नेपालको राजनीतिक इतिहासमा युवाको भूमिका सदैव महत्वपूर्ण रह्यो । राणा शासनविरुद्धको आन्दोलनदेखि वि.सं. २००७, २०१७, २०३६, २०४६, २०६२÷०६३ र गत भाद्र २३–२४ गतेको जेनजी जनआन्दोलनको अग्रपङ्क्तिमा युवा नै थिए । नेपालले एउटा अभूतपूर्व जेनजी आन्दोलनको सामना ग¥यो । जसमा भन्ने नै हो भने सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध र सुशासनको अभावविरुद्ध सडकमा ओर्लिएका १८ देखि २५ वर्षका युवाहरूले देशको राजनीतिक कोर्स नै परिवर्तन गरिदिए । यो आन्दोलन कुनै स्थापित दलले नेतृत्व गरेको थिएन, बरु प्रविधि र असन्तुष्टिले एकीकृत गरेको थियो ।
यस विद्रोहले के प्रमाणित ग¥यो भने, अबको युवा पुस्ता भोट बैंक मात्र होइन, उनीहरू किङ मेकर र पोलिसी मेकर दुवै हुन् । हालैका दिनहरूमा विभिन्न वैकल्पिक शक्तिहरू एकै ठाउँमा आउनु र पुराना दलहरूभित्र पनि नेतृत्व हस्तान्तरणको दबाब बढ्नु यसैको परिणाम हो । तर विडम्बना के रह्यो भने, युवाहरू परिवर्तनका संवाहक त बने तर सत्ता र नेतृत्वका सारथी बन्न सकेनन् । जबकि देशमा भएका विभिन्न आन्दोलन सकिएपछि नेतृत्व सधैँ पुरानै पुस्ताको हातमा फर्कन्थ्यो ।
पछिल्लो एक दशकमा नेपाली जनतामा व्याप्त चरम निराशा, भ्रष्टाचार र सुस्त गतिको विकासले एउटा यस्तो रिक्तता सिर्जना ग¥यो, जहाँ आम नागरिकले विकल्प खोज्न थाले । यही विकल्पको खोजीले राजनीतिमा नयाँ र गहकिला युवा अनुहारहरूको उदय गरायो । तर विडम्बना के छ भने, निर्णय प्रक्रियामा पुराना नेताहरूको प्रभुत्व कायम रह्यो ।
अहिले भने परिस्थितिहरू बदलिँदै छन् । युवा नेतृत्वको माग र उदय दुवै बढ्दै गएको छ । हाल मुलुकमा १६ देखि ४० वर्ष उमेर समूहलाई युवा मानिन्छ । यो समूह कुल जनसंख्याको करिब ४० प्रतिशत रहेको छ । यही वर्ग रोजगारी खोज्दै विदेशिन्छ, परिवर्तन चाहन्छ, प्रविधिसँग नजिक छ, पारदर्शिता र उत्तरदायित्व माग्छ । यस विशाल युवाशक्तिलाई राजनीतिक नेतृत्वमा रूपान्तरण नगरेसम्म लोकतन्त्र अधुरो रहन्छ, जसले देशको भविष्य निर्माणमा निर्णायक भूमिका खेल्न सक्छ ।
वस्तुतः युवाहरूले शिक्षा, प्रविधि, सामाजिक न्याय र पारदर्शितामा जोड दिने प्रवृत्ति देखाएका छन् । फलतः राष्ट्रमा दशकौँदेखि उही अनुहार, उही भाषण र उही बाचा दोहोरिँदै आएका छन्, जसमा भ्रष्टाचार नियन्त्रणमा असफलता, सुशासनको अभाव, युवाको पलायन रोक्न नसक्नु, रोजगारी सिर्जनामा कमजोरी, नीति निर्माणभन्दा सत्ताकेन्द्रित राजनीति आदि रहेका छन् । यी सबै कारणले पुरानो नेतृत्वप्रति जनविश्वास कमजोर हुँदै गयो ।
