गाउँमा उद्यमी बनेकी मिठ्ठु

376
Shares

दोलखा । मेहनत ग¥यो भने गाउँमै पनि आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेकी छन् दोलखाकी किसान मिठ्ठु (नरमाया) खत्री । दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ६, गुजर्पाकी मिठ्ठुले गाउँमै साना उद्योग सञ्चालन र पशुपालनबाट सातजनाको परिवार धानेकी छन् ।


हरेक दिन बिहानदेखि साँझसम्म खेती, पशुपालन र लघुउद्यममै समय बिताइरहेकी मिठ्ठु यो पेसाबाट बचत गर्न नसकिएको भए पनि सातजनाको परिवार राम्रैसँग पाल्न सकेको बताउँछिन् । कुनै बेला गाउँमा स्वास्थ्य स्वयंसेविका रहेकी मिठ्ठुलाई राजनीतिक आस्थाको कारण त्यसबाट हटाइएको तीतो अनुभव छ । उनी भन्छिन्– ‘राजनीतिक आस्थाको कारण स्वास्थ्य स्वयंसेविकाबाट हटाइएको भए पनि खेती–किसानीबाट सन्तुष्ट छु ।’

मिठ्ठुले गाउँमा १९ वटा भेडा पालेकी छन् । ७–८ वटा गाई–भैँसी पनि छन् । भेडाको उन र दूध–घिउको बिक्रीबाट हुने आम्दानीले उनको परिवार राम्रोसँग चलिरहेको छ । उनको काममा श्रीमान्ले पनि सहयोग गरिरहेका छन् ।
गुजर्पामा मिठ्ठुलगायत गाउँका अरु धेरै मेहनती किसान मिलेर महादेवथान उद्यमी समूह सञ्चालन गरिएको छ । त्यो समूहले अल्लोको धागो, कपडा र झोला उत्पादन गरेर बिक्री वितरण गर्दै आएको छ । समूहमा २०–२२ जना सदस्य रहेको भए पनि उत्पादनको काममा भने थोरै मात्र सहभागी रहेको मिठ्ठुले बताइन् ।

महादेवथान उद्यमी समूहले उत्पादन गरेको झोला ४ सयदेखि १२ सय रुपियाँसम्ममा बिक्री गरिने उनले बताइन् । मिठ्ठु भेडा तथा गाई–भैँसी पालनसँगै अल्लोको डोरी बनाउने तालिम दिनसमेत विभिन्न ठाउँमा जाने गरेकी छन् । एकपटक तालिम चलाउन जाँदा ६० हजारसम्म आम्दानी हुने उनको भनाइ छ ।

तर अझै पनि उद्यमी समूहलाई व्यावसायिक रुपमा भने सञ्चालन गर्न नसकिएको मिठ्ठ खत्रीले गुनासो गरिन् । त्यसको लागि उत्पादित सामानको बजार खोज्न स्थानीय सरकारले पनि सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
महादेवथान उद्यमी समूहको लागि भवन निर्माण र मेसिन खरिद गर्न वडा र प्रदेशले सहयोग गरेको छ । समूहको लागि वडाले ६ लाख रुपियाँ दिएको वडा नम्बर ६ का वडा अध्यक्ष भरत पाण्डेले बताए । वडाले आगामी दिनमा उत्पादित सामानको बजारीकरण र थप सहयोग उपलब्ध गराउने उनी बताउँछन् ।