शान्ति र ध्यान–भूमि हो माझखण्ड

188
Shares

शहरको कोलाहल बिस्तारै मौनतामा पग्लँदै जाने ठाउँ छ– माझखण्ड । यहाँ पुग्ने बाटो आफैँमा यात्रा हो । मोडिँदै गरेका उकालो–ओरालो, हरियालीले ढाकेका डाँडाकाँडा र हावासँगै बग्ने धूपको गन्धले थाहा हुन्छ– तपाईं कुनै साधारण ठाउँतिर होइन, कुनै अनुभूतितिर जाँदै हुनुहुन्छ ।

काठमाडौँ उपत्यकाको सातदोबाटोबाट २६ किलोमिटरको दूरीमा छपेली । छपेलीबाट कसरी पुग्ने माझखण्ड ? विकल्प खुला छन् । हिँडेर, गुडेर वा उडेर । यहाँनेर उडेर भन्ने शब्दले पक्कै अलमल्याउने छ । त्यसका लागि छपेली–माझखण्ड केबलकारबारे जानकारी हुन आवश्यक छ । छपेलीबाट माझखण्ड कच्ची मोटरबाटोबाट १२ किमिको दूरीमा छ । समय भने डेढ घण्टाभन्दा बढी लाग्छ ।

छपेलीबाट माझखण्डसम्म २.८ किमिको स्टेसन टु स्टेसन प्रविधिको केबलकार र माझखण्डमा पर्यटनका विविध प्याकेजसहितको पूर्वाधार विकासमा डेस्टिनेसन माझखण्ड कम्पनीका साथमा स्थानीय समुदाय जुटेको छ । अत्याधुनिक स्वीस प्रविधिको ३ हजार ६ सय केजी बोक्ने क्षमता भएको एउटै केबलकारले यहाँको यात्रा मात्र ४ मिनेटमा पूरा गर्ने कम्पनीले जनाएको छ । दक्षिण एसियामा नै पहिलो हुने यो प्रविधिको केबलकार स्वीट्जरल्यान्डमा निकै लोकप्रिय मानिन्छ ।
माझखण्डमा पाइला टेक्नेबित्तिकै मनको गतिसमेत सुस्त हुन्छ । मोबाइलको स्क्रिनभन्दा अग्ला पहाड, कानमा बजिरहने शहरभन्दा मीठो चराको चिरबिर र आँखाले खोजिरहने शान्तिको ठेगाना यहीँ भेटिन्छ । यहाँ दृश्य मात्र सुन्दर छैन, शान्ति देखिन्छ, शान्ति सुनिन्छ, शान्ति महसुस हुन्छ ।

माझखण्डलाई चिनाउने ठूलो परिचय हो– शान्ति र ध्यानको भूमि । बुद्ध विहारवरपरको वातावरण यति सौम्य छ कि शब्द आफैँ थाकेर मौन हुन्छन् । ध्यानमा बसेका अनुहारहरू, प्रार्थनामा झुकेका शिरहरू र हावामा मिसिएको मन्त्रोच्चारणले यो ठाउँलाई केवल हेर्ने होइन, अनुभव गर्ने स्थल बनाइदिन्छ ।

यहाँ बस्दा समयको हतार हराउँछ । घडी हेर्ने बानी छुट्छ । मन आफैँभित्र फर्कन्छ । शायद यही कारण हो– माझखण्ड पुगेकाहरू फर्किंदा हलुका देखिन्छन् ।
माझखण्डवरपर उभिएको महारुद्रेश्वर मन्दिर केवल भौतिक संरचना होइन । यो त विश्वासले बाँचेको स्थल हो । करिब १०५ रोपनी क्षेत्र ओगटेको मन्दिर परिसरको सौम्य, सपाट मैदानमा पाइला राख्नासाथै अलग्गै शान्ति अनुभूत हुन्छ । यहाँ शिवप्रतिको आस्था पुस्तौंदेखि बग्दै आएको कथाजस्तै निरन्तर छ– अलौकिक जोडी शिलामा अभिव्यक्त शिव पाञ्चायनको प्राकृत स्वरूपले त्यसलाई अझ गहिरो बनाइदिन्छ । मन्दिर परिसरको जमिनमा हल्का कम्पनसहित अनुभूति हुने ऊर्जाले यहाँ आउनेलाई केहीबेर आफ्नै भित्री संसारमा उभ्याइदिन्छ । यहाँ प्रार्थना ठूलो स्वरमा हुँदैन । मनमनै हुन्छ । र, शायद त्यही मौन प्रार्थना सबैभन्दा गहिरो हुन्छ ।
माझखण्डमा मानिसहरू प्रकृतिसँग अलग छैनन्, प्रकृतिसँगै बाँचेका छन् । परम्परागत घर, सादा जीवनशैली, चाडपर्वमा झल्किने सामूहिकता र संस्कृतिको निरन्तरताले यो ठाउँलाई जीवित बनाएको छ । यहाँ संस्कृति संग्रहालयमा थन्किएको छैन– दैनिक जीवनमै बगिरहेको छ ।

पछिल्ला वर्षहरूमा पहुँच सहज बन्दै जाँदा माझखण्ड अब केवल स्थानीयहरूको गन्तव्य मात्र छैन । तर, यसको सुन्दरता यही हो– विकाससँगै पनि यसले आफ्नो आत्मा गुमाएको छैन । यहाँको शान्ति अझै अक्षुण्ण छ, पहाड अझै उस्तै छन्, आकाश अझै खुला छ ।

माझखण्ड कुनै ‘हेर्नै पर्ने’ सूचीमा मात्र राख्ने ठाउँ होइन । यो त एकचोटि पुगेपछि मनले बारम्बार फर्किन खोज्ने ठाउँ हो । जहाँ दृश्य आँखामा होइन, मनमा बस्छ । जहाँ यात्रा बाहिर होइन, भित्रतिर हुन्छ । यदि कहिल्यै मन थाक्यो भने, नक्सा नहेरी माझखण्डतिर मोडिनुहोस् । बाटोले आफैँ तपाईंलाई सही ठाउँमा पु¥याउनेछ ।