नेपालको राजनीति लामो समयसम्म सीमित व्यक्तिहरू, सीमित सोच र सीमित पुस्ताको वरिपरि घुमिरह्यो । मुलुकको राजनीतिक परिदृश्यलाई अवलोकन गर्ने हो भने प्रजातन्त्र, बहुदल, गणतन्त्र र संघीयताजस्ता ठूला राजनीतिक परिवर्तनहरू भए पनि नेतृत्वको चरित्र, कार्यशैली र प्राथमिकतामा अपेक्षित परिवर्तन हुन सकेन । यही कारणले नेपाली राजनीति जनतामाझ निराशा, अविश्वास र वितृष्णाको विषय बन्यो ।
तर पछिल्ला केही वर्षयता यो निराशाबीच एउटा आशाको किरण देखिन थालेको छ । विगतदेखि वर्तमानको परिपेक्ष्यलाई दृष्टिगत गर्ने हो भने गहकिलो युवा नेतृत्वको उदय बेला–बेलामा हुँदै आएको छ । जबकि राजनीतिमा नयाँ पुस्ताको सक्रिय सहभागिता, वैकल्पिक राजनीतिक धार, मुद्दामुखी बहस र नैतिकताको मागले नेपाली राजनीति नयाँ मोडतर्फ उन्मुख हुँदै गएको संकेत गरेको छ ।
फलतः नेपालको राजनीतिक इतिहास हेर्दा, यो भूमि सधैँ साहसिक परिवर्तन, जनआन्दोलन र राजनीतिक पुनर्निर्माणको कथा भएर आएको छ । तर वर्तमान समयमा, यहाँ एउटा अभूतपूर्व र ऐतिहासिक परिवर्तन घटिरहेको छ– एक नयाँ पुस्ताको उदय भएको छ, जो केवल उमेरको आधारमा नभएर चिन्तन, दृष्टिकोण, प्रविधि प्रयोग र सामाजिक जिम्मेवारीको नयाँ परिभाषा लिई आइरहेको छ । यो युवा नेतृत्वको उदय केवल राजनीतिक सत्ताको हस्तान्तरण मात्र होइन, बरु एउटा सम्पूर्ण राजनीतिक संस्कृतिको पुनर्परिभाषा हो ।
नेपाली राजनीतिमा युवा नेतृत्वको उदयलाई बुझ्नको लागि यसको विपरीत स्थितिलाई पनि बुझ्नु आवश्यक छ । दशकौंसम्म नेपालको राजनीति वरिष्ठ, अनुभवी र पदानुक्रममाथि आधारित रह्यो । यसमा खासगरीकन भन्ने नै हो भने माओवादी दशकदेखि लिएर प्रजातन्त्रको पुनस्र्थापना र शान्ति प्रक्रियापछिको समयमा पनि मुख्य नेतृत्व पुरानो पुस्ताको हातमा नै केन्द्रित रह्यो । यसका केही कारणहरु रहेका थिए । पहिलो कारणमा युद्ध र संक्रमणको बोझले गर्दा देश लामो गृहयुद्ध र जटिल शान्ति प्रक्रियाबाट गुजिरहेको थियो ।
जसले अनुभव र स्थिरतालाई प्राथमिकता दिन बाध्य बनायो । त्यसै गरी दोस्रो कारणमा पार्टी संरचनाको कठोरताले गर्दा धेरै राजनीतिक दलहरूमा कार्यकर्तादेखि नेतासम्मको यात्रा लामो, पदानुक्रमित र वरिष्ठतामा आधारित थियो । युवाशक्तिलाई भविष्यको नेताको रूपमा हेरे तापनि वर्तमानको निर्णय प्रक्रियाबाट टाढा राखिन्थ्यो । त्यसरी नै तेस्रो कारणमा भने सामाजिक–आर्थिक अवस्थालाई नियाल्दा शिक्षा, सञ्चार र आर्थिक अवसरको सीमितताले युवाहरूको राजनीतिक सहभागिता प्रत्यक्ष राजनीतिक आन्दोलनभन्दा विद्यार्थी राजनीति वा सामाजिक संलग्नतासम्म सीमित थियो ।
