गरेका अनुसन्धान र आविष्कारहरू नै आजको औषधि उद्योगको आधार हुन्। आजको नवीन सोच र प्रविधिमा गरिने लगानीले नै भोलिको स्वस्थ नेपाल सुनिश्चित गर्नेछ।”

एक्स्पोका संयोजक एवं एपोनका उपाध्यक्ष सन्तोष बरालले यसपटकको प्रदर्शनीमा ९० प्रतिशत स्टलहरू विदेशी तथा बहुराष्ट्रिय कम्पनीका हुने जानकारी दिए। “धेरैलाई अझै पनि नेपालमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय औषधि बन्छ भन्ने थाहा छैन। यस एक्स्पोमार्फत हामी सरोकारवाला र सर्वसाधारणलाई नेपाली औषधिको क्षमता बुझाउन चाहन्छौँ,” उनले भने।

औषधि क्षेत्रको ज्ञान लिन चाहने जो-कोहीका लागि प्रवेश नि:शुल्क गरिएको छ।

यसपटक औषधि व्यवस्था विभागले समेत एक्स्पोमा सह-आयोजकको रूपमा सहकार्य गरेको छ। विभागका महानिर्देशक नारायणप्रसाद ढकालले स्वदेशी उद्योगको विकास र प्रवर्द्धनका लागि सरकारले निजी क्षेत्रसँग हाते मालो गरेको बताए। उनले यस्ता कार्यक्रमले स्वदेशी उद्योगहरूलाई नवीनतम प्रविधिबारे जानकारी लिन र गुणस्तर कायम गर्न सहज हुने विश्वास व्यक्त गरे।

एक्स्पोलाई थप सुदृढ बनाउन प्राविधिक सेमिनार र सामाजिक कार्यक्रमहरू पनि तय गरिएका छन्। मिडिया कोअर्डिनेटर शैलेश वैद्यका अनुसार फागुन २७ क्वालिटी कन्ट्रोलका फर्मासिस्टहरूका लागि अन्तर्राष्ट्रिय विशेषज्ञहरूबाट विशेष सेमिनार। फागुन २८ बिहान ८ बजे भव्य प्रभातफेरिबाट एक्स्पोको औपचारिक सुरुवात फागुन ४ र ५गते  १०० जना म्यानेजर र बजार प्रतिनिधिहरूका लागि व्यावसायिक तालिम।

यसअघि नै एपोनले माघ २ र ३ गते १६ वटा उद्योगको सहभागितामा फुटसल प्रतियोगिता सम्पन्न गरिसकेको छ भने आगामी फागुन ८ र ९ गते ‘क्रिकसल’ प्रतियोगिता आयोजना गर्ने तयारी गरेको जनाएको छ।