युवा नेतृत्वको यस गहकिलो उदयको लागि केही गहिरो र संरचनात्मक कारणहरु पनि जिम्मेवार रहेका छन् । जसमा संविधान २०७२ र संघीयताको संरचनाले नयाँ संविधानले स्थानीय, प्रदेश र राष्ट्रिय तीनै तहमा निर्वाचनको व्यवस्था ग¥यो । यसले सयौंको संख्यामा नयाँ र युवा उम्मेदवारहरूलाई मैदानमा उत्रने मौका दियो । स्थानीय तहका युवा मेयर, उपमेयर, सभापतिहरूले आफ्नो कार्यदक्षताले राष्ट्रिय स्तरमा पनि चिनिन थाले । त्यसै गरी सञ्जाल युग र सूचनाको लोकतन्त्रले गर्दा सोसल मिडियाको प्रभावले राजनीतिक संवादको केन्द्र परम्परागत मिडिया र पार्टी कार्यालयबाट सिधै जनतासम्म सा¥यो । युवा नेताहरूले फेसबुक, ट्विटर, इन्स्टाग्राम, टिकटकजस्ता माध्यमहरूबाट सीधा सम्पर्क, जनसमर्थन जुटाउनुको साथै पार्टीभित्र पनि आफ्नो उपस्थिति सुदृढ बनाए । यसले पार्टीको भित्री पदानुक्रमलाई चुनौती दिएको छ ।
त्यस्तै गरी जनआकांक्षाको परिवर्तनमा युवा मतदाताहरू जो नेपालको जनसंख्याको ठूलो हिस्सा रहेका छन्, उनीहरु अब केवल विचारधारा, पार्टीको नाम वा परिवारको विरासतमा मतदान गर्दैनन् । उनीहरूले प्रदर्शन, पारदर्शिता, व्यावहारिक समाधान र दृष्टिकोणमा आधारित राजनीति खोजिरहेका छन् । यो मागले परम्परागत नेतृत्वलाई असहज बनाउँदै युवा उम्मेदवारहरूको लागि ठाउँ सिर्जना ग¥यो । त्यसरी नै राजनीतिक पार्टीहरूको आन्तरिक दबाबका कारणले गर्दा पार्टीहरू आफूलाई युवामैत्री प्रमाणित गर्न प्रतिस्पर्धामा परेका छन् ।
युवाशक्तिलाई समेट्न नसकेको पार्टी भविष्यमा प्रासंगिक हुनेछ भन्ने डरले गर्दा पनि युवालाई टिकट दिन, महत्वपूर्ण पदमा राख्न बाध्य भएका छन् । यो रणनीतिक आवश्यकता बनेको छ । त्यस्तै, शिक्षा र वैश्विक दृष्टिकोणले गर्दा पनि विदेशमा उच्च शिक्षा लिएका, अन्तर्राष्ट्रिय अनुभव भएका युवाहरू राजनीतिमा प्रवेश गर्दै छन् । उनीहरूले गुणस्तरीय शिक्षा, प्रविधि, सुशासन र विकासको वैश्विक मोडललाई स्थानीय संवेदनशीलतासँग जोडेर प्रस्तुत गर्दै छन्, जसले परम्परागत राजनीतिक प्रवचनलाई चुनौती दिएको छ ।
नेपालको राजनीतिमा गहकिलो युवा नेतृत्वको उदय एउटा सामाजिक तथा राजनीतिक भूकम्प पनि हो । यो केवल नेता बदल भनेर हेर्नुहुँदैन । यो नेपाली राजनीतिको डीएनए, यसको प्राथमिकता, यसको संवाद गर्ने तरिका र यसको भविष्यको सपनाको पुनर्लेखन हो । यो प्रक्रिया सहज र सरल छैन । यसमा टकराव, असहमति र पुरानो संरचनासँगको संघर्ष निश्चित छ । तर अब यो लहरलाई रोक्न सकिने अवस्था छैन । नेपाली युवा, जसले सञ्चार क्रान्ति देखेका छन्, जसले संघीयताको शुरुवात देखेका छन्, जसले विश्वलाई आफ्नो हातको मोबाइलमा कैद गरेका छन् ।
उनीहरू अब राजनीतिको केन्द्रमा आउनु स्वाभाविक र अनिवार्य छ । प्रश्न यो होइन कि युवा नेतृत्व आएन ? प्रश्न यो हो कि यी युवा नेतृत्वले नेपाललाई कुन दिशामा लग्नेछन् ? र, पुरानो पुस्ताले यस परिवर्तनलाई कसरी आत्मसात् गर्छ ? नेपालको राजनीतिक भविष्य यसै सवालको जवाफमा निर्भर गर्दछ । एक जनआन्दोलनले राजतन्त्रलाई प्रजातन्त्रमा परिणत ग¥यो । त्यस्तै यो युवा नेतृत्वको लहरले नेपालको राजनीतिलाई प्रतिनिधित्वबाट सहभागितामूलक शासनतर्फ सार्न सक्छ । त्यो नै यस गहकिलो उदयको सबैभन्दा ठूलो सम्भावना र प्रतिज्ञा पनि हो ।
देशको राजनीतिक रंगमञ्चमा यति बेला एउटा नयाँ र शक्तिशाली तरंग उत्पन्न भएको छ । त्यो हो गहकिलो युवा नेतृत्वको उदय । मुलुकमा दशकौँदेखि सीमित र वृद्ध नेताहरूको चक्रव्यूहमा फसेको नेपाली राजनीतिले अहिले नवीन सोच, ऊर्जा र प्रविधिमैत्री पुस्ताको हस्तक्षेपकारी उपस्थितिलाई महसुस गरिरहेको छ । यो केवल उमेरको परिवर्तन मात्र होइन, बरु संस्कार, शैली र डेलिभरीको नयाँ भाष्य पनि हो ।
मुलुकमा युवा नेतृत्वको वास्तविक उदयको प्रस्थानविन्दु वि.सं. २०७९ को स्थानीय निर्वाचनलाई मान्न सकिन्छ । काठमाडौँ महानगरपालिकामा बालेन शाह र धरानमा हर्क साम्पाङजस्ता स्वतन्त्र उम्मेदवारहरूको जितले परम्परागत दलीय सिन्डिकेटलाई ठूलो धक्का दियो, जसमा पेसाले इन्जिनियर र ¥यापर रहेका बालेनले डिजिटल प्लेटफर्मको सही उपयोग गर्दै युवा र सचेत मतदातालाई आकर्षित गरे । उनको कार्यशैलीले राजनीतिमा डेलिभरी र सिस्टम कति महत्वपूर्ण हुन्छ भन्ने प्रमाणित गरिदियो । यस्तै २०७९ सालको आम निर्वाचनमा रवि लामिछानेको नेतृत्वमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाली संसद्मा युवाहरूको उल्लेख्य उपस्थिति गरायो ।
त्यसै गरी सोविता गौतम, सुमना श्रेष्ठ, विराजभक्त श्रेष्ठजस्ता युवा सांसदहरूले संसद्मा उठाउने तर्कपूर्ण प्रश्न र तथ्यांकमा आधारित बहसले नेपाली राजनीतिमा गहकिलो उपस्थिति जनाएको छ ।
समग्रमा भन्नुपर्दा नेपालको राजनीति अहिले संक्रमणकालीन अवस्थामा छ । पुराना नेताहरूको प्रभुत्व क्रमशः कमजोर हुँदै गएको छ भने युवाहरूले ऊर्जा, दृष्टि र नवीन सोचसहित नेतृत्वमा प्रवेश गर्ने सम्भावना बढाएका छन् । केवल उमेरकै आधारमा होइन, क्षमता, इमानदारी र दूरदृष्टिका आधारमा युवा नेतृत्वलाई संस्थागत गर्न सकिए नेपालमा स्थायी राजनीतिक रूपान्तरण सम्भव हुनेछ । मूलतः देशको राजनीतिमा गहकिलो युवा नेतृत्वको उदय कुनै आकस्मिक घटना नभएर दीर्घकालीन असन्तुष्टि, चेतना र परिवर्तनको स्वाभाविक परिणाम हो । अतः यो उदयले पुरानो राजनीतिलाई चुनौती दिएको छ, जसले गर्दा नयाँ आशा तथा भरोसा जगाएको छ र लोकतन्त्रलाई जीवन्त बनाएको छ ।











प्रतिक्रिया